तथ्यजाँच मिथ्या सूचना

के हो पूर्वराजा ज्ञानेन्द्रको नामसहित मूर्तिचोरी सम्बन्धी सामाजिक सञ्जालमा भाइरल समाचारको तथ्य?


के हो पूर्वराजा ज्ञानेन्द्रको नामसहित मूर्तिचोरी सम्बन्धी सामाजिक सञ्जालमा भाइरल समाचारको तथ्य?

सामाजिक सञ्जालमा अहिले एउटा समाचारसहितको फेसबुक स्क्रिनसट भाइरल छ, जसमा ‘चोरिएको ६२ वर्षपछि पाटनको उमामहेश्वर मूर्ति अमेरिकाबाट घर फर्कँदै’ शीर्षकको कान्तिपुरको समाचार देखिन्छ। तर सो समाचारसँगै इकान्तिपुरको फेसबुक पेज जस्तो देखिने स्क्रिनसटमा लेखेको देखिन्छ- ‘पुर्व राजा ज्ञानेन्द्र लगायत तात्कालिन राजपरिवारका केहि सदस्यका मिलेमतोमा दशकौ पहिले बेचबिखन गरिएको मुर्ति लोकन्त्रमा फिर्ता ल्याईदै’ । हामीलाई धेरैले यो विषयमा तथ्य जाँचका लागि अनुरोध गरेका छन्। के हो त यसको तथ्य?

कहाँ कस्तो स्क्रिनसट ?

धेरै वर्ष कान्तिपुर टेलिभिजनको नेतृत्व गरेका सञ्चारकर्मी भूषण दाहालले सेप्टेम्बर १६ बिहीबार कान्तिपुरका प्रधानसम्पादक सुधीर शर्मालाई मेन्सन गर्दै ट्विट गरेका छन्– ‘यो त अलि अति नै भयो कि? अपुष्टताको पराकाष्ठ…’

उनले कोट ट्विट गरेको ट्विट भने हामीले स्क्रिनसट लिँदासम्म डिलिट भइसकेको थियो। तर त्यसको स्क्रिनसट यस्तो थियो-

दिनेश पराजुली नामका ट्विटर प्रयोगकर्ताले सेयर गरेको यो स्क्रिनसटमा ३८ रिट्विट, १७ कमेन्ट र ९३ लाइक देखिन्छ।

सीताराम आचार्यले फेसबुकमा राखेको यही स्क्रिनसटसहितको स्टायटसमा बिहीबार साँझसम्म ७९ कमेन्ट र २४ सेयर देखिन्छ।

नेवार राजन नामका अर्का फेसबुक प्रयोगकर्ताले यही स्क्रिनसट राखेर कान्तिपुरप्रति नकारात्मक टिप्पणी लेखेका छन्। यसमा १६ कमेन्ट र १४ सेयर देखिन्छ।

फेसबुकमा अरु पनि थुप्रैले यो स्क्रिनसटसहितका टिप्पणी सेयर गरेका छन्। 

के हो तथ्य ?

हामीले फेसबुकमा यो समाचार खोज्दा कान्तिपुरको आधिकारिक भेरिफाइड फेसबुक पेजमा १४ सेप्टेम्बर २०२१ मा मध्याह्न १२ बजेर २१ मिनेटमा अपडेट भएको भेट्टायौँ।

यो फेसबुक पोस्ट इडिट गरिएको छैन र यसमा भाइरल भएको स्क्रिनसटमा जस्तो लेखेको देखिन्न।

कान्तिपुरका सम्पादक उमेश चौहानले ‘फोटोसप गरिएका नक्कली स्क्रिनसट सेयर गरेर भ्रमित नबनौँ, नबनाऔँ’ लेख्दै ट्विट गरेका छन्।

इकान्तिपुरका सम्पादक दुर्गा खनालले पनि फेक ट्विटको पछि नलाग्न अनुरोध गर्दै ट्विट गरेका छन्।

इकान्तिपुरमा प्रकाशित समाचार पूरै पढ्दा त्यसमा कतै पनि भाइरल भएको स्क्रिनसटमा लेखिए जस्तो पूर्व राजा ज्ञानेन्द्र वा उनको परिवारलाई जोडेर केही लेखेको भेटिएन। हेर्नुस् अर्काइभ लिङ्क।

त्यसबाहेक भाइरल भएको स्क्रिनसटमा प्रयोग गरिएको भाषामा पनि प्रशस्त गल्ती छन्, कान्तिपुर जस्तो मिडियाको सोसल मिडियामा यति धेरै गल्ती हुनु असामान्य देखिन्छ। यसले पनि स्क्रिनसट नक्कली भएको भन्न मिल्ने आधार छ।

भाइरल भएको स्क्रिनसटमा एक वाक्यमा देखिएका ६ गल्ती।

यसबाहेक सम्बन्धित पेजबाटै पोस्ट भएको स्ट्याटस जस्तो देखिने गरी फेक स्क्रिनसट बनाउन फोटोसप नै गरिरहन जरुरी छैन। सामान्य एचटिएमएल जानेको व्यक्तिले वेब ब्राउजरबाटै सजिलै त्यस्तो नक्कली स्क्रिनसट बनाउन सक्छन्।

हेर्नुस् उदाहरण

तथ्य जाँच

दावी : कान्तिपुरले आफ्नो सामाजिक सञ्जालमा पूर्व राजा ज्ञानेन्द्र र पूर्व राजपरिवारलाई मुछेर मूर्तिचोरी सम्बन्धी समाचारको लिङ्कसहित स्टायटस पोस्ट गरेको छ।

तथ्य जाँच : मिथ्या सूचना। कान्तिपुरको फेसबुक वा ट्विटरमा यस्तो स्टायटस पोस्ट भएको कुनै प्रमाण छैन। लिङ्कमा रहेको समाचारमा पनि त्यसबारे केही उल्लेख छैन।  भाइरल भएको स्क्रिनसटमा प्रयोग गरिएको अशुद्ध भाषा र रातो लगाएको बाहेक उही देखिने एउटै स्क्रिनसट मात्र फैलिएको देखिन्छ। यस्तो स्क्रिनसट सहजै बनाउन सकिने हुँदा यो स्क्रिनसट मिथ्या भन्न सकिन्छ।

सेन्टर फर मिडिया रिसर्चमाइसंसारको संयुक्त प्रयासमा सोसल मिडियामा भाइरल भएका र मिडियामा आएका समाचारहरुको तथ्य जाँच हामी गरिरहेका छौँ। तपाईँलाई शंका लागेका लिङ्क, फोटो वा भिडियो हामीलाई निम्न बमोजिम पठाउन सक्नुहुन्छ-


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add