तथ्यजाँच मिथ्या सूचना

के रवि लामिछाने र ऋषि धमला माओवादीमा प्रवेश गरेका हुन् ?


के रवि लामिछाने र ऋषि धमला माओवादीमा प्रवेश गरेका हुन् ?

सामाजिक सञ्जालमा अहिले एउटा समाचार भाइरल भइरहेको छ। विभिन्न वेबसाइटमा राखिएका समाचारहरुमा दावी गरिएको छ कि सञ्चारकर्मीहरु ऋषि धमला तथा रवि लामिछाने माओवादीमा प्रवेश गरेका छन् र उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरेका छन्। यी समाचारहरुका साथ धमला, लामिछाने र प्रचण्डका फोटोहरु पनि राखिएका छन्।

भाइरल भइरहेको यो समाचार सही हो त? यो विषयमा हामीले तथ्य जाँच गरेका छौँ।

कहाँ कस्तो खबर?

एक लाख २१ हजारभन्दा बढी सदस्य रहेको ग्यालेक्सी फोर के टिभी नामको फेसबुक ग्रुपमा मिडियाटुडेन्युज डट कमको समाचार सेयर गरिएको छ जसमा सोमबार रातिसम्म २९ कमेन्ट, ६६ रियाक्सन र ३ सेयर देखिन्छ। ग्यालेक्सी फोर के टिभी रवि लामिछाने प्रबन्ध निर्देशक रहेको नयाँ खुलेको टिभी स्टेसन हो। तर यो फेसबुक ग्रुप उक्त टेलिभिजनको आधिकारिक ग्रुप भने होइन।

त्यसैगरी बीबीसी नेपालीको लोगोसहितको बीबीसी न्युज नेपाली नाम रहेको फेसबुक पेजमा न्युज२८पोस्ट डट कमको समाचार सेयर गरिएको स्क्रिनसट पनि भेटिएको छ। हेर्नुस् अर्काइभ लिङ्क। बीबीसी न्युज नेपाली नामको फेसबुक ग्रुपमा हाइलाइट दैनिक डट कमको यो समाचार सेयर भएको देख्न सकिन्छ। हेर्नुस् अर्काइभ लिङ्क।

यी दुवै बेलायतमा मुख्य कार्यालय रहेको बीबीसीको आधिकारिक फेसबुक पेज वा ग्रुप हैनन्।

त्यसैगरी नेपालखबर नामको फेसबुक पेजमा राखिएको न्युज२८पोस्ट डट कमको यो समाचारमा ८६८ रियाक्सन, १३० कमेन्ट र २५ सेयर देखिन्छ।

यो पनि सञ्चालनमा रहेको अनलाइन नेपालखबर डट कमको आधिकारिक फेसबुक पेज होइन।

त्यसैगरी रवि लामिछाने फ्यान क्लब नामको फेसबुक पेजमा सवालखबर डट कमको समाचार सेयर गरिएको छ। हेर्नुस् अर्काइभ लिङ्क। 

त्यसैगरी यही व्यहोराका ‘समाचार’ अरु थुप्रै अनलाइनले पनि राखेका छन्। त्यस्ता साइटका नाम र अर्काइभ लिङ्क  हुन्-

पार्टीकाखबर 

ताजापोस्टएनपी

मिडियाटुडेन्युज

इपूर्वेलीपोस्ट

ताजाखवर

अलभाइरलन्युज

समाधानखबर

मिरमिरेबिहानी

दैनिकसंगालो

दुखकोखबर

सपोर्टिभनेपाल

जागृतिखबर

के हो वास्तविकता ?

सबै समाचारहरु नाम चलेका अनलाइनहरुले नभई क्लिकबेट अनलाइनहरुले मात्र हालेको देखिएको छ। कुनै पनि समाचारमा कहिले कहाँ भएको कार्यक्रममा धमला र लामिछाने माओवादीमा प्रवेश गरेका हुन् र प्रचण्डले स्वागत गरेका हुन् भनेर खुलाइएको छैन। न उनीहरुलाई प्रचण्डले स्वागत गरेको फोटो अथवा भिडियो नै राखिएको छ।

समाचारमा ‘देशभक्त गणतान्त्रिक मञ्चले आयोजना गरेको कार्यक्रममा पत्रकार ऋषि धमलाले प्रचण्डको खुलेर समर्थन गरेका छन्’ लेखिएको छ। तर त्यो कहाँ र कहिले भएको कार्यक्रम हो, खुलाइएको छैन।

यसबारे गुगलमा सर्च गर्ने क्रममा हामीले एभरेस्टदैनिकमा २०७५ पुस ३० गते प्रकाशित समाचार भेट्टायौँ जसमा देशभक्त गणतान्त्रिक मञ्चले आयोजना गरेको कार्यक्रममा धमलाले प्रचण्डको समर्थनमा बोलेका थिए।

हेर्नुस् अर्काइभ लिङ्क

समाचारमा ऋषि धमलाले गरेको भाषणको भिडियोको अंश पनि राखिएको छ।

त्यसैगरी भाइरल भएको समाचारमा रवि लामिछानेले प्रचण्ड र माओवादी जनयुद्धको समर्थनमा बोलेका भनिएका शब्दहरु भने सीधा कुरा जनतासँग कार्यक्रम न्युज २४ टेलिभिजनमा प्रसारण भएको बेला विभिन्न प्रदेशबाट लाइभ कार्यक्रम प्रस्तुत गर्ने क्रममा प्रदेश ३ को चितवनबाट प्रसारण भएको कार्यक्रममा व्यक्त विचार थिए।

उक्त कार्यक्रमको भिडियो युट्युबमा जुलाई २३, २०२० मा अपलोड भएको भेटिन्छ-

तथ्य जाँच

दावी : सञ्चारकर्मीद्वय रवि लामिछाने र ऋषि धमला माओवादीमा प्रवेश गरेका छन्, उनीहरुलाई प्रचण्डले पार्टीमा स्वागत गरेका छन्।

तथ्य : मिथ्या समाचार। लामिछाने र धमला माओवादीमा प्रवेश गरेका छैनन् र उनीहरुलाई प्रचण्डले पार्टीमा स्वागत गरेका हैनन्। पार्टी प्रवेश गरेको कुनै पनि प्रमाण ती समाचारमा छैनन्। समाचारमा ती सञ्चारकर्मीहरुले बोलेका भनी उद्‍धृत गरिएका कतिपय वाक्य भने पुराना हुन्।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add