तथ्यजाँच भ्रामक सूचना

के नेपाली मोमो संसारकै स्वादिष्ट परिकार घोषित भएको हो?


के नेपाली मोमो संसारकै स्वादिष्ट परिकार घोषित भएको हो?

नेपाली मोमो संसारकै स्वादिष्ट परिकार घोषित भएको चर्चा सामाजिक सञ्जालमा चलेको छ। सामाजिक सञ्जाल र केही मिडियाले समेत अमेरिकी मिडिया सिएनएनले नेपाली मोमोलाई संसारकै स्वादिष्ट परिकारको सूचीमा राखेको खबर राखेका छन्।

के यो सही हो? हामीले तथ्य जाँच गरेका छौँ।

कहाँ कस्तो खबर ?


ट्विटरमा रुटिन अफ नेपाल बन्दले सिएनएनले नेपाली मोमोलाई विश्वकै मिठो र उत्कृष्ट डम्पलिङ्ग्सको सूचीमा समावेश गरेको उल्लेख गरेको छ। शुक्रबार रातिसम्म यसलाई ८७ जनाले रिट्विट र २७ ले कोट ट्विट गरेका छन् भने हजारभन्दा बढी लाइक छन्।

पूर्व परराष्ट्र मन्त्री तथा एमाले नेता प्रदीप ज्ञवालीले समेत यसलाई रिट्विट गरेका छन्-

त्यसैगरी नेपालप्रेस अनलाइनले ‘नेपाली मःम संसारकै स्वादिष्ट परिकारको सीएनएन सूचीमा’ शीर्षकमा समाचार राखेको छ। समाचारमा लेखिएको छ- ‘अमेरिकी टेलिभिजन सीएनएनले नेपाली परिकार मःमलाई संसारकै स्वादिष्ट खानको सूचीमा समावेश गरेको छ। संसारका स्वादिष्ट ३५ वटा परिकार समावेश गरिएको उक्त सूचीमा नेपालको मःमले पनि प्रवेश पाएको हो। नेपालको राजधानी काठमाडौं घुम्न जाने विदेशी पर्यटकमाझ मःम आकर्षक परिकार रहेको समेत सीएनएनले जनाएको छ।’

हेर्नुस् अर्काइभ लिङ्क

के हो तथ्य?

यो विषयमा तथ्य पत्ता लगाउन हामीले सीएनएनको वेबसाइट हेर्‍यौँ। सीएनएनको ट्राभल सेक्सनमा The world’s tastiest dumplings शीर्षकमा ३ डिसेम्बर २०२१ मा अपडेट गरिएको एउटा लामो आर्टिकल प्रकाशित छ।

यसमा विश्वभरका ३५ वटा डम्पलिङ्ग अर्थात् पीठोमा बेरिएको खानेकुराको सूची राखिएको छ।

यही सूचीमा मोमो पनि राखिएको छ। तर सीएनएनले यसमा नेपालकै मोमोलाई सूचीमा राखेको भनेर छुट्याएको छैन। मोमो उत्तर भारतीय, नेपाली र तिब्बती परिकार रहेको उल्लेख छ। नेपाली व्यापारीहरुले पर्यटकहरु जाने ठाउँमा मोमो भित्र स्निकर्स र मार्स (चकलेट) पनि भर्ने गरेको उल्लेख छ।

यही सूचीमा नेपाल लगायत दक्षिण तथा दक्षिणपूर्वी एसियामा खाइने समोसा पनि राखिएको छ।

तथ्य जाँच

दावी : सीएनएनले नेपाली मोमोलाई संसारकै स्वादिष्ट परिकारको सूचीमा राखेको छ।

तथ्य : भ्रामक सूचना। सीएनएनको सूचीमा मोमो परेको सही हो तर यसमा नेपाली मोमो भनेर छुट्याइएको छैन। मोमोलाई उत्तर भारतीय, नेपाली र तिब्बती परिकार भनिएको छ। सीएनएनको सूची संसारकै स्वादिष्ट परिकारको नभएर स्वादिष्ट डम्पलिङ्ग (पीठोले बेरेको परिकार) को हो। तसर्थ नेपाली मोमोलाई स्वादिष्ट परिकारको सूचीमा राखिएको भनी आएका खबर भ्रामक छन्।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add