तथ्यजाँच मिथ्या सूचना

कान्तिपुरमा छापिँदै नछापिएको एउटा ‘फेक न्युज’


कान्तिपुरमा छापिँदै नछापिएको एउटा ‘फेक न्युज’


सोसल मिडियामा अहिले ‘कान्तिपुर’ दैनिकको फ्रन्टपेजको दावी गरिएको एउटा स्क्रिनसट भाइरल भएको छ। ६ लाखभन्दा बढीले फलो गर्ने हाल अमेरिकामा रहेकी तिर्सना बुढाथोकीको फेसबुक पेजमा राखिएको पोस्ट र उनैले बनाएको टिकटकबाट यो विषय भाइरल भएको हो। ती पोस्टमा जापानमा रहेकी फेसबुकमा झण्डै डेढ लाख फलोअर भएकी ज्वाला संग्रौलाको विषयमा आपत्तिजनक शीर्षकसहितको समाचार देखिन्छ। के हो यो समाचारको सत्य? हामीले फ्याक्टचेक गरेका छौँ।

तिर्सना बुढाथोकीले ‘अस्ति मैले फ्ल्यागले छोप्यो भन्ने नानीको नि देखियो चुरिफुरी’ लेख्दै सोमबार बिहान दुई वटा पत्रिकाको फ्रन्टपेज पोस्ट गरेकी छिन्। यो पोस्टमा मंगलबार बिहानसम्म ३१४ कमेन्ट  २२ सेयर छन्। यसमा राखिएका दुई पत्रिकामध्ये एउटा भारतको सिलगढीबाट प्रकाशित हुने ‘हिमालय दर्पण’ हो भने अर्को नेपालबाट प्रकाशित हुने ‘कान्तिपुर’ दैनिक हो। उनको स्टायटसको अर्काइभ लिङ्क।  पहिलो फोटोको अर्काइभ लिङ्क। दोस्रो फोटोको अर्काइभ लिङ्क

तिर्सनाले टिकटकमामा अपलोड गरेको कान्तिपुरको स्क्रिनसट राखिएको भिडियोमा पनि २८ जुलाई, मंगलबार बिहानसम्म १ लाख २० हजारभन्दा बढी भ्युज पुगेको छ।

अब पालैपालो यी दुई पत्रिकामा छापिएका विषय सक्कली हुन् कि नक्कली, तथ्य जाँच गरौँ।

कान्तिपुरको यो फ्रन्ट पेजलाई गुगलमा रिभर्स इमेज सर्च गर्दा हामीले अनलाइनखबरको ‘पत्रपत्रिकाबाट’ स्तम्भबाट यो समाचार फेला पार्‍यौँ, जसमा २०७६ पुस २ गते प्रकाशित विभिन्न पत्रपत्रिकाहरुको फ्रन्टपेजको फोटो राखिएको छ। त्यसैमा हामीले कान्तिपुरको फ्रन्टपेज पनि भेटायौँ।

यसमा मुसर्रफलाई मृत्युदण्डको फैसला, छोरीलाई बैँक खाता, सगरमाथा तारा, लालिगुँरास ग्रह शीर्षकका समाचार हुबहु छन् तर दायाँ छेउको मुख्य समाचार ‘एमसीसी नेपालकै पहलमा’ शीर्षकको समाचार भने हटाइएको छ। सो शीर्षकको ठाउँमा जुन हेडलाइन राखिएको छ, त्यसको फन्टको आकारप्रकार पनि सँगैका अरु हेडलाइनहरुसित मिल्दैन। सो समाचारको बीचमा रहेको फोटो र हाइलाइटलाई हटाई त्यसमा ज्वाला संग्रौलाको फोटो राखिएको छ।

त्यसैगरी रिभर्स इमेज सर्च गर्ने क्रममै नेपाल एस्ट्रोनोमिक सोसाइटी (नासो)को ट्विटरबाट गरिएको ट्विट पनि फेला पर्‍यो, जसमा कान्तिपुरको यही दिनको फ्रन्टपेज राखिएको छ।

कान्तिपुरकै २०१९ डिसेम्बर १८ को इपेपरमा हेर्दा पनि यही फ्रन्टपेज देखिन्छ।

त्यसैगरी तिर्सना बुढाथोकीले अपलोड गरेको अर्को पत्रिका हिमालय दर्पणको फ्रन्टपेजको फोटोलाई गुगलमा रिभर्स इमेज सर्च गर्दा इपेपर्सहबको यो पेजमा हामी पुग्यौँ। यसमा भएको हिमालय दर्पणको फोटो र उनले अपलोड गरेको समाचारको एउटा मुख्य हेडलाइन बाहेक अरु सबै साजसज्जा हुबहु छ।

निश्कर्ष : तिर्सना बुढाथोकी लगायतले सामाजिक सञ्जालमा सेयर गरेका हिमालय दर्पण र कान्तिपुर दैनिकका फ्रन्टपेजका फोटोहरु मिथ्या हुन्। ती पत्रिकाको फोटोलाई सम्पादन गरेर ज्वाला संग्रौलाको चरित्र हत्या हुने गरेर आपत्तिजनक शीर्षक बनाइएको हो।

(सेन्टर फर मिडिया रिसर्च र माइसंसारको संयुक्त प्रयासमा सोसल मिडियामा भाइरल भएका र मिडियामा आएका समाचारहरुको तथ्य जाँच हामी गरिरहेका छौँ। तपाईँलाई शंका लागेका लिङ्क, फोटो वा भिडियो [email protected] वा [email protected] अथवा माइसंसारको फेसबुक पेज अथवा नेपालफ्याक्टचेकको वेबसाइट मार्फत् पठाउन सक्नुहुन्छ। हाम्रो भाइबर ग्रुपमा जोडिएर पनि तपाईँ यस्ता लिङ्क पठाउन सक्नुहुन्छ। भाइबर ग्रुपमा जोडिन यहाँ क्लिक गर्नुस्। तथ्य जाँच सामाग्री माइसंसारनेपालफ्याक्टचेकमा प्रकाशन हुन्छ।)


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add