मिथ्या सूचना

‘फिनसेन फाइल्स’ को समाचारमा कम्पनी दर्ताबारे चुकेको तथ्य


‘फिनसेन फाइल्स’ को समाचारमा कम्पनी दर्ताबारे चुकेको तथ्य



अमेरिकाको बजफिड न्युजले एक वर्षभन्दा अगाडि पहुँच पाएको ठूलो संख्याको गोप्य सरकारी कागजातहरुलाई खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था (आइसिआइजे) र ८० देशका १०० भन्दा बढी सञ्चार संस्थाहरुसित सहकार्य गरेर असोज ५ गते रिपोर्ट सार्वजनिक गर्‍यो। आइसिआइजेमार्फत् नेपालको खोज पत्रकारिता केन्द्र (सिआइजे) पनि यसमा जोडियो। कृष्ण आचार्य, रामु सापकोटा र शिव गाउँलेले यसबारे तयार पारेको रिपोर्ट आजको कान्तिपुर दैनिक लगायत विभिन्न अनलाइन मिडियाहरुमा पनि प्रकाशन भयो।

कान्तिपुरको असोज ५, २०७७ पहिलो पेजमा मुख्य समाचारका रुपमा छापिएको ‘फिनसेन फाइल्सको नेपाल नाता : ११ वर्षमा ३४ अर्ब ८४ करोडको शंकास्पद कारोबार‘ शीर्षकको समाचारमा ‘दर्ता नै नभएको कम्पनीले ल्यायो पैसा’ उपशीर्षक रहेको छ। त्यसमा लेखिएको छ-

‘ट्याक्स हेवन’ मुलुक ब्रिटिस भर्जिन आइल्यान्ड्स टोरटोलाको एंग्लोट्रोन इंक कम्पनीको खाताबाट १० डिसेम्बर २०१३ मा एक लाख अमेरिकी डलर (रु. १ करोड १९ लाख) नेपालमा पठाइएको पनि फिनसेनको विवरणमा देखिन्छ । सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय निकाय वित्तीय कारबाही कार्यदल (एफएटीएफ) ले ब्रिटिस भर्जिन आइल्यान्ड्सलाई अपारदर्शी कारोबारका हिसाबले उच्च जोखिमयुक्त मुलुकको सूचीमा राखेको छ।

फिनसेनका अनुसार फ्र्यांकफर्टको कमर्ज बैंक एजीले न्युयोर्कको स्ट्यान्डर्ड चार्टर्ड बैंकमा सो रकम पठाएको थियो । न्युयोर्कबाट काठमाडौंको ठमेलस्थित सेतीदेवी एक्सपोर्ट इम्पोर्ट प्रालिका नाममा एभरेस्ट बैंक नयाँ बानेश्वरबाट उक्त रकम प्राप्त भएको देखिन्छ । ५ फेब्रअरी २०१४ मा ६५ हजार अमेरिकी डलर (रु. ७७ लाख ३५ हजार) र १४ अगस्ट २०१४ मा १ लाख २० हजार अमेरिकी डलर (रु. १ करोड ४२ लाख ८० हजार) रकम सोही प्रक्रियाबाट सेतीदेवी एक्सपोर्ट इम्पोर्टले प्राप्त गरेको फिनसेनले उल्लेख गरेको छ।

सेतीदेवीले तीन पटक प्राप्त गरेको उक्त रकम ‘टेक्सटायल निर्यात’ बापतको रकम भएको जनाइएको छ। फिनसेनले यसलाई पनि शंकास्पद कारोबारको सूचीमा राखेको छ । नेपालको कम्पनी रजिस्ट्रारको कार्यालयमा सेतीदेवी एक्सपोर्ट–इम्पोर्ट प्रालि दर्ता भएको रेकर्ड भेटिएन।


त्यसैगरी मूल रिपोर्ट तयार पारेको सिआइजेले पनि ‘सेतीदेवी’ लाई एभरेष्टको सहयोग उपशीर्षकमा यस्तो लेखेको छ-

‘ट्याक्स हेवन’ मुलुक ब्रिटिश भर्जिन आइल्याण्डस् टोरटोलाको एंग्लोट्रोन इंक कम्पनीको खाताबाट १० डिसेम्बर २०१३ मा एक लाख अमेरिकी डलर (रु.१ करोड १९ लाख) नेपालमा ‘ट्रान्सफर’ भएको देखिन्छ ।

‘फिनसेन’ का अनुसार, जर्मन फ्यांकफर्टको ‘कमर्ज बैंक एजी’ ले न्यूयोर्कको स्ट्यान्डर्ड चार्टर्ड बैंकमा सो रकम पठाएको थियो । न्यूयोर्कबाट काठमाडौंको ठमेलस्थित सेतीदेवी एक्सपोर्ट इम्पोर्ट प्रालिको नाममा एभरेष्ट बैंक, नयाँबानेश्वरबाट उक्त रकम प्राप्त भएको देखिन्छ ।

५ फेब्रअरी २०१४ मा ६५ हजार अमेरिकी डलर (रु.७७ लाख ३५ हजार) र १४ अगष्ट २०१४ मा १ लाख २० हजार अमेरिकी डलर (रु.१ करोड ४२ लाख ८० हजार) रकम सोही प्रक्रियाबाट सेतीदेवी एक्सपोर्ट इम्पोर्ट प्रालिले प्राप्त गरेको ‘फिनसेन’ ले उल्लेख गरेको छ ।

सेतीदेवीले तीन पटक प्राप्त गरेको उक्त रकम ‘टेक्सटायल निर्यात’ वापतको रकम भएको जनाइएको छ । ‘फिनसेन’ ले यसलाई शंकास्पद कारोबारको सूचीमा राखेको छ । नेपालको कम्पनी रजिष्ट्रारको कार्यालयमा सेतीदेवी एक्सपोर्ट–इम्पोर्ट प्रालि दर्ता भएको रेकर्ड भेटिएन ।

 

के साँच्चै नेपालको कम्पनी रजिस्ट्रार कार्यालयमा सेतीदेवी दर्ता छैन?


सेतीदेवी एक्सपोर्ट-इम्पोर्ट प्रालिका म्यानेजिङ डाइरेक्टर माधवप्रसाद पाण्डेले आफ्नो कम्पनी दर्ता रहेको दावी गर्दै कम्पनी दर्ताको प्रमाणपत्र पठाएका छन्-


यो दर्ता प्रमाणपत्र अनुसार २०६३ साल कात्तिक २४ गते शुक्रबार यो कम्पनी दर्ता भएको रहेछ। यसको दर्ता नम्बर ४२३०८/०६३-६४ रहेछ।

 नेपालको कम्पनी रजिस्ट्रारको कार्यालयको वेबसाइटमा गएर सर्च गर्दा  setidevi शब्द हालेर सर्च गर्दा ३३ वटा रिजल्ट भेटिन्छ, तर सेतीदेवी एक्सपोर्ट इम्पोर्ट नामको कुनै कम्पनी भेटिँदैन।



तर सेती र देवीलाई छुट्याएर seti devi टाइप गरेर सर्च गर्दा यो पेज देखिन्छ-



यसमा भएको दर्ता नम्बर ४२३०८ , दर्ता मिति २०६३/७/२४  पाण्डेले पठाएको प्रमाणपत्रको हुबहु मिल्छ।

तसर्थ सिआइजे नेपालको रिपोर्ट र त्यसलाई आफ्नो मिडियामा प्रकाशन गरेका कान्तिपुर, अनलाइनखबर, शिलापत्र, पहिलोपोस्ट लगायतका मिडियामा प्रकाशित ‘नेपालको कम्पनी रजिष्ट्रारको कार्यालयमा सेतीदेवी एक्सपोर्ट–इम्पोर्ट प्रालि दर्ता भएको रेकर्ड भेटिएन’ भनेर गरिएको दावी गलत ठहर्छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add