मिथ्या सूचना

फेसबुकमा भाइरल भएको पोखरामा विमान दुर्घटनाको ‘समाचार’ र फोटोको तथ्य यस्तो छ


फेसबुकमा भाइरल भएको पोखरामा विमान दुर्घटनाको ‘समाचार’ र फोटोको तथ्य यस्तो छ

    • प्रविण भट्ट –

क्षतविक्षत अवस्थामा एक विमानसहितको फोटो र पोखरामा दुर्घटना भएको लेखिएको पोस्ट अहिले सोसल मिडियामा भाइरल भइरहेको छ। फोटोमा सानो विमान दुर्घटनाग्रस्त अवस्थामा देखिन्छ भने शीर्षकले पोखरामा दुर्घटना भएको दावी गर्छ। यो पोस्टको तथ्य जाँच हामीले गरेका छौँ।

कहाँ कस्तो पोस्ट?

‘मन छुने लाइनहरु’ नामको फेसबुक ग्रुपमा पोस्ट भएको ताजानयाँखबर डट कमको यो लिङ्कमा आइतबार रातिसम्म ६१० कमेन्ट, २९ सेयर र झण्डै दुई हजार रियाक्सन छन्। यसको शीर्षक राखिएको छ- ‘काठमाडौंबाट जनकपुरतर्फ उडेको विमान पोखरा पुगेर दुर्घटना हुँदा ११७ जनाको मृत्यु !’ हेर्नुस् अर्काइभ लिङ्क। 

यही फोटो, यही शीर्षक र यही व्यहोरा कपिपेस्ट गरी फेसबुकका विभिन्न ग्रुप र विभिन्न नामका वेबसाइटले यो ‘समाचार’ फैलाएका छन्।

फूलैफूलको मौसम तिमीलाई नामको अर्को फेसबुक पेजमा पोस्ट गरिएको न्युज५५८मिडिया डट कमको यो समाचारको लिङ्कमा ८६ कमेन्ट र २ सेयर छन् भने ४४० रियाक्सन छन्। हेर्नुस् अर्काइभ लिङ्क

रवि लामिछाने फ्यान्स, भ्रष्टाचारविरुद्ध हाम्रो अभियान शीर्षकको अर्को फेसबुक ग्रुपमा सेयर भएको मेट्रोनेपालटिभी नामको वेबसाइटको लिङ्कमा पनि यही फोटो र यही व्यहोराको शीर्षक र समाचार पोस्ट गरिएको छ। यसमा आइतबार राति अबेरसम्म ३९ रियाक्सन, ९ कमेन्ट र २ सेयर देखिन्छ। हेर्नुस् अर्काइभ लिङ्क

त्यस्तै लाहुरे गोर्खाली नामको अर्को फेसबुक ग्रुपमा काभ्रेअनलाइनपत्रिकाको यही व्यहोराको फोटोसहितको समाचार पोस्ट गरिएको छ। यसमा सोमबार बिहानसम्म ५७६ रियाक्सन, १३२ कमेन्ट र ९ सेयर छन्। अर्काइभ लिङ्क। 

फेसबुकमा अरु पनि थुप्रै पेज र ग्रुपमा यो समाचार भाइरल भएको देखिन्छ। 

तर समाचारमा भने कुनै जानकारी छैन। शीर्षकलाई नै तीन पटक कपिपेस्ट गर्दै अन्तिममा ‘मनमा अलिकति पनि दयाभए #RIP लेख्नुहोला’ निर्देशन दिइएको छ।

तथ्य के हो?

गुगलमा रिभर्स इमेज सर्च गर्दा यही फोटो हामीले अस्ट्रेलियाको क्यानबेराटाइम्समा भेट्यौँ। अप्रिल १४, २०१९ मा प्रकाशित यो समाचारमा प्रयोग भएकै फोटो अहिले भाइरल भएको पोस्टमा देखिएको फोटो हो।

 

भाइरल पोस्टमा दावी गरिएको जस्तो यो विमान काठमाडौंबाट जनकपुरतर्फ उडेर पोखरामा दुर्घटना भएको होइन। दुई वर्षअघि २०१९ अप्रिल १४ का दिन समिट एयरको 9N-AMH कल साइन भएको उक्त विमान लुक्लाबाट रामेछाप उड्ने क्रममा पार्क गरेर राखिएको मनाङ एयरको AS 350B3e (9N-ALC) हेलिकप्टरसँग ठोक्किँदा दुर्घटना भएको दि हिमालयन टाइम्सको समाचारमा उल्लेख छ।

यो दुर्घटनामा तीन जनाको ज्यान गएको थियो।

एभिएसन सेफ्टी नेटवर्कको वेबसाइटमा पनि नेपाल सरकारले यो दुर्घटनाको छानबिन गर्न गठन गरेको टोलीको रिपोर्ट समेत राखिएको छ।

तथ्य जाँच

दावी : फेसबुकका विभिन्न ग्रुपहरुमा पोस्ट गरिएको अनलाइन समाचारका अनुसार काठमाडौंबाट जनकपुरतर्फ उडेको विमान पोखरामा दुर्घटना हुँदा ११७ जनाको मृत्यु भएको।

तथ्य जाँच : मिथ्या सूचना । 9N-AMH कलसाइन भएको समिट एयरको उक्त विमान सन् २०१९ अप्रिल १४ अर्थात वैशाख १, २०७६ का दिन लुक्लामा टेकअफका क्रममा दुर्घटना भएको हो।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add