तथ्यजाँच भ्रामक सूचना

के बाजुरा जिल्ला अस्पतालको शल्यक्रिया कक्ष भाइरल भएको फोटोमा जस्तै छ?


के बाजुरा जिल्ला अस्पतालको शल्यक्रिया कक्ष भाइरल भएको फोटोमा जस्तै छ?

केही दिनदेखि सामाजिक सञ्जालमा एउटा फोटो भाइरल भएको छ। फोटोमा जस्तापाताले बेरेको एउटा टहरा जस्तो देखिन्छ। त्यसमा राखिएको साइनबोर्डमा लेखिएको छ- जिल्ला अस्पताल बाजुरा शल्यक्रिया कक्ष। मुनि अङ्ग्रेजीमा अपरेसन थियटर पनि लेखिएको छ।

दुर्गम क्षेत्रको अस्पतालको अवस्था दर्शाएको भन्दै धेरैले सामाजिक सञ्जालमा यसलाई राखेका छन्।

के उक्त अस्पतालको शल्यक्रिया कक्ष वास्तवमै त्यस्तै छ त? यसबारे हामीले तथ्य जाँच गरेका छौँ।

यसरी भयो भाइरल

पूर्व सचिव भीम उपाध्यायले आफ्नो फेसबुकमा २५ डिसेम्बर २०२१ मा ‘बाजुरा जिल्ला अस्पतालको शल्यक्रिया कक्ष’ क्याप्सन लेख्दै यो फोटो पोस्ट गरेका थिए। यो पोस्टमा २७ डिसेम्बर दिउँसोसम्म २५५ कमेन्ट, १ हजार ८ सय रियाक्सन छन् भने १४१ पटक सेयर गरिएको छ।

उनको फेसबुक पोस्टसँगै अरु धेरैले पनि यसलाई सेयर  गर्न थाले। ट्रोल र मिमहरु पनि बन्न थाले।

स्वास्थ्यलाइभ अनलाइनले पनि यही फोटोसहित २५ डिसेम्बरमा समाचार राखेको छ, जसमा लेखिएको छ- ‘फोटोमा देखिएको बाजुरा जिल्ला अस्पतालको शल्यक्रिया कक्ष झट्ट हेर्दा पत्याउनै मुस्किल पर्छ। तर यो फोटोले नेपालको सुदूरपश्चिम तथा आसपासको क्षेत्रमा स्वास्थ्य सेवाको अवस्थालाई यथार्थ चित्रण गरेको छ।’

समाचारको अन्तिममा टिप्पणी गरिएको छ, ‘सामाजिक सञ्जालमा भाइरल त्यो ठाउँमा बिरामी मान्छेको होइन कुखुराको शल्यक्रिया गर्न उपयुक्त देखिन्छ!’

यो फोटोबारे सामाजिक सञ्जालमा बहस हुँदा अर्को एउटा फोटो पनि सार्वजनिक भयो जसमा बाजुरा जिल्ला अस्पताल र शल्यक्रिया कक्ष नै लेखिएको छ-

तथ्य के हो ?

यो बारे बुझ्न हामीले बाजुराको मार्तडीबाट प्रकाशन हुने बडीमालिकाखबरका सम्पादक प्रकाशबहादुर सिंहसित सम्पर्क गर्‍यौँ। उनी काठमाडौँबाट प्रकाशन हुने अङ्ग्रेजी राष्ट्रिय दैनिक दि हिमालयन टाइम्स र नेपाल टेलिभिजनका लागि पनि रिपोर्टिङ गर्छन्।

उनका अनुसार अहिले जिल्ला अस्पतालको भवन बनिरहेको छ। भाइरल नभएको राम्रो भवन देखिने पछिल्लो फोटो पुरानो भवनको हो। त्यसलाई अहिले भत्काइसकिएको छ।

हामीले फेसबुकमा खोज्‍ने क्रममा सन् २०१८ को नोभेम्बरमा पोस्ट गरिएको बाजुरा जिल्ला अस्पतालको शल्यक्रिया कक्ष भवनको उस्तै पुरानो फोटो पनि भेट्यौँ।

सिंहका अनुसार भाइरल भएको फोटोमा जस्तै जस्तापाताको टहरामा शल्यक्रिया कक्षको साइनबोर्ड राखिएको सही हो। तर शल्यक्रिया कक्ष भने टहरामा नभएर पक्की भवनमा रहेको छ।

‘पहिलेको भन्दा राम्रो भवन अहिले छ,’ उनी भन्छन्,’पहिले रेडक्रस रहेको भवनमा अहिले अपरेसन थियटर सारिएको छ। टिनको त बाहिर खाली सामान-सामान राख्या छ।’

उनले दिएको जानकारी अनुसार साइनबोर्ड राखिएको जस्तापाताको टहराबाट भित्र पसेपछि पक्की भवनमा पुगिन्छ। सोही भवनमा शल्यक्रिया कक्ष रहेको छ। भाइरल भएको फोटोले टहराभित्र नै शल्यक्रिया कक्ष रहेको जस्तो भ्रम पारेको छ।

सिंहका अनुसार ५० शैय्याको जिल्ला अस्पतालको भवन अहिले नयाँ बनिरहेको छ।

एभिन्युज टेलिभिजनले बाजुरा जिल्ला सदरमुकाममा ५० शैय्याको अस्पताल निर्माण हुने बारे बनाएको समाचार फेसबुकमा २०२० फेब्रुअरीमा अपलोड भएको भेटियो। 

यस्तो छ अहिलेको शल्यक्रिया कक्ष

हामीले पत्रकार प्रकाशबहादुर सिंहलाई बाजुरा जिल्ला अस्पतालको शल्यक्रिया कक्ष भवनको हालको फोटो पठाउन अनुरोध गर्‍यौँ। उनले पठाएका फोटोहरु यस्ता छन्-

 

तथ्य जाँच

दावी : बाजुरा जिल्ला अस्पतालको शल्यक्रिया कक्ष जस्तापाताले बेरिएको टहरामा रहेको छ।

तथ्य : भ्रामक सूचना । बाजुरा जिल्ला अस्पतालको शल्यक्रिया कक्षको बोर्ड जस्तापाताको टहरा बाहिर राखिए पनि शल्यक्रिया कक्ष भवन भने टहरासँगै जोडिएको पक्की भवनमा रहेको छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add