तथ्यजाँच मिथ्या सूचना

के प्रचण्डलाई विराटनगरमा जुत्ता प्रहार भएको हो?


के प्रचण्डलाई विराटनगरमा जुत्ता प्रहार भएको हो?


अलग अलग समूहको नेतृत्व गरिरहेका नेकपाका नेताहरुले देशभर अलग अलग सभाहरु गर्दैछन्। यही क्रममा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले अध्यक्षता गरिरहेको समूहले जनवरी २९, शुक्रबार विराटनगरमा सभाको आयोजना गरेको थियो। सो सभामा प्रचण्डमाथि जुत्ता प्रहार गरिएको भन्दै विभिन्न सामाजिक सञ्जालमा फोटोसहित दावी गरिएका छन्। यो विषयमा हामीले तथ्य जाँच (फ्याक्ट चेक) गरेका छौँ।

कृतिका शाह नाम राखिएको ह्यान्डलबाट जनवरी ३०, शनिबार दिउँसो फोटोसहित ‘गणतन्त्रका नाइके प्रचण्डलाई विराटनगरमा जुत्ता प्रहार गरिएको’ दावी गरिएको छ। आइतबार दिउँसोसम्म यो ट्विटमा ५३ रिट्विट, १७ कोट ट्विट र ७५३ लाइक छन्। हेर्नुस् अर्काइभ लिङ्क

त्यसैगरी फेसबुकमा साढे १६ लाखभन्दा बढी फलोअर रहेको फेसबुक ग्रुप “Maya माया” मा यही फोटोसहित ‘प्रचण्डमाथि विराटनगरमा जुत्ता प्रहार भएको’ दावी शनिबार दिउँसो १ बजेर १३ मिनेटमा राखिएको छ। यो पोस्टलाई आइतबार दिउँसोसम्ममा ६६८ पटक सेयर गरिएको छ भने २ हजार कमेन्ट छन्। त्यसैगरी १३ हजारभन्दा बढी रियाक्सन छन्। हेर्नुस् अर्काइभ लिङ्क

फेसबुकमा “प्रचण्ड” र “जुत्ता प्रहार” शब्द राखी सर्च गर्दा यही फोटोसहित प्रशस्तै पोस्टहरु भेटिए-

‘सरकारलाई साथ र समर्थनको लागि सरकारका विकासका योजना जनतासम्म लैजानको लागि लाइक गर्नुहोस्’ लेखिएको CPN.NEPAL1 युजरनेम रहेको तर ‘युथ्स भ्वाइस’ नाम रहेको फेसबुक ग्रुपमा शनिबार दिउँसो १ बजेर २५ मिनेटमा सोही फोटो राखी ‘प्रचण्डलाई जुत्ता प्रहार’ गरिएको दावी लेखिएको छ। तर त्यसमा भने ‘विराटनगर’ नभई ‘धनगढी’ लेखिएको छ।  शनिबार प्रचण्ड-माधव नेपाल समूहको धनगढीमा सभा थियो।

जुत्ता प्रहार भएको हो?

शुक्रबार विराटनगरमा भएको प्रचण्ड-माधव नेपाल समूहको विरोध सभा फेसबुकका विभिन्न पेजहरुबाट लाइभ गरिएको थियो। कुनैमा पनि जुत्ता प्रहार भएको वा होहल्ला भएको देखिँदैन/सुनिँदैन।

हामीले विराटनगरमा रहेर लामो समयदेखि पत्रकारिता गरिरहेका पत्रकार अनन्तराज न्यौपानेलाई सोध्यौँ। उक्त सभामा अगाडिको पंक्तिमै रहेर समाचार संकलन गरेको बताउने न्यौपानले भने, ‘मैले त देखिनँ। मलाई लाग्छ जुत्ता प्रहार गरेको होइन। यो असत्य हो।’

त्यसैगरी हामीले कुनै पनि छापा वा अनलाइन मिडियामा विराटनगरमा जुत्ता प्रहार भएको समाचार भेटेनौँ।

अनलाइनखबरनयाँ पत्रिकामा प्रचण्डलाई जुत्ता प्रहार गरिएको समाचार त छ, तर त्यो झण्डै एक वर्षअघि (मार्च, २०२०- फागुन २०७६) को हो। काठमाडौँको राष्ट्रिय सभागृहमा नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सम्बोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट जुत्ता प्रहार भएको थियो। जुत्ता प्रहार गर्ने व्यक्तिलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाएको थियो

विराटनगरबाट फेसबुक लाइभ गरिएका भिडियोहरुको पृष्ठभूमि हेर्दा सामाजिक सञ्जालमा भाइरल भएको प्रचण्डको फोटो विराटनगरकै सभाको भएको पुष्टि हुन्छ। सो फोटोका आधारमा खोज्ने क्रममा हामी विराटनगरबाट सञ्चालित अनलाइन मिडिया कोशीअनलाइनले फेसबुकमा राखेको भिडियोमा पुग्यौँ। भाइरल भएको फोटो सोही भिडियोको स्क्रिनसट रहेको प्रष्ट छ।

२२ सेकेन्डको सो भिडियोमा प्रचण्ड मञ्चबाट झर्दै गरेको देख्न सकिन्छ। यहाँ जुत्ता प्रहार भएको देखिँदैन। बरु भिडियोमा पृष्ठभूमिबाट ‘फोटो खिच्न पाउनु पर्‍यो’ भनेको सुनिन्छ।

कोशीअनलाइनले जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काको भनाईसहितको समाचार पनि राखेको छ। खड्काले समाचारमा भनेका छन्, ‘कहीँकतै प्रहार भएको छैन हल्ला मात्रै हो।’

दावी : प्रचण्डलाई विराटनगरमा जुत्ता प्रहार गरियो।

तथ्य जाँच : मिथ्या समाचार । सामाजिक सञ्जालमा भाइरल भएको फोटो भएकै भिडियोमा प्रचण्ड मञ्चबाट ओर्लँदै गरेको र जुत्ता प्रहार भएको देखिन्न। कार्यक्रममा उपस्थित पत्रकारको भनाई, प्रहरी अधिकारीको भनाई र कुनै पनि विश्वासिला मिडियामा यो सम्बन्धी समाचार नभेटिएर फेसबुक ग्रुप र पेजहरु र ट्विटरमा मात्रै भेटिनु र त्योसँगै भिडियो नरहनुले पनि यो समाचार गलत रहेको देखिन्छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add