तथ्यजाँच भ्रामक सूचना

मोटरसाइकलमा पछाडि बस्‍नेले हेल्मेट लगाउनु पर्ने व्यवस्था नयाँ ऐनमा गर्न लागिएको समाचार भ्रामक


मोटरसाइकलमा पछाडि बस्‍नेले हेल्मेट लगाउनु पर्ने व्यवस्था नयाँ ऐनमा गर्न लागिएको समाचार भ्रामक

विगत केही दिनदेखि केही मिडियामा मोटरसाइकलमा पछाडि बस्नेले पनि हेल्मेट लगाउनु पर्ने व्यवस्था ऐनमा नै गर्ने गरी विधेयकको मस्यौदा बन्दै गरेको समाचार आइरहेका छन्।

ती समाचारहरुका अनुसार यो विधेयकको मस्यौदा तयार भएर राय सुझावका लागि कानुन मन्त्रालय पठाइएको छ।

केही समाचारमा ऐनमा नभएकोले यस्तो व्यवस्था कार्यान्वयन गर्न नसकिएको कारण देखाउँदै अब ऐनमा नै व्यवस्था गर्न लागिएको पनि उल्लेख छ। के यी दावी सही हुन्? हामीले यसबारे तथ्य जाँच गरेका छौँ।

कहाँ कस्तो समाचार ?

आर्थिक न्युजपोर्टल बिजमान्डुमा पुस १ गते प्रकाशित प्रस्तावित नयाँ सवारी ऐनः दुई पांग्रेको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने ! शीर्षकको समाचारमा प्रस्तावित ऐनको मस्यौदामा ‘मोटर साइकल तथा अन्य त्यस्तै दुई पांग्रे सवारी चलाउँदा चालक र त्यस्तो सवारीमा यात्रा गर्ने अन्य यात्रुले सुरक्षा टोप (हेल्मेट) लगाउनु पर्छ’ लेखिएको उल्लेख गर्दै मस्यौदाको स्क्रिनसट पनि राखिएको छ-

पुस ७ गते साँझसम्म यो समाचारमा फेसबुकमा ३४६ कमेन्ट, ८३ सेयर र २६ सय रियाक्सन देखिन्छ।

समाचारमा नाम उद्‍धृत नगरिएका एक अधिकारीको भनाई लेखिएको छ- ‘ऐन नै नबनाइ कार्यान्वयन गर्न सकिने अवस्था थिएन। अब ऐनमा नै व्यवस्था भएपछि नमानेर हुन्छ ?,’ ती अधिकारीले भने,’गुणस्तर विभागले तोकेको आधारमा हेल्मेट लगाउनुपर्छ। ऐन आएपछि नलगाउनेलाई ट्राफिक प्रहरीले कारबाही गर्छ।’

त्यसैगरी एपीवान टेलिभिजनमा पनि यसबारे समाचार प्रसारण भएको छ। टिभीको फेसबुकमा राखिएको भिडियोमा ‘ट्राफिक प्रहरीले २०६५ सालमा लागू गरेको तर अव्यवहारिक भएको भन्दै खारेज गरिएको नियम पुनः यातायात व्यवस्था विभागले कानुनै बनाएर लागू गर्न लागेको’ दावी गरिएको छ।

फेसबुकमा पुस ७ गतेसम्म यो समाचार ९३ हजार पटक हेरिएको छ भने  १९८ कमेन्ट र ४८ सय रियाक्सन देखिन्छन्।

बिजमान्डुकै समाचार साभार गरिएको न्युजनेपालीमिडियाको यो समाचार फेसबुकमा ५० सेयर, १२६ कमेन्ट र ३३ सय रियाक्सन देखिन्छ।

त्यसैगरी मकालुखबरमा पुस ६ गते प्रकाशित  बाइकको पछाडि बस्नेले पनि ‘हेल्मेट’ लगाउनु पर्ने कानुन बन्दै शीर्षकको समाचारमा लेखिएको छ- ‘

सरकारले दुईपाङ्ग्रे सवारी साधन मोटरसाइकल र स्कुटरको पछाडि बस्नेले पनि ‘हेल्मेट’ (सुरक्षा टोप) लगाउनु पर्ने व्यवस्था गर्न लागेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०७७’ को मस्यौदामा यस्तो व्यवस्था गर्न लागिएको हो । उक्त ऐनको मस्यौदा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले तयार गरी कानुन मन्त्रालयमा पठाएको छ ।’

समाचारमा पहिले खारेज भएको तर ‘यो सरकारले फेरि याे व्यवस्थालाई कानुन नै बनाएर अनिवार्य रूपमा कार्यान्वयनमा ल्याउन खाेजेकाे’ दावी गरिएको छ।

पुस ७ गते शिलापत्रमा प्रकाशित बाइक चढ्ने दुवैले हेल्मेट लाउनुपरे ७ अर्ब खर्च हुने शीर्षकको समाचारमा पनि लेखिएको छ- ‘यातायात व्यवस्था विभागले तयार पारेको ‘सवारी तथा यातायात व्यवस्था ऐन २०७७’ को ड्राफ्ट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयहुँदै राय-सुझावका लागि कानुन मन्त्रालयमा पुगेको छ । उक्त ड्राफ्टमा मोटरसाइकल चलाउनेसँगै पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने प्रस्ताव गरिएको छ । यसअघि २०६५ सालमा लागू गर्न खाेज्दा असफल र अलोकप्रिय बनेको यो योजना सफल पार्न सरकारले यसपटक भने ऐन नै बनाएर कार्यान्वयनमा ल्याउन लागेको हो ।’

त्यस्तै देशसञ्चारले पनि ‘सवारी तथा यातायात व्यवस्था ऐन २०७७’ अनुसार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले तयार परेको मस्यौदामा यस्तो व्यवस्था गर्न लागिएको दावी सहित समाचार राखेको छ। 

त्यसैगरी लोकपाटीमा पनि ‘अब मोटरसाइकल पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनु पर्ने!’ शीर्षकमा पुस ७ मा प्रकाशित समाचारमा यही दावी गरिएको छ।

के कानुनमा यो व्यवस्था नभएकै हो?

तथ्य जाँचका लागि हामीले यातायात सम्बन्धी कानुन खोज्यौँ। यातायात व्यवस्था विभागको वेबसाइटमा राखिएको सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १३० मा ‘सवारी चलाउँदा सुरक्षापेटी तथा हेल्मेट लगाउनु पर्ने’ प्रावधान उल्लेख छ। यसैको उपदफा (२) मा लेखिएको छ- ‘मोटर साइकल तथा अन्य त्यस्तै दुई पाङ्ग्रे सवारी चलाउँदा चालकले तथा सो सवारीमा बस्ने मानिसले सुरक्षा टोप (हेल्मेट) लगाउनु पर्छ।’

यो ऐन २०४९ साल पुस २२ गते लालमोहर लागेर लागू भएको थियो भने यसको पहिलो संशोधन २०५० साल भदौ ९ गते भएको थियो।

दुई पाङ्ग्रे सवारी चलाउने र त्यसमा बस्नेले हेल्मेट लगाउनु पर्ने प्रावधान ऐन लागू हुँदा नै थियो कि संशोधनमा मात्र थपिएको हो भन्ने यकिन गर्न हामीले २०४९ सालमा लागू हुँदाको बखत प्रकाशित राजपत्र खोज्यौँ।

२०४९ सालमा राजपत्रमा प्रकाशित ऐनमा पनि यो प्रावधान उल्लेख छ। अर्थात् मोटरसाइकल तथा अन्य दुई पाङ्ग्रे सवारी चलाउँदा चालकले र त्यसमा बस्ने मानिसले हेल्मेट लगाउनु पर्ने नियम अहिले होइन, २९ वर्षअघि लागू भएको कानुनमा नै थियो। नयाँ बन्न लागेको ऐनको मस्यौदामा मात्र यो व्यवस्था भएको होइन।

तथ्य जाँच

दावी : सरकारले ऐनमा नै व्यवस्था गरी मोटरसाइकल तथा दुई पाङ्ग्रे सवारी साधनमा पछाडि बस्नेले पनि हेल्मेट लगाउनु पर्ने नियम ल्याउन लागेको छ। सवारी तथा यातायात व्यवस्था ऐन २०७७’ को मस्यौदामा यस्तो व्यवस्था गर्न लागिएको हो। पहिले ऐनमा व्यवस्था नभएकोले यो नियम लागू गर्न सकिएको थिएन।

तथ्य : भ्रामक खबर। सरकारले अहिले बनाउन लागेको ऐनमा मात्र यो व्यवस्था गर्न लागेको होइन, २०४९ सालमा लागू भइसकेको ऐनमा नै यो विषय समावेश थियो। यसको कार्यान्वयन भने पहिले केही समय गरिए पनि हाल भइरहेको थिएन।

सेन्टर फर मिडिया रिसर्चमाइसंसारको संयुक्त प्रयासमा सोसल मिडियामा भाइरल भएका र मिडियामा आएका समाचारहरुको तथ्य जाँच हामी गरिरहेका छौँ। तपाईँलाई शंका लागेका लिङ्क, फोटो वा भिडियो हामीलाई निम्न बमोजिम पठाउन सक्नुहुन्छ-


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add