तथ्यजाँच मिथ्या सूचना

प्रति दिन पिसिआर टेस्ट कति? प्रधानमन्त्री र मिडिया दुवैको दावी गलत


प्रति दिन पिसिआर टेस्ट कति? प्रधानमन्त्री र मिडिया दुवैको दावी गलत


प्रधानमन्त्री केपी शर्मा ओलीसँग ऋषि धमलाले लिएको २०२० अगस्त २९ शनिबार प्रसारण भएको अन्तर्वार्तामा कोरोना संक्रमित भएको नभएको पत्ता लगाउन दैनिक २३/२३ हजार पिसिआर टेस्ट गरिएको दावी गरे। १ घण्टा ४६ मिनेट लामो अन्तर्वार्तामा उनले दुई ठाउँमा यस्तो दावी गरेका छन्। सुरुमा उनले भनेका छन्, ‘तयारी केही पनि नभएको ठाउँमा अहिले हामी २३/२४ हजार पिसिआर टेस्ट प्रतिदिन गर्छौँ। त्यो सानो कुरा होइन।’ त्यसैगरी उनले पछि दिनमा २३ हजार पिसिआर टेस्ट गरेको दावी दोहोर्‍याएका छन्।

प्रधानमन्त्रीको दावी बारे समाचार प्रकाशन गरेको अनलाइन मिडिया पहिलोपोस्टले ‘हालसम्म सरकारले दैनिक २३ हजार परीक्षण गरेको छैन। सरकारी तथ्याङ्क अनुसार दैनिक ११ हजारको आँकडा समेत परीक्षणले छुन सकेको छैन’ लेखेको छ।

के यो सही हो? हामीले तथ्यजाँच गरेका छौँ।

प्रधानमन्त्रीले भने अनुसार नेपालमा कोभिड १९ परीक्षणको केही तयारी नभएको साँचो हो।

नेपालको पहिलो कोभिड-१९ संक्रमणको पुष्टि गर्न ३२ वर्षीय पुरुषको थ्रोट स्वाब हङकङस्थित डब्लुएचओको ल्याबमा पठाउनु परेको थियो। अहिले सरकारी ३४ र निजी १२ गरी कूल ४६ वटा प्रयोगशालामा पिसिआर परीक्षण गर्न सकिन्छ।

दैनिक कति पिसिआर परीक्षण गरियो भन्ने बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक सिचुएसन रिपोर्ट सार्वजनिक गर्ने गरेको छ। जनवरी २८ देखि मन्त्रालयले नियमित सिचुएसन रिपोर्ट तयार पार्ने गरेको छ। यस्तो रिपोर्ट भाइबर ४ लाख ६० हजार भन्दा बढी जोडिएको मन्त्रालयको भाइबर ग्रुपमा पनि दैनिक अपडेट हुने गरेको छ।

त्यसमा उपलब्ध अगस्त महिनाको पिसिआर रिपोर्टको तथ्याङ्क यस्तो छ-

यसमा देखिएको तथ्याङ्क अनुसार दैनिक २३ हजार त के, २० हजार पनि परीक्षण अहिलेसम्म भएकै छैन। नेपालमा अहिलेसम्म सबैभन्दा बढी पिसिआर परीक्षण भएको २१ अगस्तका दिन हो। यो दिन १३ हजार ६७९ परीक्षण भएका थिए। १३ हजारभन्दा बढी परीक्षण मात्रै पनि जम्मा तीन दिन भएको छ।

पिसिआर परीक्षण संख्या पाँच अङ्कमा अर्थात् १० हजार नाघ्न थालेको ११ अगस्तदेखि मात्रै हो। तर यो बीचमा पनि १३ अगस्त र २३ अगस्त गरी दुई दिन भने १० हजारभन्दा कम परीक्षण भएका छन्।

निश्कर्ष : दैनिक २३/२४ हजार पिसिआर परीक्षण हुने प्रधानमन्त्रीको दावी र दैनिक ११ हजारको आँकडासमेत परीक्षणले छुन नसकेको मिडियाको दावी दुवै गलत हो। अगस्त ३० सम्ममा सबैभन्दा बढी भएको परीक्षणको संख्या १३ हजार ६७९ मात्रै हो। अगस्त महिनाको मात्र औसत हेर्ने हो भने प्रति दिन १० हजार वटा पिसिआर परीक्षण भएका छन्। तर दैनिक ११ हजारको आँकडा नै नछोएको मिडियाको दावी पनि गलत छ। अगस्त महिनाका १४ वटा दिनको आँकडाले ११ हजारको संख्या नाघेको छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add