तथ्यजाँच मिथ्या सूचना

प्रमुख मिडियाहरुले राखेको ‘चरीबाघ’को छालाको फोटो गलत


प्रमुख मिडियाहरुले राखेको ‘चरीबाघ’को छालाको फोटो गलत

नेपालमा प्रमुख अनलाइन मिडियाहरुमा चरीबाघको छालासहित काठमाडौँबाट एक जनालाई प्रहरीले पक्राउ गरेको समाचार २०७७ पुस २० गते आएको छ। ती समाचारहरुमा पक्राउ परेका व्यक्तिको परिचयसहित ‘संरक्षित वन्यजन्तु चरीबाघको छाला (आखेटोपहार) थान–२’ सहित  नियन्त्रणमा लिइएको’ उल्लेख गर्दै फोटोसमेत राखिएको छ। के ती मिडियाले राखेका फोटो चरीबाघकै छालाको हो त ? हामीले यसबारे तथ्य जाँच गरेका छौँ।

कुन मिडियामा कस्तो समाचार र फोटो? 

अनलाइनखबरले ‘चरीबाघको छालासहित एकजना पक्राउ’ शीर्षकको समाचारमा यस्तो फोटो राखेको छ-

त्यसैगरी सेतोपाटीले ‘चरी बाघको छालासहित धापासीबाट एक पक्राउ’ शीर्षकको समाचारमा यस्तो फोटो राखेको छ-

‘नेपालखबर‘ले ‘काठमाडौंमा चरीबाघको छाला बेच्दै गर्दा एक जना पक्राउ’ शीर्षकमा पनि उस्तै फोटो राखेको छ-

न्युज २४ टिभीको वेबसाइटमा ‘टोखाबाट चरिबाघको छाला बरामद’ शीर्षकमा यस्तो फोटो राखिएको छ-

के फोटोमा देखिएको चरीबाघकै छाला हो त?

मिडियामा आएका फोटोहरु बारे हामीले प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ (आईयुसीएन) को बिरालो एवं साना मांसाहारी प्रजाति विज्ञ समूहका सदस्य यादव घिमिरेलाई सोध्यौँ।

उनले अनलाइनखबर, नेपालखबर र सेतोपाटीमा राखिएको फोटो ‘चरीबाघ’को हुन नसक्ने यी कारण दिए-

१) फोटोमा देखिएको छालामा थोप्लाहरू कहीँ पनि छैन। चरीबाघको प्रष्ट थोप्लाहरू हुन्छन्। जस्तै यो चरीबाघको छालाको फोटोमा देखिन्छ-

२) फोटोमा देखिएको छालाको ढाडमा एउटा कालो मोटो धर्सो छ, जुन चरीबाघमा त्यसरी प्रगाढ हुँदैन।

३) यसको घाँटी नजिक पनि दुई वटा काला मोटा धर्साहरू देखिन्छन्, यस्तो पनि चरीबाघमा हुँदैनन्।

४) निरबिरालोको पुच्छरमा कालो र सेतो जस्तै देखिने ब्याण्डहरू हुन्छन्, जुन चरीबाघमा हुँदैनन्।

घिमिरेका अनुसार मिडियामा आएको छालाको यो फोटो ‘चरीबाघ’को नभएर ‘निर बिरालो’को भएको स्पष्ट हुन्छ।

प्राध्यापक एवं वरिष्ठ वन्यजन्तुविज्ञ करन बहादुर शाह पनि मिडियामा आएका फोटो चरीबाघको हुननसक्ने बताउँछन्। ‘हामी यसैमा काम गरिरहेकाहरुले फोटो हेर्ने बित्तिकै यो चरीबाघको होइन, निर बिरालोको फोटो हो भनेर थाहा पाउन सक्छौँ’, उनी भन्छन्, ‘तर सामान्य व्यक्तिहरुले पनि छुट्याउन सक्ने केही विशेषता हुन्छ। चरीबाघ घरपालुवा बिरालो भन्दा अलिकति ठूलोमात्रै हुन्छ र जिउभरी प्रष्ट थोप्लासहितका बुट्टा हुन्छ।’

शाहले भने, ‘चरीबाघ र निर बिरालोको छालाको आकार नै करिब-करिब दोब्बर हुन्छ- भैँसीको पाडो र बाख्री भने जस्तै।’

यी दुई विज्ञको भनाई अनुसार अनलाइनखबर, नेपालखबर र सेतोपाटीको समाचारमा राखिएका फोटोहरुमा देखिएको छालाका बुट्टा, आकारले यो चरीबाघको नभई निर बिरालोको छाला भएको स्पष्ट हुन्छ।

दावी : काठमाडौंको टोखा नगरपालिका धापासीबाट प्रहरीले चरीबाघको छालासहित एक जनालाई पक्राउ गर्‍यो।

तथ्य : मिथ्या सूचना। फोटोमा चरीबाघको होइन निर बिरालोको छाला हो।

(सेन्टर फर मिडिया रिसर्च र माइसंसारको संयुक्त प्रयासमा सोसल मिडियामा भाइरल भएका र मिडियामा आएका समाचारहरुको तथ्य जाँच हामी गरिरहेका छौँ। तपाईँलाई शंका लागेका लिङ्क, फोटो वा भिडियो [email protected] वा [email protected] अथवा माइसंसारको फेसबुक पेज अथवा नेपालफ्याक्टचेकको वेबसाइट मार्फत् पठाउन सक्नुहुन्छ। नेपालफ्याक्टचेकको स्रोत खुलाएर तथ्य जाँच सामाग्री साभार गरी पुनः प्रकाशन गर्न सकिन्छ। )


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add