अपुष्ट सूचना तथ्यजाँच

के प्रधान सेनापतिले प्रधानमन्त्रीलाई ‘इतिहासकै सबैभन्दा निडर’ भनेका हुन्?


के प्रधान सेनापतिले प्रधानमन्त्रीलाई ‘इतिहासकै सबैभन्दा निडर’ भनेका हुन्?

प्रधान सेनापति पूर्णचन्द्र थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई इतिहास कै सबैभन्दा निडर प्रधानमन्त्री भएको र आफूले गर्व गर्ने बताएको दावी गरिएको उनको भनाई सामाजिक सञ्जालमा भाइरल भएको छ। के साँच्चै प्रधान सेनापतिले यस्तो भनेका हुन्? हामीले यो विषयमा तथ्य जाँच (फ्याक्ट चेक) गरेका छौँ।

कहाँ कसरी फैलियो भनाई?

‘राष्ट्रले इतिहासकै सबैभन्दा निडर प्रधानमन्त्री पाएको छ, हामी गर्व गर्छौँ – प्रधानसेनापति’ लेखिएको ओलीपक्षीय विद्यार्थी नेता ऐन महरको फेब्रुअरी ८, २०२१ को फेसबुक स्टायटस फेब्रुअरी २१ सम्ममा १६२ पटक सेयर भएको छ भने त्यसमा ४१८ कमेन्ट र ३ हजार ४ सय रियाक्सन छन्।

आइ सपोर्ट केपी ओली नाम रहेको फेसबुक पेजमा यही लेखिएको स्टायटस ८६ पटक सेयर भएको छ भने ३३१ कमेन्ट र ४ हजार ४ सय रियाक्सन छन्।

अर्काइभ लिङ्क

फेसबुकमा ‘राष्ट्रले इतिहासकै सबैभन्दा निडर प्रधानमन्त्री पाएको छ’ लेखी सर्च गरी हेर्दा फोटोका रुपमा यही स्टायटस राखेर सेयर भएका प्रशस्त स्टायटसहरु भेटियो।

त्यसैगरी अरु थुप्रैले पनि फेसबुकमा यही लेखेर पोस्ट गरेका छन्। हेर्नुस् लिङ्क ।

सबै स्टाटसहरु फेब्रुअरी ८ वा त्यसपछि लेखिएका देखिन्छन्।

त्यसैगरी ट्विटरमा पनि धेरैले हुबहु यही व्यहोराको वाक्यसहित ट्विट गरेका छन्।

नरेश रोकायाको यो ट्विटमा फेब्रुअरी २१ सम्म १५ रिट्विट र १५७ लाइक देखिन्छ। विद्यार्थी नेता रोकाया हाल नेपाल ट्रस्टका बोर्ड सदस्य छन्।

ट्विटरमा दावीको फैलावट हेर्नका लागि होक्सीमा फेब्रुअरी ८ देखि ९ सम्ममा ‘निडर प्रधानमन्त्री पाएको छ’ शब्दसहित खोज्दा नेटवर्क यस्तो देखियो-

तथ्य के हो ?

जुन दिन प्रधान सेनापतिको भनिएको यो भनाई भाइरल भयो, त्यसको अघिल्लो दिन अर्थात् फेब्रुअरी ७ तारिख (माघ २५ गते) नेपाली सेनाले एकीकरण मार्ग कार्यक्रम दोस्रो बृहत् सेमिनार समापन समारोहको आयोजना गरेको थियो। जङ्गी अड्डामा भएको यो कार्यक्रममा प्रधान सेनापति पूर्णचन्द्र थापा र प्रधान मन्त्री केपी शर्मा ओलीसमेत उपस्थित थिए।

नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले उक्त कार्यक्रममा प्रधान सेनापतिले बोल्ने कार्यक्रम नै नभएको दावी गरे।

यो कार्यक्रमको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनले गरेको थियो। नेपाल टेलिभिजनको फेसबुक पेजमा यो कार्यक्रम हेर्न सकिन्छ। १ घण्टा ३७ मिनेटको यो भिडियोमा रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मात्रै सम्बोधन गरेको देखिन्छ। प्रधान सेनापतिले कार्यक्रममा सम्बोधन गरेका छैनन्।

प्रवक्ता पौडेलका अनुसार सोही दिन बिहान प्रधान सेनापति थापाले जङ्गी अड्डामा भएको ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच समन्वयका क्षेत्रहरु’ विषयको दुई दिने सेमिनारको उद्घाटन समारोहमा भने उद्घाटन मन्तव्य राखेका थिए।

सो कार्यक्रमको भिडियो सेनाले आफ्नो युट्युब च्यानलमा अपलोड गरेको छ।

भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापासँगै प्रधान सेनापति पूर्णचन्द्र थापाको पनि मन्तव्यका केही अंश राखिएको छ। प्रधान सेनापतिको मन्तव्यको करिब तीन मिनेटको अंशमा भाइरल भएको दावीमा जस्तो प्रधानमन्त्री बारे बोलेको पाइँदैन।

उक्त भिडियोमा प्रधान सेनापतिले लिखित मन्तव्य वाचन गरेको देखिन्छ। उक्त मन्तव्यको पूर्ण विवरण सार्वजनिक रुपमा कतै उपलब्ध नभएकोले त्यसमा समेटिएका सबै विषय यकिन गर्न हामी असमर्थ रह्यौँ।

अपडेट (फेब्रुअरी २२, दिउँसो १) : यो तथ्य जाँच प्रकाशन पछि नेपाली सेनाका प्रवक्ताको आधिकारिक ट्विटर ह्यान्डलबाट प्रधान सेनापति पूर्णचन्द्र थापाले उक्त दिन राखेको मन्तव्यको पूर्णपाठसहितको नेपाली सेनाको आधिकारिक वेबसाइटको लिङ्क सार्वजनिक भएको छ। त्यसमा ‘प्रधानमन्त्री’ शब्द एक ठाउँमा मात्र उल्लेख छ। मन्तव्यको अन्त्यमा लेखिएको छ, ‘अन्त्यमा, यस कार्यक्रममा उपस्थित भई आफ्नो महत्त्वपूर्ण समय प्रदान गरिदिनु भएकोमा सम्माननीय प्रधानमन्त्रीज्यू प्रति हार्दिक कृतज्ञता प्रकट गर्दै सम्पूर्ण विशिष्ट महानुभावहरुमा नेपाली सेनाको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।’ यसबाहेक दावी गरिए जस्तो ‘इतिहास कै सबैभन्दा निडर प्रधानमन्त्री भएको र आफूले गर्व गर्ने’ व्यहोरा त्यसमा देखिएन।

दावी : प्रधान सेनापतिले ‘राष्ट्रले इतिहासकै सबैभन्दा निडर प्रधानमन्त्री पाएको छ, हामी गर्व गर्छौँ’ भने।

तथ्य जाँच : अपुष्ट सूचना । प्रधान सेनापतिले ‘राष्ट्रले इतिहासकै सबैभन्दा निडर प्रधानमन्त्री पाएको छ’ भनेको अडियो अथवा भिडियो कुनै प्रमाण हामीले फेला पार्न सकेनौँ। त्यसैगरी कुनै मिडियामा पनि प्रधान सेनापतिको यो भनाईसहितको समाचार प्रकाशन भएको देखिँदैन। सामाजिक सञ्जालहरुमा व्याकरण समेत एउटै (सबै र भन्दालाई छुट्याएर ‘सबै भन्दा’ लेखिएको) पारेर यो सूचना कपिपेस्ट भएको देखिन्छ। सामाजिक सञ्जालमा यो सूचना राख्नेहरुले प्रधान सेनापतिले कहिले र कहाँ त्यसो भनेको बारेसमेत केही उल्लेख गरेका छैनन्। तसर्थ यो दावीलाई हामीले अपुष्ट सूचनाका रुपमा वर्गीकरण गरेका छौँ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add