तथ्यजाँच मिथ्या सूचना

जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक कसको पालामा नियुक्त गरिएको थियो?


जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक कसको पालामा नियुक्त गरिएको थियो?


विभिन्न संवैधानिक आयोगहरुका रिक्त पदाधिकारीहरुको संवैधानिक परिषद् सम्बन्धी नयाँ अध्यादेश अनुसार सिफारिश हुँदा जयबहादुर चन्दको नाम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा रहेको सार्वजनिक भएपछि उनी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट रहेको भन्दै मिडियाहरुमा समाचार आए। ‘कान्तिपुर’ राष्ट्रिय दैनिकले पनि यस सम्बन्धी समाचार लेख्ने क्रममा चन्दलाई देउवा सरकारले प्रहरी महानिरीक्षक नियुक्त गरेको उल्लेख गरेको छ। के यो सही हो? हामीले यस विषयमा फ्याक्टचेक गरेका छौँ।

दावी : ‘कान्तिपुर’ले लेखेको छ- ‘अख्तियारको आयुक्तमा सिफारिस जयबहादुर चन्द यसअघिको देउवा सरकारले नियुक्त गरेका प्रहरी महानिरीक्षक हुन्।’

तथ्यजाँच : मिथ्या सूचना। चन्दलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले महानिरीक्षक नियुक्त गरेका हुन्।

विस्तृत विवरण :

२०७७ पुस ६ गते ‘कान्तिपुर’ राष्ट्रिय दैनिकको पेज ६ मा ‘फाइल तामेलीमा राखेर अख्तियार प्रमुखमा राई सिफारिस’ शीर्षकको समाचार छापिएको छ। समाचारको दोस्रो अनुच्छेदको तेस्रो वाक्यमा लेखिएको छ, ‘अख्तियारको आयुक्तमा सिफारिस जयबहादुर चन्द यसअघिको देउवा सरकारले नियुक्त गरेका प्रहरी महानिरीक्षक हुन्। तर सर्वोच्च अदालतले उनको नियुक्ति कानुनविपरीत भनी घोषणा गरिदिएपछि चन्दको नियुक्ति रोकिएको थियो भने त्यही तुषमा तत्कालीन कांग्रेस–माओवादी सरकारले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग दर्ता गरेको थियो।’

जयबहादुर चन्दलाई २०७३ साल फागुन १ गतेको मन्त्रिपरिषद् बैठकले फागुन ३ गतेदेखि लागू हुने गरी प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो। तर सर्वोच्च अदालतको आदेशका कारण उनले पदबहाली गर्न पाएनन्।

उनलाई महानिरीक्षक नियुक्त गर्दा नेपाली कांग्रेस र माओवादीको संयुक्त सरकार थियो। तर त्यसको नेतृत्व भने कांग्रेस सभापति शेरबहादुर देउवाले होइन, माओवादी अध्यक्ष प्रचण्डले गरिरहेका थिए। देउवा २०७४ जेठ २४ गते बल्ल प्रधानमन्त्री भएका थिए

कान्तिपुरले नै चन्दलाई महानिरीक्षक बनाइँदा २०७४ साल फागुन १ गते लेखेको समाचारमा प्रधानमन्त्री पुष्पकमल दाहाल उल्लेख छ।

अतः जयबहादुर चन्दलाई देउवा सरकारले प्रहरी महानिरीक्षक नियुक्त गरेको समाचार गलत छ। उनलाई देउवा नेतृत्वको सरकारले होइन, प्रचण्ड नेतृत्वको सरकारले नियुक्त गरेको थियो।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add