तथ्यजाँच मिथ्या सूचना

के मुस्कानलाई दिइएको पुरस्कार यसअघि नोबल विजेता पाकिस्तानी किशोरी मलालाले पाइसकेकी थिइन्?


के मुस्कानलाई दिइएको पुरस्कार यसअघि नोबल विजेता पाकिस्तानी किशोरी मलालाले पाइसकेकी थिइन्?

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मार्च ८ तारिखमा अमेरिकी सरकारले अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्‍यो। पुरस्कार पाउने १५ जना मध्ये एक नेपालकी किशोरी मुस्कान खातुन पनि थिइन्। व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मान गर्ने भन्दै अमेरिकी सरकारले विगत १५ वर्षदेखि यो पुरस्कार दिँदै आएको छ।

यससम्बन्धी समाचार मार्च ५ शुक्रबारदेखि नै नेपाली मिडियामा आउन थालेका हुन्। समाचारहरुमा यसअघि यो पुरस्कार नोबल पुरस्कार विजेता पाकिस्तानकी किशोरी  मलाला युसुफजाइले पाइसकेको उल्लेख थियो। के यो सही हो? हामीले यो विषयमा फ्याक्ट चेक (तथ्य जाँच) गरेका छौँ।

कुन मिडियामा कस्ता समाचार?

२०२१ मार्च ६ शनिबारको कान्तिपुरको पहिलो पेजमा छापिएको ‘नजलेको मुस्कान’ शीर्षकको समाचारको दोस्रो अनुच्छेदमा लेखिएको छ- ‘मुस्कान खातुनले भर्खरै मात्र अमेरिकी विदेश मन्त्रालयले दिने अन्तर्राष्ट्रिय साहसी महिला ‘आईडब्लूओसी’ अवार्ड पाइन् । यो अर्वाड पाउने उनी नेपालबाट पहिलो महिला हुन् । र, अहिलेसम्मकै कान्छी पनि । पुरस्कार पाएपछि भनिन्, ‘असाध्यै खुसी छु । अझै दायित्व थपिएका छन् ।’ यसअघि यो पुरस्कार नोबेल पुरस्कार विजेता मलाला युसाफजाईले पाएकी थिइन्।

समाचारको अर्काइभ लिङ्क हेर्न यहाँ क्लिक गर्नुस्। 

त्यसैगरी सोही समाचार सँगै छापिएको ‘बिहानै गुड न्युज’ शीर्षकको अर्को समाचारमा पनि ‘पाकिस्तानी बालशिक्षा अभियानकर्ता मलाला युसुफजाईले पनि पाइसकेको यो अवार्ड आफूले पाउन लाग्दा हर्षविभोर भएको मुस्कानले सुनाइन्’ लेखिएको छ।

हेर्नुस् अर्काइभ लिङ्क

त्यसैगरी अनलाइनखबरले पनि ‘मुस्कान खातुनलाई अमेरिकाको प्रतिष्ठित पुरस्कार’ शीर्षकको समाचारमा लेखेको छ- अघिल्ला वर्षमा पाकिस्तानकी किशोरी मलाला युसुफजईलाई पनि यही पुरस्कारबाट सम्मान गरिएको थियो।

हेर्नुस् अर्काइभ लिङ्क

बीबीसी नेपालीले पनि ‘मुस्कान खातुन: ‘मलालाले पाएको पुरस्कार पाएँ भनेर खुसी लागेको छ, अब अझ धेरै सङ्घर्ष गर्छु’ शीर्षकमा समाचार राखेको छ।

हेर्नुस् अर्काइभ लिङ्क

अन्य अनलाइनहरुमा हिमालखबर, गोरखापत्र र नेपाललाइभले पनि मलालाले यसअघि पुरस्कार पाएको समाचार लेखेका छन्।

हिमालखबरले लेखेको छ– यसअघि यो अवार्ड पाकिस्तानमा महिला तथा किशोरीहरूका लागि वकालत गर्ने कामका लागि मलाला युसुफजाईलाई प्रदान गरिएको थियो। उनी नोबेल पुरस्कार विजेता हुन्।

गोरखापत्र लेख्छ– यसका अघिल्ला विजेताहरूमध्ये पाकिस्तानमा महिला तथा किशोरीहरूका लागि वकालत गर्ने कामका लागि सम्मानित मलाला युसुफजई पनि छिन् जो सबैभन्दा कम उमेरकी नोबेल पुरस्कार विजेता हुन्।

नेपाललाइभ लेख्छ– यसअघि उक्त पुरस्कार पाकिस्तानमा महिला तथा किशोरीका लागि वकालत गर्ने मलाला युसुफजईले पाएकी थिइन्।

त्यसैगरी अङ्ग्रेजी दैनिक काठमाण्डु पोस्टको ‘Nepal’s Muskan Khatun among the recipients of 2021 International Women of Courage Award’  शीर्षकको समाचारमा लेखिएको छ- ‘Previous winners include Malala Yousafzai, the youngest Nobel laureate, for her advocacy work for women and girls in Pakistan.’ हेर्नुस् अर्काइभ लिङ्क

यस्तै माइरिपब्लिकाको ‘Acid attack survivor Muskan Khatun wins 2021 International Women of Courage Award’ शीर्षकको समाचारमा लेखिएको छ- ‘Previous winners include Malala Yousafzai, the youngest Nobel laureate, for her advocacy work for women and girls in Pakistan.’ हेर्नुस् अर्काइभ लिङ्क

देखापढीको युट्युबमा राखिएको यो भिडियोमा पनि प्रस्तोताले यसअघि यो अवार्ड पाकिस्तानकी मलालाले पाइसकेको दावी गरेकी छिन्।

के हो तथ्य ?

इन्टरन्यासनल वुमेन अफ करेज अवार्ड सन् २००७ मा तत्कालीन अमेरिकी विदेशमन्त्री कन्डोलिजा राइसले स्थापना गरेकी हुन्। हरेक वर्ष दिइने यो पुरस्कार कुन वर्ष कसलाई दिइयो भन्ने बारे विस्तृत विवरण अमेरिकी विदेश मन्त्रालयको वेबसाइटमा उल्लेख छ।

सन् २००७ मा पाउने १० जना

सन् २००८ मा पाउने ८ जना 

सन् २००९ मा पाउने ८ जना 

सन् २०१० मा पाउने १० जना

सन् २०११ मा पाउने १० जना

सन् २०१२ मा पाउने १० जना

सन् २०१३ मा पाउने ९ जना

सन् २०१४ मा पाउने १० जना

सन् २०१५ मा पाउने १० जना

सन् २०१६ मा पाउने १४ जना

सन् २०१७ मा पाउने १३ जना

सन् २०१८ मा पाउने १० जना

सन् २०१९ मा पाउने १० जना

सन् २०२० मा पाउने १२ जना

हालसम्म पुरस्कार पाउनेहरुको नामावली हेर्दा नेपालीले पहिलो पटक यो अवार्ड पाएको सही हो। तर, नेपाली मिडियामा दावी गरिए जस्तो पाकिस्तानकी मलाला युसुफजाइको नाम अवार्ड पाउनेको सूचीमा देखिन्न। मलालाले सन् २०१४ मा नोबल पुरस्कार पाएकी हुन्।  त्यसयता यो अवार्ड पाउने पाकिस्तानी महिलामा तबस्सुम अदनान (सन् २०१४) र जलिला हैदर (सन् २०२०) मात्रै छिन्।

तथ्य जाँच

दावी : नेपालकी मुस्कान खातुनले पाएको अमेरिकी विदेश मन्त्रालयले दिने अन्तर्राष्ट्रिय साहसी महिला ‘आईडब्लूओसी’ अवार्ड  यसअघि नोबेल पुरस्कार विजेता पाकिस्तानकी किशोरी मलाला युसाफजाईले पाएकी थिइन्।

तथ्य जाँच : मिथ्या सूचना । अघिल्लो वर्ष पाकिस्तानकी नारीले पुरस्कार पाएको सही हो, तर उनी मलाला नभई जलिला हैदर हुन्। मलाला नामसित मिल्ने मलाली बहादुरी नामकी महिलाले यो पुरस्कार सन् २०१३ मा पाएकी थिइन्। तर उनी पाकिस्तानकी नभएर अफगानिस्तानकी हुन्। उनी किशोरी नभएर हजुरआमा भइसकिन्। पुरस्कृत महिलाहरुको अहिलेसम्मको सूचीमा मलाला युसाफजाईको नाम नदेखिएकोले नेपाली मिडियामा छापिएको समाचार मिथ्या ठहरिन्छ।

 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add