तथ्यजाँच मिथ्या सूचना

के इसाई संस्थाहरुले ब्राह्मण र क्षत्रीलाई टुक्राउनु पर्ने विज्ञप्ति निकालेका हुन्?


के इसाई संस्थाहरुले ब्राह्मण र क्षत्रीलाई टुक्राउनु पर्ने विज्ञप्ति निकालेका हुन्?

सामाजिक सञ्जालमा अहिले एउटा विज्ञप्ति भाइरल भएको छ। नेपाल राष्ट्रिय मण्डली सङ्गति र नेपाल ख्रिस्टियन समाज नामका दुई इसाई संस्थाहरुको छाता संगठनका नेताहरुको नाम र हस्ताक्षरसहितको यो विज्ञप्तिमा ‘नेपालको संविधानमा खस-आर्य एकै हुन् भनी समेट्नु दुःखद कुरा भएको’ उल्लेख गर्दै ‘ब्राह्मण र क्षत्रीलाई नटुक्राएसम्म धर्मान्तर गर्न कठिन रहेको’, र ‘यस पटकको जनगणनामा..’ ‘जातिमा खस र धर्ममा मष्ट लेखाउन’ आह्वान गरिएको छ।

यसरी छायो सामाजिक सञ्जालमा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अप्रिल ६, मंगलबार बिहान ट्विट गर्दै यसलाई ‘केही वर्षदेखि संगठित/योजनावद्धरूपमा भैरहेको धर्मपरिवर्तनको यो ज्वलन्त उदाहरण भएको’ दावी गरेका छन्। 

उनले ‘राष्ट्रिय पहिचान समाप्त पार्ने र सांस्कृतिक सद्भाव बिथोल्ने यस्ता कार्यलाई कानुन बमोजिम तत्काल कारबाही गर्न’ प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराएका छन्। 

उपप्रधानमन्त्री भइसकेका थापाले नयाँ पत्रिका दैनिकका पत्रकार पर्शुराम काफ्लेको यसैसम्बन्धी ट्विटलाई कोट ट्विट गर्दै गरेको ट्विट दुई घण्टामा २८ रिट्विट र १२० लाइक भइसकेको छ। हेर्नुस् अर्काइभ लिङ्क

पत्रकार काफ्लेले विज्ञप्तिसहित ‘युनाइटेड मिसन टु नेपाल नामको संस्था बन्द गर्न राज्यको ध्यानाकर्षण हुनुपर्छ’ भन्दै सोमबार राति गरेको ट्विट भने मंगलबार बिहानसम्ममा १२७ रिट्विट र १८ कोट ट्विट र २९३ लाइक भइसकेको छ। हेर्नुस् अर्काइभ लिङ्क

क्रिस्टियन संस्थाहरुको निष्कर्ष: धर्म परिवर्तन सहज बनाउन ब्राहमण-क्षेत्रीको एकता भत्काउने शीर्षकमा नेपालदीप अनलाइनले पनि यही विज्ञप्तिको आधारमा समाचार बनाएको छ। हेर्नुस् अर्काइभ लिङ्क

हिन्दू राष्ट्र नेपाल नामको फेसबुक ग्रुपमा पनि यही विज्ञप्तिको फोटो खिचेर राखिएको छ। यो पोस्टमा मंगलबार बिहानसम्म ५० कमेन्ट र ३६ सेयर छन्। हेर्नुस् अर्काइभ लिङ्क।

के हो तथ्य ?

इसाई संस्थाहरुको दुई वटा छाता संगठनको यो विज्ञप्तिको स्रोत हामीले खोज्ने क्रममा कतै पनि सार्वजनिक रुपमा उपलब्ध भएको भेटेनौँ। जति पनि भेटिए, विरोध गर्दै पोस्ट गरिएको मात्र भेटियो।

विज्ञप्तिमा हस्ताक्षर गर्ने मध्येका एक नेपाल ख्रिस्टियन समाजका महासचिव डिल्लीराम पौडेलले आफूहरुले पछिल्लो समयमा कुनै संयुक्त आह्वान नगरेको दावी गरे। ‘हामीले करिब एक वर्ष पहिला नेपालमा बाढी आएर धेरैको मृत्यु हुँदा दुई महासचिव मिलेर सबै जनालाई सहायता गरौँ भनेर विज्ञप्ति निकालेका थियौँ नेपाली जनताको नाममा’, पौडेलले भने, ‘तर हाम्रो सिग्नेचर र हाम्रो स्ट्याम्पलाई कुनै पनि माध्यमबाट चोरी गरेर त्यहाँ राखिएको छ। कतैबाट कपिपेस्ट गरिएको होला। हामीले प्रहरीलाई पनि जानकारी गराइसकेका छौँ। हामी यसबारे विज्ञप्ति पनि निकाल्ने प्रयासमा लागिरहेका छौँ। यो टोटल्ली फेक हो। यो धार्मिक स्वतन्त्रतालाई बिथोल्नका लागि गरिएका कुराहरु हो। यसमा हामी सबैजना होसियार हुनुपर्ने हुन्छ।’

अर्को संस्था नेपाल राष्ट्रिय मण्डली संगतिका महासचिव शेरबहादुर एसीले आफ्नो संगठनको फेसबुकमार्फत् यो कुरा भ्रामक रहेको विज्ञप्ति निकालेका छन्। संस्थाका अध्यक्ष सूर्यबहादुर बल तामाङसहितको हस्ताक्षरमा प्रकाशित विज्ञप्तिमा ‘सो कुरा सरासर झुटो, कपोलकल्पित अनि भ्रामक भएको’ भनिएको छ। हेर्नुस् अर्काइभ लिङ्क

‘उक्त विज्ञप्तिमा उल्लेख गरिएका कुराहरूका बारेमा हामीलाई केही पनि थाहा छैन र यस कुरामा हाम्रो कुनै सहमति र संलग्नता पनि छैन’, विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘नेपाल राष्ट्रिय मण्डली सङ्गति र खीस्टियन समाजका केन्द्रीय समितिका बैठकहरूका यस्ता नचाहिने र अनावश्यक कुराहरूका सम्बन्धमा बहस, छलफल र कुराकानी कहिल्यै कदापि भएका छैनन्। नेपाली ख्रीस्टियन समुदाय तथा मण्डलीको हकहित र अधिकार तथा भलाइका लागि दुवै संस्थाहरू विगत लामो समयदेखि सँगसँगै हातेमालो गर्दै अगाडि बढिरहेका भए तापनि हालमा यस प्रकारका संयुक्त विज्ञप्ति निकाल्ने काम गरिएको छैन।’

गत वर्ष २०७६ असार ३० गते बाढी, पहिरो र डुबानमा परेकाहरूका लागि राहत संकलन गर्ने कममा दुवै महासचिवले हस्ताक्षर गरी विज्ञप्ति निकालिएको र सोही विज्ञप्तिमा उल्लेख गरिएका कुराहरूलाई पूरै फालेर आपत्तिजनक कुराहरू सहित नाम, हस्ताक्षर र कार्यालयको छाप भने जस्ताको त्यस्तै राखिएको दावी त्यसमा गरिएको छ।

२०७६ असार ३० गते अर्थात् १५ जुलाई २०१९ मा सोही फेसबुकमा कुनै विज्ञप्ति छ कि छैन भनी हेर्दा यो लिङ्क भेटियो-

हेर्नुस् अर्काइभ लिङ्क

यो विज्ञप्तिको स्क्यान कपि जस्तो देखिन्छ। तर अहिले भाइरल भएको विज्ञप्ति भने प्रिन्टेड जस्तो देखिन्छ। अहिलेको विज्ञप्तिमा नाम, हस्ताक्षर र संस्थाको छाप हुबहु रहेको छ

सामाजिक सञ्जालमा एउटा तन्नासहितको प्रिन्टेड विज्ञप्ति र अर्को त्यसैलाई क्रप गरिएको बाहेक विज्ञप्तिको अर्को संस्करण देखिन्न। ध्यान दिएर हेर्दा अर्को विज्ञप्तिमा पनि त्यही तन्नाको टुक्रा तल्लो दायाँ र बायाँ छेउमा देखिन्छ।

अपडेट : भाइरल विज्ञप्तिमा मिसनलाई सहयोग गर्न अन्तर्राष्ट्रिय ख्रिष्टियन संस्था युनाइटेड मिसन नेपाल (UMN) को सक्रिय भूमिमा रहेको र UMN कै कुटनीतिक पहलबाट विश्व मष्ट महासंघ गठन भएको उल्लेख छ। विज्ञप्तिमा भनिए जस्तै संस्थाको नाम युनाइटेड मिसन नेपाल नरहेर युनाइटेड मिसन टु नेपाल हो। उक्त संस्थाका लियाजन कोअर्डिनेरटर क्षितिज प्रसाइँले विज्ञप्ति प्रकाशित गर्दै तीन नाम गरेका संस्थाहरुसँग कुनै प्रकारको साझेदारी वा सम्बन्ध नरहेको र हालसम्म कहीँ कतै धर्म प्रचार या धार्मिक गतिविधि संलग्न नरहेको दावी गरेका छन्। हेर्नुस् विज्ञप्तिको लिङ्क। 

दावी : दुई इसाई संस्थाहरुले  ब्राह्मण र क्षत्रीलाई नटुक्राएसम्म धर्मान्तर गर्न कठिन रहेको भन्दै संयुक्त आह्वान गरे।

तथ्य जाँच : मिथ्या सूचना। दुई संस्थाका महासचिवहरुले संयुक्त विज्ञप्ति निकालेको सार्वजनिक रुपमा कतै पनि उपलब्ध छैन। सामाजिक सञ्जालमा एउटै मात्र प्रिन्टेड जस्तो देखिने विज्ञप्ति भाइरल भएका छन्। विज्ञप्तिको स्रोत कुनैमा पनि खुलेको छैन। एउटा संस्थाका महासचिवले सार्वजनिक विज्ञप्ति मार्फत् र अर्कोले नेपालफ्याक्टचेकसित कुरा गर्दै पछिल्लो पटक संयुक्त विज्ञप्ति २०७६ को असारमा बाढीपहिरोको बेला निकालिएको र सोही विज्ञप्तिको तलको भागलाई कपि गरेर नयाँ विज्ञप्ति बनाइएको दावी गरेका छन्। उक्त दावीलाई गलत ठहरिने गरी कुनै पनि प्रमाण सार्वजनिक रुपमा उपलब्ध छैनन्, न विज्ञप्तिको स्रोत नै कतैबाट खुलेको छ। तसर्थ यो विज्ञप्ति मिथ्या रहेको देखिन्छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add