तथ्यजाँच मिथ्या सूचना

कुलमान घिसिङलाई सरकारले पुनः नियुक्त गरेको समाचार गलत


कुलमान घिसिङलाई सरकारले पुनः नियुक्त गरेको समाचार गलत


नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई सरकारले चार वर्षका लागि पुनः नियुक्त गरेको खबर मंगलबार साँझ भाइरल भयो। सोसल मिडियामा धेरैले उनलाई बधाई दिए। सोसल मिडियामात्र हैन, केही अनलाइन मिडियाले समेत कुलमानलाई पुनः नियुक्त गरिसकेको समाचार दिए। सर्वसाधारणले मात्र होइन, पत्रकारहरुले समेत यो समाचार आफ्नो सोसल मिडियामा लेखे। यी सबै समाचार मिथ्या थिए। ऊर्जा मन्त्रीले नै कुलमानलाई निरन्तरता दिने प्रस्ताव मन्त्रिपरिषद‍मा नलगिएको बताएका छन्

यसरी फैलियो फेक न्युज

माउन्टेन टेलिभिजनले आफ्नो वेबसाइटमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई निरन्तरता दिने निर्णय गरेको ठोकुवा गरेको छ। समाचारमा कसैलाई उद्‍धृत भने गरिएको छैन। हेर्नुस् अर्काइभ लिङ्क। 

त्यसैगरी शिलापत्रले पनि विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई निरन्तरता शीर्षकमा मन्त्रिपरिषद्को बैठकले निर्णय गरिसकेको समाचार लेखेको छ। हेर्नुस् अर्काइभ लिङ्क

न्युज कारोबार अनलाइनमा पनि विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई नै निरन्तरता दिने सरकारको निर्णय शीर्षकमा समाचार राखियो। समाचारमा मंगलबारको मन्त्रिपरिषद बैठकले आगामी चार वर्षका लागि घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: नियुक्ति दिने निर्णय गरेकाे उर्जा मन्त्रालय स्रोतले जनाएकाे उल्लेख गरिएको छ। हेर्नुस् अर्काइभ लिङ्क

त्यस्तै नेपाल समाचारपत्रको अनलाइन न्युजअफनेपालले पनि कुलमान घिसिङ बिद्युत प्राधिकरणको सिईओमा पुन: नियुक्त ! शीर्षकमा समाचार प्रकाशन गरेको छ। हेर्नुस् अर्काइभ लिङ्क

साँघुले पनि विद्युत् प्राधिकरणमा दोहोरिए कुलमान शीर्षकमा यो समाचार राख्यो। हेर्नुस् अर्काइभ लिङ्क।

अरु थुप्रै अनलाइनहरुमा पनि यही शीर्षकमा समाचार आए। केही उदाहरण-

केही अनलाइनहरुले भने सुरुमा गलत समाचार राखे पनि पछि सच्याए। उदाहरणका लागि हाम्राकुराले सुरुमा ‘विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नै’ शीर्षकमा समाचार राखे पनि पछि त्यसलाई परिवर्तन गर्दै ‘विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै बनाउन नागरिक दवाव’ बनायो।

मिडियामात्र होइन पत्रकारहरु पनि मिथ्या समाचार फैलाउनमा सहयोगी देखिए।

कान्तिपुर टेलिभिजनमा कार्यरत श्रद्धा अर्यालले ‘आज बसेको मन्त्री परिषद बैठकले कुलमान घिसिङ लाई नै बिद्युत प्राधिकरणको प्रमुख पदमा निरन्तरता दिने निर्णय गरेको छ’ ट्विट गरिन्।

हेर्नुस् अर्काइभ लिङ्क

त्यसैगरी थाहाखबरका पत्रकार सन्तोष अधिकारीले पनि ‘कुलमान घिसिङलाइ पुन विद्युत प्राधिकरण प्रमुखमा नियुक्ति गर्ने निर्णय सरकारले गरेकाे छ’ ट्विट गरे।

हेर्नुस् अर्काइभ लिङ्क

कान्तिपुर टिभीमा ह्वाट द फ्लप सो चलाउने सन्दीप क्षेत्रीले पनि फेसबुकमा यस्तो लेखे-

पत्रकार मात्र हैन जनप्रतिनिधिले पनि यस्तै लेखे। बाँके क्षेत्र नम्बर ३, प्रदेश कबाट सत्तारुढ दलबाट निर्वाचित प्रदेश सांसद आइपि खरेलले ‘कुलमानको कार्यकाल थप गरेकोमा सरकार र नेकपालाइ धन्यवाद’ दिएर ट्विट गरे।

हल्लाको स्रोत के होला?

बुटवलको सामुदायिक बुद्ध टेलिभिजनले कुलमान घिसिङको समाचार दीपकराज गिरीको फेसबुकबाट साभार गरिएको भन्दै समाचारमा त्रुटि भएकोमा क्षमा मागेको स्टायटस फेसबुकमा राखेको थियो।

कलाकार दीपकराज गिरीले मंगलबार ५ बजेर ४३ मिनेटमा यस्तो स्टायटस राखेका थिए, जसलाई हेरेर धेरै झुक्किएका थिए-

गिरीले आफ्नो स्टायटस एक पटक एडिट गरेको देखिन्छ। सुरुमा ‘सरकारले यस्तै समाचार प्रेषित गरेर जनताकै पक्षमा उभिनुको विकल्प छैन’ लेखिएकोमा पछि उनले त्यसलाई सम्पादन गरेर ‘सरकारसँग यस्तै आशयको समाचार प्रेषित गरेर’ लेखी सच्याएका छन्।

गिरीको स्टायटस राति ८ बजेसम्म ५ सय ७४ पटक सेयर भइसकेको थियो भने कमेन्ट एक हजार नाघिसकेको थियो।

आफ्नो स्टायटसका कारण भ्रम फैलिएको देखेपछि गिरीले आफ्नो सोही पोस्टमा यस्तो कमेन्ट गरेका थिए-

 

सामाजिक सञ्जालमा कुलमान घिसिङको नाममा खोलिएका फेक ह्यान्डलले पनि भ्रम फैलाउन सघाएका थिए। जस्तै ट्विटरमा यो ह्यान्डल

 

निश्कर्ष : मन्त्रिपरिषद्को बैठकले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गरिसकेको छैन। २०७३ भदौ २९ गते उनको नियुक्ति भएको हुनाले उनको कार्यकाल अझै केही दिन बाँकी नै छ।  रातोपाटीले ऊर्जामन्त्री वर्षमान पुनसित कुरा गर्दै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिनेबारे मन्त्रालयबाट हालसम्म कुनै प्रस्ताव लगिनसकेको उद्‍धृत गरेको छ।  मन्त्रिपरिषद्ले कुलमानलाई नियुक्त गरेको आधिकारिक सूचना कतैबाट नआए पनि बिना स्रोत मिडियामा मिथ्या समाचार आएको देखिन्छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add