तथ्यजाँच भ्रामक सूचना

के पठाओ बन्द गर्न लागिएको हो ?


के पठाओ बन्द गर्न लागिएको हो ?

राइड सेयरिङ एप पठाओ बन्द गर्न लागिएको बारे २०७७ चैत १० गते मंगलबार सामाजिक सञ्जालमा निकै चर्चा र केही मिडियामा समाचारसमेत आएका छन्। के साँच्चिकै पठाओ बन्द गर्न लागिएको हो त? हामीले यो विषयमा तथ्य जाँच गरेका छौँ।

सामाजिक सञ्जालमा चर्चा

५० हजार भन्दा बढी फलोअर भएका दीपक नेपालले ट्विट गर्दै पठाओ एप पूर्ण रुपमा बन्द भएको दावी गरे। उनी ट्याक्सी चालक पनि हुन्। उनले यसलाई जितको संज्ञा दिँदै त्यसका लागि व्यक्ति नै तोकेर धन्यवाद पनि दिएका छन्। उनको यो ट्विट मंगलबार राति १० बजेर २० मिनेटमा यो तथ्य जाँच तयार पार्दासम्म ८९ कोट ट्विट र ५ रिट्विट भएको छ भने ४३ लाइक छन्। अर्काइभ लिङ्क

त्यसैगरी ट्विटरमा पठाओ बन्द हुन लागेको बारे धेरै ट्विट भएका छन् र फेसबुकमा पनि यसबारे धेरैले पोस्ट गरेका छन्।

मिडियामा समाचार

सामाजिक सञ्जालमा मात्र होइन, मिडियामा पनि यसबारे समाचार आएका छन्। बाह्रखरी अनलाइनले ‘ट्राफिक प्रहरीले भन्यो– भोलिदेखि पठाओ चल्न दिँदैनौँ’ शीर्षकमा समाचार राखेको छ। समाचारमा ट्राफिक महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीलाई उद्‍धृत गर्दै लेखिएको छ, “लुकेर चलाउँछन् भने बेग्लै कुरा हो । अन्यथा, चल्न दिँदैनौँ । सडकमा देखेमा कारबाही गर्छौँ । पठाओ राइडर सडकमा भेला हुँदा सवारी आवागमन प्रभावित भएको छ।”

त्यसैगरी नेपालन्युजले पनि ‘भोलीदेखि पठाओ बन्द ! ट्राफिक प्रहरीले यस्तो भन्यो’ शीर्षकमा समाचार राखेको छ।

के हो तथ्य ?

यो विषयमा पठाओको नेपालस्थित कार्यालयले ५ बजेर ४१ मिनेटमा फेसबुकमा एउटा विज्ञप्ति सार्वजनिक गरेको छ। विज्ञप्तिमा प्रोटेक्टिभ गियर (ज्याकेट र ट्राउजरसहितको कपडा) प्रयोग नगर्न निर्देशन सरकारी निकायले दिएको भन्दै सम्पूर्ण राइडरलाई पठाओको लोगो या ब्रान्ड झल्काउने कुनै पनि कपडा अर्को सूचना नआएसम्म प्रयोग नगर्न अनुरोध गरिएको छ।

पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जारी गरेको उक्त विज्ञप्तिमा स्पष्ट रुपमा लेखिएको छ- ‘साथै राइड भने निर्वाध सञ्चालन हुने जानकारी गराउँछौँ।’

अर्थात् पठाओ स्वयंले जारी गरेको विज्ञप्तिमा उसको सेवा बन्द हुने सूचनाको खण्डन गर्दै राइड निर्वाध सञ्चालन हुने उल्लेख छ।

मिडियामा आएका समाचारमा  ट्राफिक महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीलाई उद्‍धृत गर्दै ‘चल्न दिँदैनौँ’ भनेको दावी गरिएको छ। तर यसबारे कुनै अडियो वा भिडियो उपलब्ध छैन।

त्यसको साटो कान्तिपुरको अनलाइनमा उनै प्रवक्ता अधिकारीलाई उद्‍धृत गर्दै  लेखिएको छ, ‘हामीले कुनै बन्द गर्ने निर्णय गरेका छैनौं,तर पठाओबारे गुनासा भने धेरै आएको हुँदा यसलाई व्यवस्थित रुपमा चलाउन जानकारी गराएका मात्र हौं ।’

मकालुखबरमा पनि उनैलाई उद्‍धृत गर्दै लेखिएको छ, ‘पठाओलगायत कुनै शेयर राइडिङ सेवा प्रदायकलाई कारबाही गर्ने/नगर्ने भन्ने हामीले निर्णय गर्न सक्ने कुरा होइन र त्यस्तो निर्णय भएको पनि छैन।’

ट्राफिक प्रहरीले विद्यमान ऐन नियमको पालना गराउने काम गर्छ। राइड सेयरिङ बन्द गर्ने वा नगर्ने भन्ने विषयमा यातायात व्यवस्था विभागले निर्णय गर्नुपर्ने हुन्छ।

मकालुखबरमा प्रकाशित समाचार अनुसार उनले भनेका छन्, ‘पछिल्लो समय चालकहरू झुरुप्प भएर बस्नाले आवागमन प्रभावित भएको र आवागमन व्यवस्थित गर्न अलि कडाइ गर्ने तयारी भने गरिएको हो।’

सेतोपाटीमा प्रकाशित समाचार अनुसार कम्पनीकी मार्केटिङ म्यानेजर सुरक्षा हमालले भनेकी छिन्,  ‘ट्याक्सी चालक र हाम्रो राइडरबीच भएको झगडाले सेवा बन्द भएको होइन। प्राविधिक समस्याले भएको हो। प्राविधिकले बनाउँदै छन्।’

 

दावी : पठाओको सेवा भोलिदेखि बन्द हुँदैछ।

तथ्य जाँच : भ्रामक खबर। ट्याक्सी चालक र पठाओ राइडर बीच विवाद हुने घटना यो हप्ता भएको, मंगलबार प्राविधिक कारणले समस्या भएर पठाओ एप नचलेको र ट्राफिक प्रहरीले आवागमन व्यवस्थित गर्ने तयारी गरेको समाचारहरुको पृष्ठभूमिमा पठाओको सेवा नै बन्द हुन लागेको जस्तो समाचार भ्रामक रुपमा आएका हुन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसबारे कुनै सूचना आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छैन। केही मिडियामा जसको भनाई (महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता) आएको छ, उनैले अरु मिडियामा पठाओ बन्द गर्ने निर्णय नभएको बताएपछि उनको भनाईलाई भ्रामक रुपमा प्रचार गरिएको देखिन्छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add