तथ्यजाँच मिथ्या सूचना

के मास्क लगाउँदा तपाईँको अक्सिजन लेभल घट्छ?


के मास्क लगाउँदा तपाईँको अक्सिजन लेभल घट्छ?

मास्क लगाउँदा शरीरमा अक्सिजन कम हुने लगायतका दावीहरु गरिएका पोस्टहरु अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन्। त्यसमा गरिएको दावी अनुसार मास्क लगाउन हुन्न। मास्क लगातार लगाउनु विष पिउनु सरह हो। के हो यसको तथ्य? हामीले फ्याक्टचेक गरेका छौँ। 

हेल्पमी नामको यो फेसबुक पेजबाट मास्क लगाउन नहुने दावी गरिएको यो पोस्ट एक हजार चार सय पटक सेयर भएको छ।  यस्तै दावीहरु कपिपेस्ट गरेर  फेसबुकमा थुप्रै पोस्टहरु र ट्विटरमा पनि ट्विटहरु देखिन्छन्।

मास्कबारे यस्ता थुप्रै हल्लाहरुलाई डाक्टरहरुले सोसल मिडियामा र विश्वसनीय मिडियाहरुले पनि गलत भएको प्रष्ट्याइसकेका छन्।

नेपालमा मात्र नभई अन्य विकसित देशहरुमा पनि मास्कबारे यस्ता हल्ला फैलिएका छन्। आयरल्यान्डमा सार्वजनिक स्थलमा मास्क लगाउन अनिवार्य गरिएपछि त्यहाँ पनि मास्क लगाएपछि अक्सिजन लेभल घट्ने र यसले दिमाग बिगार्नेसम्म हुनसक्ने हल्ला फैलाइएका थिए। त्यहाँका एक चिकित्सक माइटियु ओ टुआथाइलले ट्विटरमा ६/६ वटा मास्क लगाए पनि अक्सिजन लेभल नघटेको प्रयोगै गरेर देखाएको भिडियो राखेका छन्।

नेपालमा यस्तो हल्ला फैलाउने मध्येका एक जागृत रायमाझीले लेखेका छन्-

उनले अक्सिमिटरको बारेमा लेखे पनि प्रयोग गरेर भने देखाएका छैनन्। तर अक्सिजन कम हुने हल्ला फैलिएपछि थुप्रै डाक्टरहरुले प्रयोग गरेर देखाएका फोटो र भिडियोहरु सामाजिक सञ्जालमा भेटिन्छन्।

दुई महिना अघि जुन २३ तारिखमा साउथ क्यारोलिनाका डाक्टर मेगन हलले मास्क नलगाउँदा, सर्जिकल मास्क लगाउँदा, एन ९५ मास्क लगाउँदा र एन ९५ र सर्जिकल मास्क लगाउँदा अक्सिजनको स्थिति देखिने गरी फोटो राखेकी थिइन्।

बेलायतको नेसनल हेल्थ सर्भिसका सर्जिकल डाक्टर जोसुआ उलरिचले मास्क लगाउँदा र नलगाउँदाको अक्सिजन लेभल देखाउँदै भनेका छन्- यस्तो मेडिकल्ली गलत कुरा गर्नेहरुका कुरा नपत्याउनुस्। मास्कले तपाईँको अक्सिजन घटाउने क्षमता राख्दैन।

मेडिकल अन्कोलोजिस्ट मार्क लेविसले सर्जिक मास्कको पूरा प्याकेट नै लगाएर अक्सिजन लेभल देखाएका छन्-

अरु थुप्रै डाक्टरहरुले पनि ट्विटरमा यस्तो प्रयोग गरी देखाएका छन्।

 

अमेरिकन लङ एसोसिएसनले मास्क श्वास प्रश्वास गर्न मिल्ने डिजाइन गरी बनाइएको हुने र अक्सिजनको स्तर घट्ने बारे कुनै प्रमाण नभएको बताएको छ। मिसिगनस्थित स्पेक्ट्रम हेल्थमा संक्रामक रोग विशेषज्ञ डा. लियाम सुल्लिभानले मास्क खतरनाक हुने भएको भए अपरेटिङ रुमका नर्सहरु र डाक्टरहरु बिरामी हुने धेरै केसहरु हुनुपर्ने बताउँछन्। 

बीबीसीले यस्ता चार वटा हल्लालाई रियालिटी चेकमार्फत् गलत ठहर गरेको छ। त्यसैगरी फ्याक्टचेक डट ओआरजीले पनि मास्क र अक्सिजन लेभलको हल्लाबारे फ्याक्टचेक गरेको छ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार राम्रोसँग लगाउने हो भने लामो समय मेडिकल मास्क लगाउँदा अक्सिजन कम हुने वा कार्बन डाइअक्साइडको विष लाग्ने हुँदैन।

मास्क लगाएपछि श्वास फेर्दा मास्कमा जम्मा भएको कार्बनडाइअक्साइड फेरि शरीरमा गएर हानी हुने कुरा पनि प्रमाणित तथ्य होइन। बीबीसीले संक्रामक रोग विशेषज्ञ प्रोफेसर केइथ निललाई उद्धृत गरे अनुसार सामान्यतया त्यसो हुँदैन। एयर टाइट फिट भएर आफैले फेरेको श्वास नै फेरि लिनुपर्ने अवस्थामा मात्र फेरेको श्वास फेरि भित्र जाने हो। कार्बन डाइअक्साइडको मोलेकुलस कोरोना भाइरस हुने छिटाभन्दा  धेरै सानो हुने भएकोले मास्कका प्वालहरुबाट बाहिर जान्छ। त्यसैले श्वास फेर्दा कार्बन डाइअक्साइड पनि बाहिर जान्छ।

मास्कबाट ब्याक्टेरियल इन्फेक्सन हुने कुराको पनि विज्ञहरुले प्रमाण नभएको भन्दै खण्डन गरेका छन्।  कपडाको मास्क भए धोएर लगाउन र सर्जिकल डिस्पोजेबल मास्क भए फोहर भएपछि नयाँ लगायन विज्ञहरुको सुझाव छ।

मास्कले छिट्टै फोक्सो रोगी बनाउने र मुटु लगायतका बिरामीलाई कठिन बनाउने दावी पनि भ्रामक छन्।  दम वा COPD (chronic obstructive pulmonary disease) रोग भएकाहरुको अक्सिजन लेभल नियमित रुपमा ९२ प्रतिशतको हाराहारीमा हुने तर मास्क लगाए पनि सामान्य भन्दा लेभल कम नहुने डाक्टर माइटियु ओ टुआथाइलको दावी छ। यद्यपि उनीहरुलाई मास्क लगाउँदा असुविधा हुन्छ। तर राम्रो फिट हुने मास्क लगाउँदा फरक हुनसक्ने उनको सुझाव छ।

अमेरिकन लङ एसोसिएसनले पनि फोक्सोको समस्या भएकाहरुले मास्क लगाउने सम्बन्धमा आफ्ना स्वास्थ्यकर्मीहरुसँग छलफल गर्न सुझाएको छ

विश्व स्वास्थ्य संगठनले एक्सरसाइज गर्दा भने मास्क नलगाउन सुझाव दिएको छ।

निश्कर्ष : मास्क लगाउँदा अक्सिजन लेभल घट्ने र पल्स रेट बढ्ने, कार्बन डाइअक्साइड फेरि शरीरभित्र जाने लगायतका दावी गरी सामाजिक सञ्जालमा चलाइएका हल्ला गलत हुन्। अक्सिजन लेभल र पल्स रेटमा मास्कले असर नपर्ने प्रयोगात्मक रुपमा पनि डाक्टरहरुले देखाएका छन्।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add