तथ्यजाँच भ्रामक सूचना

के चाँगुनारायणले विश्वकै उत्कृष्ट १० नगरपालिकाको उपाधि पाएको हो?


के चाँगुनारायणले विश्वकै उत्कृष्ट १० नगरपालिकाको उपाधि पाएको हो?

‘विश्वकै उत्कृष्ट १० मा पर्‍यो चाँगुनारायण नगरपालिका’ शीर्षकमा नेपाली मिडियामा २०७८ असोज ५ गते समाचार आएका छन्। समाचारमा ‘भक्तपुरको चाँगुनारायण नगरपालिका विश्वकै उत्कृष्ट १० नगरपालिकाभित्र पर्दै उपाधि हासिल गरेको’ दावी गरिएको छ।

समाचार अनुसार ‘संयुक्त राज्य अमेरिकाको न्यू योर्क विश्वविद्यालय स्कुल अफ इञ्जिनियरिङअन्तर्गत सञ्चालित द गोभल्याबको ओपन सिटी इन्क्युबेटर कार्यक्रममा’ यो नगरपालिकाले उपाधि हासिल गरेको हो।

यो समाचारबारे तथ्य जाँचका लागि आएको अनुरोध अनुसार हामीले यसबारे खोजेका छौँ।

कहाँ कस्तो समाचार?

यो समाचारलाई थुप्रै प्रमुख अनलाइन मिडियाले प्रकाशन गरेका छन्। अनलाइनखबरको समाचारमा लेखिएको छअमेरिकाको न्यूयोर्क विश्वविद्यालयले सञ्चालन गरेको द गोभल्याबको ओपन सिटी इन्क्युबेटर कार्यक्रममा भक्तपुरको चाँगुनारायण नगरपालिका विश्वकै उत्कृष्ट १० नगरपालिकाभित्र परेको छ । अन्तर्राष्ट्रिय जगतमा नेपालको तर्फबाट यस प्रकारको उपाधि जित्ने चाँगुनारायण नगरपालिका पहिलो भएको नगरपालिकाका सूचना प्रविधि अधिकृत सिद्धान्त न्यौपानेले जानकारी दिए ।

त्यस्तै सेतोपाटीको समाचारमा लेखिएको छसंयुक्त राज्य अमेरिकाको न्यू योर्क विश्वविद्यालय स्कुल अफ इञ्जिनियरिङअन्तर्गत सञ्चालित द गोभल्याबको ओपन सिटी इन्क्युबेटर कार्यक्रममा भक्तपुरको चाँगुनारायण नगरपालिका विश्वकै उत्कृष्ट १० नगरपालिकाभित्र पर्दै उपाधि हासिल गरेको छ।

दुवै अनलाइनले राष्ट्रिय समाचार समिति (रासस)लाई क्रेडिट दिएका छन्। नेपालखबरले भने आफ्नै बाइलाइनमा यो समाचार राखेको छ। तर समाचार राससकै हुबहु छ।

त्यसैगरी यही समाचार देशसञ्चार, खरिबोट, काठमान्डुप्रेस, डिसीनेपाल, फरकधार का साथै अन्य थुप्रै अनलाइनहरुमा पनि प्रकाशन भएको देखिन्छ।

के हो तथ्य ?

यसबारे खोज्नका लागि हामीले द गभ ल्याब र ओपन सिटी इन्क्युबेटरबारे गुगलमा सर्च गर्‍यौँ।

सो साइटमा यो प्रोग्रामबारे विस्तृत जानकारी राखिएको छ। त्यहाँ राखिएको जानकारी अनुसार विश्वका विभिन्न १० देशका १० वटा सहरहरुलाई ६ महिनासम्म सहयोग गरी उनीहरुको डेटा इन्नोभेसन आइडियाहरुलाई सघाउने कार्यक्रम रहेछ यो।

समाचारमा उल्लेख भए अनुसार उत्कृष्ट सहरको उपाधि पाएको नभएर सिटी इन्क्युबेटर कार्यक्रममा आह्वान गरिएको खुला आवेदनमा छनौटमा परेको हो चाँगुनारायण नगरपालिका।

स्टेटस्कूपमा उल्लेख भए अनुसार छनौटमा परेका सहरका अधिकारीलाई प्रविधिविज्ञ, निजी क्षेत्रका कार्यकारीहरु र इन्जिनियरहरुको मेन्टर काउन्सिलबाट ६ महिना सहयोग गरिनेछ उनीहरुको ड्रिम डेटा प्रोजेक्टका लागि।

तथ्य जाँच

दावी : भक्तपुरको चाँगुनारायण नगरपालिकाले विश्वकै उत्कृष्ट १० नगरपालिकाभित्र पर्दै उपाधि हासिल गरेको छ।

तथ्य : भ्रामक। चाँगुनारायण नगरपालिकाले विश्वको उत्कृष्ट १० नगरपालिकाको उपाधि हासिल गरेको होइन। डेटा इन्नोभेसन सम्बन्धी द गभ ल्याबको ओपन सिटी इन्क्युबेटर कार्यक्रममा आह्वान गरिएको खुला आवेदन परेका मध्ये छनौट भएका १० सहरमध्ये यो नगरपालिका पनि परेको हो।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add