तथ्यजाँच मिथ्या सूचना

के यो भिडियोमा देखिएको दृश्य नेपालको हो ?


के यो भिडियोमा देखिएको दृश्य नेपालको हो ?

अहिले सामाजिक सञ्जालमा एउटा भिडियो चर्चामा छ। भिडियोमा एउटा पहाड र झरना बगिरहेको देखिन्छ। त्यही झरना बगिरहेको ठाउँबाटै एउटा बस गुड्छ। १५ सेकेन्डको यो भिडियो नेपालको मनाङको रहेको दावी सामाजिक सञ्जालमा गरिएको छ। के यो सही हो? हामीले यस विषयमा तथ्य जाँच गरेका छौँ।

आफूलाई साउथ एसिया टाइम युकेका सम्पादक र प्रकाशका साथै रिसर्चर भएको दावी गर्ने डा. जगन कार्कीले यो भिडियोलाई ‘नेपालको मनाङको सडक हुँदै हिमालयको साहसिक यात्रा’ लेखेर आफ्नो ट्विटरमा पोस्ट गरेका छन्। हेर्नुस् अर्काइभ लिङ्क

आइतबार दिउँसोसम्म उनको यो ट्विटमा १८० रिट्विट, २६ कोट ट्विट र ८७५ लाइक छन्। ४ लाख २५ हजार भन्दा बढी पटक हेरिएको यो भिडियो उनले @EngineringVids ह्यान्डल रहेको ट्विटर अकाउन्टबाट लिएका हुन्। सो ह्यान्डलले भने यो ठाउँ कहाँ हो, उल्लेख गरेको छैन।

भिडियोको स्रोत खोज्नलाई हामीले यो भिडियोलाई इनभिड टुलकिटमा राखेर खोज्यौँ। त्यसबाट हामी दि सनको यो ट्विटसम्म पुग्यौँ। यो ट्याब्ल्वाइड बेलायती पत्रिकाको ट्विटर ह्यान्डलले जनवरी ३०, २०२०१ मा यो भिडियोसहित ट्विट गरेको रहेछ। त्यसमा यो बाटो भारतको रहेको उल्लेख छ।

उक्ति ट्विटमा यो भिडियोको क्रेडिट ray_manwa लाई दिइएको छ भने भिडियोमा इन्स्टाग्राम ray_manwa लेखिएको छ। हामीले खोज्ने क्रममा इन्स्टाग्राममा ray_manwa नामको अकाउन्टबाट यो भिडियो जुलाई १०, २०२० मा नै अपलोड भएको भेट्यौँ।

भिडियोमा उनले यो ठाउँ भारतको हिमाचल प्रदेशको रहेको र यो बाटो चम्बा भन्ने ठाउँबाट किल्लार भन्ने ठाउँसम्मको रहेको लेखेका छन्।

दावी : भिडियोमा देखिएको दृश्य नेपालको मनाङको हो।

तथ्य जाँच : मिथ्या जानकारी। यो भिडियोमा देखिएको दृश्य भारतको हिमाचल प्रदेशको रहेको बेलायती मिडिया दि सनले साभार गरेको र रे मानवाले इन्स्टाग्राममा अपलोड गरेको भिडियोबाट प्रष्ट हुन्छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add