अपुष्ट सूचना तथ्यजाँच

के पर्सामा बाघले आक्रमण गरी मान्छे लगेको हो?


के पर्सामा बाघले आक्रमण गरी मान्छे लगेको हो?


२०७७ माघ १० गते सोसल मिडिया र विभिन्न अनलाइन मिडियाहरुमा पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने पथलैया–अमलेखगञ्ज सडकखण्डबाट शनिबार बिहान बाघले एक पुरुषलाई जंगलतर्फ लगेको व्यहोराका समाचारहरु प्रकाशन भएका छन्।

के यो समाचार सही हो? यसबारे हामीले तथ्य जाँच (फ्याक्टचेक) गरेका छौँ।

‘सीधा कुरा जनता’सँग नामको फेसबुक ग्रुपमा ‘बाघले आक्रमण गरी बारामा एक युवकलाई जंगलतिर लग्यो, खोजी कार्य सुरु’ शीर्षकको समाचार राखिएको छ।

यसमा आइतबार दिउँसोसम्म २२ कमेन्ट, ३५ सेयर र ६ सयभन्दा बढी रियाक्सन छ।

अन्जुलीअनलाइनमा प्रकाशित समाचारमा लेखिएको छ-

बाराको अमलेखगञ्ज–पथलैया सडकखण्डमा बाघले शनिबार बिहान एक पुरुषलाई आक्रमण गरी जंगलतिर लगेको छ ।

पहि’चान खु’ल्न नसकेको अन्दाजी ४५ वर्षीय ती पुरुषलाई बाघले आ’क्रमण गरी जंगलतिर लगेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो।

समाचारमा राखिएको फोटोलाई गुगलबाट रिभर्स इमेज सर्च गर्दा हामी द ग्लोब एन्ड मेलको यो समाचारमा पुग्यौँ-

त्यसैगरी इजरायलको वेबसाइटमा पनि एसोसिएटेड प्रेसको यही फोटोसहित समाचार छ। समाचार अनुसार यो फोटो सन् २०११ मा उत्तरपूर्वी भारतको प्रकाशनगर गाउँमा चितुवाले वन पालेलाई आक्रमण गर्दाको हो।

त्यसैगरी केटिएम दैनिकले पनि ‘पथलैया-अमलेखगञ्ज सडकमा पिसाव फेर्न जंगल पसेका पुरुषलाई बाघले तानेर लग्यो’ शीर्षकमा समाचार राखेको छ।

यो समाचार केही मूलधार मिडियाका अनलाइन संस्करणमा पनि आएका छन्। अन्नपूर्ण पोस्टको अनलाइनमा ‘बाघले मान्छे लगेको आशंका, निकुञ्जको टोलीद्वारा खोजी सुरु’ शीर्षकमा समाचार छ।

त्यसैगरी नयाँ पत्रिका दैनिकको अनलाइन संस्करणमा पनि ‘पिसाब फेर्न जंगल पसेका पुरुषलाई बाघले लगेको आशंकामा खोजी सुरु’ शीर्षकमा समाचार राखिएको छ।

यी दुई मूलधारका मिडियाले बाघले मान्छे लगेको नलेखी ‘आशंका’ शीर्षकमै खुलाएका छन्।

दुवै समाचारमा सडकमा हिडिरहेका पुरुष पिसाब फेर्न भन्दै नजिकैको जंगल पसेको, केही बेरमै ठूलो आवाजमा ती पुरुष चिच्याएपछि नजिकै रहेकी अर्की महिलाले प्रहरीलाई खबर गरेको  उल्लेख छ।

ती पुरुषको पहिचान हुन नसकेको पनि समाचारमा उल्लेख छ।

भएको के हो ?

हामीले पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकृत रमेशकुमार यादवलाई सोध्यौँ- के पर्सामा बाघले मान्छे लगेको हो?

‘छैन,छैन। त्यो फेक न्युज हो,’ उनले भने।

यादवका अनुसार एक महिलाले भनेको भनेर खबर आएपछि खोज्दै जाँदा फेक न्युज भएको पत्ता लागेको हो।

खोज्दै जाँदा केही दिनअगाडि मुन्ना पण्डित नामका एक पुरुषले सोही ठाउँमा चितुवा देखेपछि बाइक लडेको र त्यही हल्ला फैलिएको उनले बताए।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्रका अनुसार बाघले लगेको भनेर खबर गर्ने महिलाको सूचनाको आधारमा शनिबार निकुञ्ज, प्रहरी, सेना सबै मिलेर चार वटा हात्ती प्रयोग गरी खोजी गरिएको थियो।

‘बाघले लगेर गएको भएपछि बाघले लगेको बाटोमा ब्लडहरु खसेको अथवा टोपी लगाएको थियो भन्छ, टोपी खसेको..त्यस्तो दसी प्रमाणहरु केही भेटिनु पर्ने…कुनै पनि चिज नभेटिसकेपछि त्यो फेक न्युज रहेछ भनेर निकुञ्जले हामीलाई भन्यो’, उनले भने।

कोही व्यक्ति हराएको भए आफन्त वा अरु कसैले हराएको भनेर प्रहरीमा रिपोर्ट गर्नु पर्नेमा त्यस्तो रिपोर्ट पनि भएको अवस्था नभएको प्रवक्ता मिश्रले बताए।

‘त्यही ठाउँमा एउटा बाइकमा चितुवाले बाटो क्रस गर्दा लडेर सामान्य घाइते भएको भन्ने कुरा पनि आयो। त्यसपछि कुरो चाहिँ यो रहेछ, त्यतातिर डाइभर्ट भएछ भन्ने पनि निकुञ्जको भनाई हो’, उनले भने।

घटनास्थलमै पुगेर खोजी गरेका प्रहरीले पनि न घटना भएको भनिएको स्थानमा बाघले लगेको केही संकेत देखिएको, न हराएको भनिएका व्यक्तिको हुलिया र परिचय नै खुलेको बताए।

दावी : पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने पथलैया–अमलेखगञ्ज सडकखण्डबाट शनिबार बिहान बाघले आक्रमण गरी एक पुरुषलाई जंगलतर्फ लग्यो।

तथ्यजाँच : अपुष्ट। राष्ट्रिय निकुञ्ज र प्रहरी कसैले पनि बाघले लगेको घटनाको केही प्रमाण भेट्टाउन सकेका छैनन्। राष्ट्रिय निकुञ्जका अधिकारीले त यसलाई फेक न्युज भएको दावीसमेत गरे। घटनास्थलमा बाघले लगेको केही संकेत नभेटिनु, हराएको व्यक्तिको परिचय र हुलिया नखुल्नुले बाघले आक्रमण गरी मान्छे लगेको पुष्टि नहुने देखिन्छ।

 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add