तथ्यजाँच मिथ्या सूचना

भारतमा केश मुण्डन गराइएका व्यक्ति नेपाली हुन् कि भारतीय ?


भारतमा केश मुण्डन गराइएका व्यक्ति नेपाली हुन् कि भारतीय ?


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र बनारसमा केश मुण्डन गराई नेपाली प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्न लगाइएका व्यक्ति सुरुमा नेपाली हुन् भन्ने खबर भारतीय र नेपाली मिडियामा आयो। तर शनिबार फेरि ती व्यक्ति नेपाली नभई भारतीय नागरिक नै भएको खबर आयो। सत्य के हो त?

यो भिडियो भारतमा सोसल मिडियाबाट भाइरल भएको हो। सोसल मिडियाबाटै भारतीय मिडियामा सबैभन्दा पहिला ती व्यक्ति नेपाली रहेको भनी खबर आएका हुन्। भारतीय मिडियाबाटै साभार गरेर नेपाली मिडियाले पनि ती व्यक्ति नेपाली नागरिक भएको खबर राखेका हुन्।

वाराणसी पुलिसले यो विषयमा शुक्रबारदेखि नै अनुसन्धान थालेको थियो। सबैभन्दा पहिला प्रहरीले शुक्रबार सन्तोष पाण्डेयलाई पक्राउ गर्‍यो। उनको मोबाइलमा सोसल मिडियामा भाइरल भएको भिडियो भेटिएको थियो। भिडियो बारे थप छानबिन गर्ने क्रममा शुक्रबार रातिसम्म प्रहरीले चार जनालाई पक्राउ गरेको बताएको थियो।

शनिबार साँझ वाराणसी प्रहरीले यो प्रकरणमा अहिलेसम्म ६ जना पक्राउ परिसकेको बताउँदै भिडियोमा देखिएका (मुण्डन गरिएका) व्यक्ति भारतीय नागरिक भएको आधिकारिक रुपमा पुष्टि गरेको थियो। प्रहरीका अनुसार ती व्यक्तिको जन्म वाराणसीमा नै भएको र परिवारका सदस्यहरु सरकारी सेवामा कार्यरत छन्।

टाइम्स अफ इन्डियाका पत्रकार राजेश कुमार झाले उत्तर प्रदेश प्रहरीको विज्ञप्ति ट्विट गरेका छन् जसमा कपाल खौराइएका व्यक्तिको पूर्वज समेत नेपालमा रहेको जानकारी नभएको उल्लेख छ। घाटमा गएर कपाल बनाए १ हजार रुपैयाँ दिन्छु भनेकोले उनी गएको त्यसमा उल्लेख छ।

निश्कर्ष : भारतीय प्रहरीले अनुसन्धान गरेर कपाल खौराइएका व्यक्ति भारतीय नागरिक रहेको र उनको पूर्वजसमेत नेपालमा रहेको जानकारी नरहेको विज्ञप्ति आधिकारिक रुपमा प्रकाशित गरेका कारण ती व्यक्ति नेपाली नागरिक नभएको पुष्टि भएको छ। नेपाली नागरिक दावी गरी सोसल मिडियामा फैलाइएका भिडियो र आएका समाचार मिथ्या हुन्।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add