तथ्यजाँच मिथ्या सूचना

के भीम रावलले ‘ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएकोले दिमागले काम गरेन’ भनेका हुन्?


के भीम रावलले ‘ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएकोले दिमागले काम गरेन’ भनेका हुन्?

अहिले सामाजिक सञ्जालमा एउटा समाचार भाइरल भएको छ। समाचारमा नेकपा (प्रचण्ड-नेपाल) समूहका नेता भीम रावलले ‘ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएकोले दिमागले काम गरेन’ भन्दै भाषण गरिएको उल्लेख छ। यही समाचारका आधारमा धेरैले आफ्ना विचारहरु फेसबुक र ट्विटरमा लेखिरहेका छन्। के साँच्चै नेता रावलले यस्तो भाषण गरेका हुन् त? हामीले यसबारे तथ्यजाँच गरेका छौँ।

दावी : नेता भीम रावलले ‘ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएकोले दिमागले काम गरेन’ भने।

तथ्यजाँच : मिथ्या सूचना। भीम रावलले धनगढीमा भाषण गर्दा यस्तो भनेको न उपस्थित पत्रकारले सुनेका छन्, न उपलब्ध भिडियोमा देखिन्छ। उक्त समाचारका केही अंशबाहेक सबै रातोपाटीबाट हुबहु कपिपेस्ट भएको देखिन्छ। समाचार भाइरल भएको वेबसाइट परदेशीन्युजमा भएका सामग्रीहरुको प्रकृति हेर्दा यो साइटले भिजिटर बढाउनका लागि भन्दै नभनेको कुरा थपेको देखिन्छ।

यो समाचार ‘परदेशीन्युज’ नामको अनलाइनमा पुस १३ गतेको मितिमा राखिएको छ। परदेशीन्युजको फेसबुक पेजबाट यो समाचार सोमबार मध्यरातसम्ममा ३३२ पटक सेयर भएको छ।

 

३९ हजार सदस्य भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको फेसबुक ग्रुप लगायत अन्य थुप्रै ग्रुप र पेजहरुमात्र हैन व्यक्तिगत अकाउन्टबाट पनि यो अनलाइनको समाचार सेयर भएको छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को फेसबुक ग्रुपमा सोमबार मध्यरातसम्म यो समाचार २९ जनाले सेयर गरेको देखिन्छ भने ८० जनाको कमेन्ट र १७८ वटा रियाक्सन देखिन्छ।

त्यसैगरी ट्विटरमा पनि यो समाचारको धेरै चर्चा भएको छ। उदाहरणका लागि सञ्चारकर्मी बिनु पोखरेलको यो ट्विटमा सोमबार मध्यरातसम्ममा ३७ रिट्विट, १५ कोट ट्विट र २०० लाइक छ।

भाइरल भएपछि यो समाचार मेचीमहाकाली डट नेट लगायत अरु केही वेबसाइटहरुमा पनि हुबहु कपिपेस्ट भएको छ।

भीम रावलले भनेकै हुन् त?

भाइरल भएको समाचारमा उल्लेख भए नेता रावल धनगढीमा आइतबार पुगेका हुन्। उनले त्यहाँ आयोजित कार्यकर्ता भेलालाई सम्बोधन पनि गरेका थिए। यससम्बन्धी समाचार अरु मूलधारका अनलाइनहरुमा पनि आएका छन्। उदाहरणका लागि ओलीले पहिलेदेखि नै पार्टी फुटाउन चाहेका थिएः भीम रावल (रातोपाटी), ओलीले चुनाव गराउँदैनन् : भीम रावल (कान्तिपुर), प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैन : नेता रावल (अनलाइनखबर)

थाहाखबरका धनगढी रिपोर्टर तेज बोहोरा आइतबार नेता रावल चढेको विमान धनगढी विमानस्थलमा अवतरण गरेदेखि रङ्गशालामा भएको कार्यक्रममा सम्बोधन गर्दासम्म साथै थिए। उनले नेपालफ्याक्टचेकलाई भने, ‘रङ्गशालामा सम्बोधन गरेर फर्कने बेलासम्म म उहाँसँगै थिएँ। अहिले मिडियामा स्त्रीको अङ्ग मिसिएकोले दिमागले काम गरेन भनेर आएको समाचार शतप्रतिशत झुटो हो।’

बोहोराले आफूसित नेता रावलले गरेको सम्बोधनको अडियो पनि रहेको र त्यसमा उनले त्यस्तो कतै नभनेको बताए।

कान्तिपुर टेलिभिजनका धनगढी स्ट्रिङ्गर महेन्द्र बमले पनि नेता रावल आइतबार दिउँसो ४ बजे धनगढी पुगेको र त्यहाँको रङ्गशालामा आयोजित भेलामा सम्बोधन गरेको जानकारी दिए। ‘उनको त्यो दिन अरु कार्यक्रम थिएन’, बमले भने, ‘भेलामा गरिएको सम्बोधनको भिडियो सामाजिक सञ्जालमा उपलब्ध छ। उनले त्यसो भनेका थिएनन्।’

सुप अनलाइन टिभी नेपाल नामको फेसबुक पेजमा ३४ मिनेटको भिडियो अपलोड गरिएको छ। भिडियोमा र्‍यालीदेखि रावलको सम्बोधनसम्म समेटिएको छ। भिडियोमा उनले भाइरल भएको समाचारमा जस्तो ‘स्त्री अङ्गको कुरा’ गरेका छैनन्।

त्यसैगरी तिलक ओझा नामको युट्युब च्यानलमा पनि २६ मिनेटको भिडियो अपलोड गरिएको छ जसमा रावलले विभिन्न विषयमा बोलेका छन्। धनगढीमा भएको सभाको यो भिडियोमा उनले स्त्री अङ्गको कुरा गरेको सुनिँदैन।

भाइरल भएको परदेशीन्युजको समाचारलाई ध्यान दिएर हेर्ने हो भने यो समाचार रातोपाटीमा प्रकाशित समाचारको हुबहु कपि देखिन्छ।

रातोपाटीमा प्रकाशित यो समाचारको पहिलो अनुच्छेदको तेस्रो वाक्यमा ‘नेता रावलले भने’ पछि ‘कतै वहाँको शरीरमा स्त्री अङ्ग मिसिदा दिमागले काम त नगरेको होइन’ वाक्य भाइरल भएको परदेशीन्युजको समाचारमा थपिएको छ। वाक्य जबर्जस्ती थपिएको वाक्यपछि आउने कोटेसन मार्क र कमा प्रयोग नगरेकोबाट नै स्पष्ट हुन्छ। त्यति थपिएको शब्दपछिका वाक्यहरु फेरि पनि रातोपाटीकै हुबहु छन्। हेर्नुस् परदेशीन्युजको समाचार-

त्यसैगरी परदेशीन्युजको समाचारमा अन्तिम वाक्य ‘४४१ जनाको नेकपा बहुमतले गरेको कुरा ओलि नमानेर उखान टुक्का गर्दै बिपरित हिड्ने ब्याक्ति कम्युनिस्ट नै होइनन।’ पनि थपिएको छ। थपिएको वाक्यका हिज्जे गलत छन्। रातोपाटीबाट कपिपेस्ट गरिएको समाचारमा ‘ओली’को ली दीर्घ छ भने थपिएको समाचार र शीर्षकमा ‘ओलि’को लिलाई ह्रस्व बनाइएको छ। त्यसैगरी थपिएका वाक्यमा अनेकौँ गल्तीहरु छन्।

परदेशीन्युजको वेबसाइटमा प्रकाशक डोलराज न्यौपाने बाहेक अरुको नाम नभएको, हेडलाइनमै कमेन्ट र सेयर गरिदिनुहोला लेख्ने शैली, अशुद्ध भाषा र जथाभावी राखिएका कन्टेन्टले पनि यो कुनै प्रोफेसनल न्युजसाइट नभएर पाठकको ध्यान तान्न जे पनि गर्ने वेबसाइट भएको स्पष्ट हुन्छ।

परदेशीन्युजको एउटा हेडलाइन।

(सेन्टर फर मिडिया रिसर्च र माइसंसारको संयुक्त प्रयासमा सोसल मिडियामा भाइरल भएका र मिडियामा आएका समाचारहरुको तथ्य जाँच हामी गरिरहेका छौँ। तपाईँलाई शंका लागेका लिङ्क, फोटो वा भिडियो [email protected] वा [email protected] अथवा माइसंसारको फेसबुक पेज अथवा नेपालफ्याक्टचेकको वेबसाइट मार्फत् पठाउन सक्नुहुन्छ। तथ्य जाँच सामाग्री माइसंसारनेपालफ्याक्टचेकमा प्रकाशन हुन्छ।)


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add