तथ्यजाँच मिथ्या सूचना

के कारमा स्यानिटाइजर राख्दा आगो लाग्न सक्ने नास्टका वैज्ञानिकको भनाई सही हो ?


के कारमा स्यानिटाइजर राख्दा आगो लाग्न सक्ने नास्टका वैज्ञानिकको भनाई सही हो ?


‘हिमालखबर’मा २१ भदौ २०७७ मा प्रकाशित समाचारमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वैज्ञानिक तथा माइक्रोबायोलोजिष्ट डा. टिष्टा प्रसाईंको भनाई उद्‍धृत गर्दै लेखिएको छ- “अहिले सबैले यात्रा गर्ने क्रममा पनि स्यानिटाइजर बोक्ने गरेको पाइएको छ। आफ्नो कारमा स्यानिटाइजर बोकेर हिंड्दा त्यतिबेला गाडीको तापक्रम बढेर १०५ डिग्री फरेन हाइटसम्म पुग्छ। स्यानिटाइजरमा भएको रसायनका कारण आगलागीको जोखिम पनि हुन्छ।”

सामाजिक सञ्जालहरुमा पनि कारभित्र राखिएको स्यानिटाइजरका कारण आगो लागेर कार जलेको दावी गरिएका पोस्टहरु देखिन्छन्। के यो सत्य हो ? हामीले फ्याक्टचेक गरेका छौँ।

स्नूप्सका अनुसार अप्रिल २०२० देखि नै ह्वाट्स एप र टेलिग्राममा ह्यान्ड स्यानिटाइजरको बोतल राखेका कारण कारमा आगो लागेको दावी गरिएका फोटोहरु अमेरिकामा फैलिएका थिए।

मे २१ मा त अमेरिकाको वेस्टर्न लेक्स फायर डिस्ट्रिक्ट अफ विस्कन्सिन दमकलका फेसबुक पेजमा पनि यस्तो सूचना देखिएका थिए। त्यसपछि केही मिडियामा पनि यस्तो दावीसहितका समाचार आएका थिए।

तर पछि भने युएसए टुडे, बेलायतको फूलफ्याक्टलगायतका वेबसाइटहरुले तथ्यजाँच गरी यो दावी गलत रहेको बताएका छन्।

वेस्टर्न लेक्स फायर डिस्ट्रिक्ट अफ विस्कन्सिनको फेसबुक पेजबाट पनि माफी माग्दै पुरानो स्टायटस हटाएर नयाँ राखिएको थियो

 

अमेरिकाको नेसनल फायर प्रोटेक्सन एसोसिएसनले अरु कुनै बाह्य स्रोतको झिल्को बिना आफै तात्तिएर मात्र आगो लाग्न ७ सय डिग्री फरेनहाइट तापक्रम हुनुपर्ने बताएको युएसए टुडेले लेखेको छ।

जबकि नास्टका वैज्ञानिक प्रसाइँले हिमालखबरमा गाडीको तापक्रम बढेर १०५ डिग्री फरेन हाइटसम्म मात्र पुग्ने उल्लेख गरेकी छिन्।

एसोसिएसनले राखेको एउटा भिडियोमा ह्यान्ड स्यानिटाइजरबाट कारमा आगो लाग्ने विषयमा भनिएको छ, आगलागी सुरक्षाको हिसाबले तातो गाडीमा ह्यान्ड स्यानिटाइजर छाड्नु असुरक्षित हुँदैन।

फूलफ्याक्टले डिटोलसित इथानोल आफै आगो लाग्ने (अटो इन्गिसन) हुने तापक्रम कति हो भनेर सोधेको थियो। अल्कोहलसहितको ह्यान्ड स्यानिटाइजरको मुख्य सामग्री यही इथानोल हो। यो अटो इग्निसन हुने तापक्रम ३६३ डिग्री सेल्सियस हो भनिएको छ। फरेनहाइटमा निकाल्दा यो ६८५ डिग्री फरेनहाइट हुन आउँछ। तर यसमा केही डिग्री माथि तल हुनसक्ने पनि भनिएको छ। यो भनेको कार तात्तिँदा हुने तापक्रम भन्दा धेरै माथि हो।

पार्क गरिएको कारभित्रको तापक्रम कति हुन्छ भनेर जर्नल टेम्परेचरमा प्रकाशित सन् २०१८ को एउटा अध्ययनले ९५ डिग्री बाह्य तापक्रम हुँदा ११६ डिग्री फरेनहाइटसम्म ‍‍‍‌औसत तापक्रम हुने देखाउँछ। त्यसैगरी कारका केही भाग जस्तै ड्यासबोर्डको तापक्रम बढेर १६० डिग्री फरेनहाइटसम्म पुग्ने देखाउँछ। तर पनि यो आफै आगो लाग्न चाहिने ६८५ डिग्री फरेनहाइटभन्दा निकै कम तापक्रम हो।

स्नूप्सले गर्मीको दिनमा पार्किङ गरेर राखिएको कारभित्र राखिएको ह्यान्ड स्यानिटाइजरका कारण आगो लागेको कुनै पुष्टि भएको रिपोर्ट फेला नपरेको बताएको छ।

यद्यपि, ह्यान्ड स्यानिटाइजर ज्वलनशील पदार्थ भएकोले आगोको स्रोत नजिकै नलैजान, एकदमै धेरै लिटर कारमा स्टोर नगर्न भने सुझाव दिइएको छ।

निश्कर्ष :  गाडीको तापक्रम बढेर १०५ डिग्री फरेन हाइटसम्म पुग्ने भएकोले त्यसबाट स्यानिटाइजरका कारण आगो लाग्ने जोखिम हुने नास्टका वैज्ञानिकको दावी गलत छ। बाह्य स्रोत बिना आफै स्यानिटाइजर आगो लाग्न ६ सय डिग्री फरेनहाइट भन्दा बढी तापक्रम हुनुपर्छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add