तथ्यजाँच मिथ्या सूचना

लामो दूरीका यातायात र आन्तरिक उडान असोज ५ गतेदेखि खुल्ने कि असोज १ गतेदेखि?


लामो दूरीका यातायात र आन्तरिक उडान असोज ५ गतेदेखि खुल्ने कि असोज १ गतेदेखि?

सरकारले लामो दूरीका सार्वजनिक यातायात र आन्तरिक उडान कहिलेदेखि खुला गर्ने निर्णय गरेको भन्ने विषयमा फरक फरक समाचार आएका छन्। सरकारी सञ्चार माध्यमहरु गोरखापत्र र नेपाल टेलिभिजनले असोज ५ गते खुला हुने समाचार भदौ २९ गते दिएका थिए भने भदौ ३० गतेका समाचारमा असोज १ गतेदेखि खुला हुने भनिएको छ। बीबीसी नेपाली सेवाको अनलाइनदेखि नेपालका अन्य निजी मिडियाहरुले पनि असोज ५ गतेदेखि खुला हुने समाचार दिएका थिए।


गोरखापत्रको भदौ ३० गते मंगलबारको अङ्क।

गोरखापत्रमा दुई जनाको बाइलाइनमा लेखिएको समाचारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई उद्‍धृत गरिएको छ। समाचार यस्तो छ-

सरकारले स्वास्थ्य सुरक्षाको मापदण्डसहित सार्वजनिक तथा आन्तरिक हवाई यातायात असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्डको पूर्ण पालनासाथ सार्वजनिक तथा आन्तरिक हवाई यातायात खुला गर्ने निर्णय गरेको हो । यस्तै मन्त्रिपरिषद्ले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
पूरा समाचार पढ्न यहाँ क्लिक गर्नुस्।

तर गोरखापत्रको अनलाइनमै भदौ ३० गते प्रकाशित समाचारमा आन्तरिक हवाई उडान र लामो दूरीका यातायातका साधन असोज १ गतेदेखि चल्न दिने सरकारले निर्णय गरेको उल्लेख छ।

त्यसैगरी सरकारी टिभी च्यानल नेपाल टेलिभिजनले भदौ २९ गते ‘असोज ५ गतेदेखि लामो दुरीका यातायात र आन्तरिक उडान खुला गर्ने सरकारको निर्णय’ शीर्षकको समाचार अनलाइनमा राख्यो। यहाँ क्लिक गरी हेर्नुस् समाचार।

नेपाल टेलिभिजनको समाचारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिएको उल्लेख गरिएको छ।

तर भदौ ३० गते भने नेपाल टेलिभजनको अनलाइनमा ‘यातायात र हवाइ उडान पर्सि १ गतेदेखि सञ्चालनमा आउने’ शीर्षकमा समाचार आयो।

निजी अनलाइन मिडियाहरुमा के थियो?

कान्तिपुर : असोज ५ गतेदेखि लामो दूरीको यातायात र आन्तरिक उडान खुला

समाचारमा स्रोतका रुपमा पर्यटन मन्त्री योगेश भट्टराईलाई उद्‍धृत गरिएको छ। (पत्रिकामा नाम उल्लेख छैन, अनलाइनमा मात्र नाम छ)

उज्यालो अनलाइन : लामो दुरीका यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेदेखि सञ्चालन हुने 

यो समाचारमा कसले जानकारी दिएको स्रोत उल्लेख छैन।

– अनलाइनखबर : अनलाइनखबरले भदौ २९ गते दुई वटा मितिसहित समाचार राखेको थियो। सुरुमा लामो दुरीको यातायात र आन्तरिक हवाई उडान असोज ७ गतेबाट खुला गर्ने निर्णय  शीर्षकमा समाचार थियो। यसमा  नाम उल्लेख नभएका एक मन्त्रीले जानकारी दिएको स्रोत उद्‍धृत गरिएको थियो। तर पछि फेरि उक्त समाचारलाई सम्पादन गरी  लामो दुरीको यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय  शीर्षक बनाइएको थियो।

सेतोपाटी : असोज ५ गतेदेखि हवाई उडान र सार्वजनिक यातायात सञ्चालन हुने

यसमा नाम उल्लेख नभएका एक मन्त्रीले जानकारी दिएको भनी स्रोत उल्लेख गरिएको छ।

–  नेपाललाइभ :  असोज ५ गतेदेखि हवाई उडान र सार्वजनिक यातायात संचालन गर्ने सरकारको निर्णय

नाम उल्लेख नभएका एक मन्त्रीलाई स्रोतको रुपमा प्रयोग गरिएको छ।

– पहिलोपोस्ट : लामो दूरीका सार्वजनिक यातायात र आन्तरिक हवाइ उडान असोज ५ गतेबाट चल्ने

यो समाचारमा पनि नाम उल्लेख नभएका एक मन्त्रीले जानकारी दिएको लेखिएको छ।

– र, बेलायती रेडियो बीबीसी नेपाली सेवाको अनलाइनमा पनि- नाम उल्लेख नगरी समाचारमा लेखिएको छ- कोरोनाभाइरस महामारीका कारण बन्द आन्तरिक हवाई सेवा असोज ५ गतेदेखि खोल्ने निर्णय सरकारले गरेको छ।

 

सही के हो त? असोज १ गते कि ५ गते ?

सरकारी निर्णयको आधिकारिक जानकारी सरकारका प्रवक्ताबाट आउने हो। प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिन भदौ ३० मा आयोजित पत्रकार सम्मेलनमा असोज १ गतेदेखि लामो दूरीका सवारी साधनहरु र आन्तरिक हवाई उडान खुला गरेको बताएका छन्। हेर्नुस् भिडियो

निश्कर्ष : असोज ५ गतेदेखि लामो दूरीका यातायात र आन्तरिक उडान खुला गर्ने सरकारको निर्णय भनेर सरकारी मिडियामै आएका खबर र विभिन्न निजी अनलाइन मिडियाहरुमा आएको खबर सरकारकै प्रवक्ताको भनाईबाट गलत ठहरिन्छ। यी सेवाहरु असोज ५ नभएर असोज १ गतेदेखि सञ्चालन हुन लागेको हो। 

 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add