तथ्यजाँच सही सूचना

प्रम देउवा सहभागी खोप कार्यक्रममा ब्यानर असार ४ को थियो कि साउन ४ को?


प्रम देउवा सहभागी खोप कार्यक्रममा ब्यानर असार ४ को थियो कि साउन ४ को?

प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ साउन ४ गते अमेरिकी सरकारबाट अनुदानमा प्राप्त जान्सेन नामको जोन्सन एन्ड जोन्सन कम्पनीको खोप अभियानको शुभारम्भ गरे। प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत र्‍यान्डी बेरी पनि मञ्चमा देखिएको यही कार्यक्रमको एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भयो। फोटोमा अतिथिहरु पछाडि राखिएको ब्यानरमा एक महिना अगाडिको मिति (असार ४) लेखेको देखिन्थ्यो। तर सोही दिन स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भने सोही कार्यक्रमको ब्यानरमा ‘श्रावण ४’ लेखिएको छ। सामाजिक सञ्जालमा भाइरल भएका फोटो सही हुन् कि मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा रहेको फोटो ? हामीले तथ्य जाँच गरेका छौँ।

प्रदीप भट्टराईले सोही दिन दिउँसो गरेको यो ट्विट दुई दिनमा ६२ रिट्वट र २८ कोट ट्विट अनि ५ सयभन्दा बढी लाइक देखिन्छ।  फेसबुकमा पनि यो फोटो थुप्रैले राखेका छन्।

सामाजिक सञ्जालमा भाइरल भएको यो फोटोको पछाडि ब्यानरमा ‘सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा हुने कोभिड १९ विरुद्धको Janssen खोपको शुभारम्भ समारोह, मिति २०७८ असार ४ गते लेखिएको छ। फोटोको दायाँ छेउमा मुनितिर कपिराइटको चिह्नसहित अनलाइनखबर डट कम लेखिएको छ।

तर सोही दिन स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा सोही कार्यक्रमको दुई वटा फोटो राखिएको छ। मन्त्रालयको आधिकारिक फेसबुक पेजमा राति ९ बजेर १८ मिनेटमा सो विज्ञप्ति पोस्ट गरिएको छ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा रहेको फोटोमा ब्यानरमा ‘श्रावण ४’ लेखेको देखिन्छ-

कुन ब्यानर सही हो ?

एउटै कार्यक्रमका दुई मिति राखिएका ब्यानर देखिएका छन्। कुन सही हो त ?

सबैभन्दा पहिला हामीले भाइरल भएको फोटोको मूलस्रोत खोज्यौँ। अनलाइनखबरमा ‘कोरोनाविरुद्धको अमेरिकी खोप लगाउन शुरु, प्रधानमन्त्रीबाट उदघाटन’  शीर्षकमा ‘२०७८ साउन ४ गते १०:४९ मा प्रकाशित’ टाइमस्ट्याम्प रहेको समाचारमा आज साउन ६ गते बुधबार हामीले हेर्दा ८ वटा फोटो देख्यौँ। तर सामाजिक सञ्जालमा भाइरल भएको ब्यानरमा ‘असार ४’ लेखिएको फोटो भने त्यसमा देखिएन।

हेर्नुस् यहाँ क्लिक गरी अनलाइनखबरको समाचार

तर इन्टरनेट अर्काइभको वेब्याक मेसिनमा गएर हेर्दा भने अनलाइनखबरले सोही लिङ्कको सोही शीर्षकको समाचारमा पहिलो फोटो ब्यानरमा ‘असार ४’ लेखिएको र सामाजिक सञ्जालमा भाइरल भएकै फोटो राखेको देखियो।

हेर्नुस् वेब्याक मेसिनले १९ जुलाई ५:१६:५९ जिएमटीमा अर्काइभ गरेको अनलाइनखबरको लिङ्क

समाचारबाट सो फोटो हटाइए पनि अनलाइनखबरको सर्भरमा भने यो फोटो कायमै देखिन्छ। हेर्नुस् लिङ्क

बुधबार दिउँसो १ बजे गरिएको अर्काइभ लिङ्क

यसबाट सामाजिक सञ्जालमा भाइरल भएको फोटो अनलाइनखबरमै प्रकाशित भएको र त्यसमा छेडखानी नगरिएको प्रष्ट हुन्छ।

अनलाइनखबरको फोटो सही कि मन्त्रालयको ?

‘असार ४’ लेखिएको ब्यानर अनलाइनखबरले सुरुमा राखेर, पछि हटाएको छ भने स्वास्थ्य मन्त्रालयले ‘श्रावण ४’ लेखेको देखिने ब्यानरसहितको फोटो विज्ञप्तिमा राखेको छ।

कुन सही हो र कुन बिगारिएको हो ?

यसको निर्क्यौल गर्न हामीले सोही कार्यक्रमको अरु मिडियामा आएका फोटोहरु खोज्यौँ।

इकागजमा प्रकाशित यो समाचारका  तीन वटा फोटोमा ब्यानरमा असार ४ गते लेखेको प्रष्ट देखिन्छ।

लोकान्तरले सोही दिन (जुलाई १९ मा) मा युट्युबमा अपलोड गरेको भिडियोमा प्रम शेरबहादुर देउवाले बोल्दै गर्दा पृष्ठभूमिमा ब्यानरमा असार ४ गते नै देखिन्छ।

हेर्नुस् भिडियो

नेपाललाइभले सोही दिन युट्युबमा अपलोड गरेको भिडियोमा पनि ब्यानरमा असार ४ गते नै लेखेको देखिन्छ।

हेर्नुस् भिडियो

त्यसैगरी कान्तिपुर टेलिभिजनमा साउन ४ गतेको समाचारमा पनि ब्यानरमा पूरै अक्षर नदेखिए पनि साउन नभई असार नै लेखेको स्पष्ट हुन्छ।

हेर्नुस् भिडियो 

अपडेट : गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले भूल सुधार विषय राखी जारी गरेको सूचनामा ब्यानरमा  श्रावण ४ हुनुपर्नेमा भूलवश अन्यथा भएको उल्लेख छ।

 

तथ्य जाँच

दावी : प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी काठमाडौँको जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालमा भएको कोभिड १९ विरुद्धको Janssen खोपको शुभारम्भ समारोहको ब्यानरमा असार ४ गते लेखिएको थियो। कार्यक्रम साउन ४ गते भएको थियो।

तथ्य जाँच : सही। सामाजिक सञ्जालमा भाइरल भएको अनलाइनखबरको लोगो भएको फोटो अनलाइनखबरमै प्रकाशित भएको वेब्याक मेसिनबाट देखिन्छ (हाल सो समाचारमा त्यो फोटो हटाइएको छ) त्यसैगरी सोही कार्यक्रममा भिन्न भिन्न मिडिया‍मा आएका फोटो र भिडियोहरुबाट पनि ब्यानरमा असार ४ गते नै लेखेको स्पष्ट देखिन्छ। तसर्थ स्वास्थ्य मन्त्रालयले आफ्नो प्रेस विज्ञप्तिमा राखेको फोटोमा डिजिटल रुपमा चलाखी गरेर ‘असार’ हटाई ‘श्रावण’ बनाएको देखिन्छ।

स्वास्थ्य मन्त्रालयको साउन ४ गतेको सिचुएसन रिपोर्टमा रहेको फोटोमा यस्तो सम्पादन गरिएको झन् प्रष्ट देखिन्छ (अक्षरको रङ्ग गाढा छ)-

सेन्टर फर मिडिया रिसर्चमाइसंसारको संयुक्त प्रयासमा सोसल मिडियामा भाइरल भएका र मिडियामा आएका समाचारहरुको तथ्य जाँच हामी गरिरहेका छौँ। तपाईँलाई शंका लागेका लिङ्क, फोटो वा भिडियो हामीलाई निम्न बमोजिम पठाउन सक्नुहुन्छ-


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add