तथ्यजाँच भ्रामक सूचना

के प्रम ओलीले भने जस्तै स्वीडेनका राजा साइकलमा हिँड्छन्?


के प्रम ओलीले भने जस्तै स्वीडेनका राजा साइकलमा हिँड्छन्?

प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीको जन्मजयन्तीमा आइतबार बालुवाटारमा भएको कार्यक्रममा राष्ट्रपतिले महँगो गाडी चढ्यो भनेर भइरहेको आलोचनाको जवाफ दिए। यस क्रममा उनले ‘मदन भण्डारीकी धर्मपत्नीलाई साइकल चलाउन जान्नु हुन्न’ मात्र भनेनन्, उच्च पदस्थहरु साइकलमा नहिँड्ने बताए। यसै क्रममा उनले भने, ‘राष्ट्रपति साइकलमा हिँड्दैनन्। हो, स्वीडेनका राजा साइकलमा हिँड्छन्। बडो चर्चा छ। मैले पनि कहिले कहिले गर्छु चर्चा। …दरबार नजिकैको रेलवे स्टेसनमा कहिले-कहिले उनी साइकल लिएर जान्छन्।’

उनको यही भनाईलाई उद्‍धृत गर्दै थुप्रै मिडियामा समाचार आए।

तर प्रधानमन्त्री ओलीको यो दावी गलत छ। स्वीडेनका राजाले साइकल चढेको चर्चा उनले भने जसरी भएको देखिन्न।

सेतोपाटीको यो भिडियोमा प्रधानमन्त्रीले स्वीडेनका राजाबारे गरेको दावी सुन्न सकिन्छ।

यो फोटो स्वीडेनका राजा कार्ल गुस्ताफको हो। आफ्नो ७४ औँ जन्मदिन अगाडि यो फोटो उनको इन्स्टाग्रामबाट सार्वजनिक गरिएको हो। ४७ वर्षदेखि उनी यहाँको गद्दीमा छन्।

यी राजा स्वीडेनको राजपरिवारका अरु सदस्य जस्तै गाडीमा निकै रुचि राख्ने हुन्। उनीसित Porsche 911 का कयौँ मोडल रहेको स्वीडिश मिडियामा समाचार छ। उनीसित Volvo PV444, Ferrari 456M GT, AC Cobra र अरु थुप्रै कारहरु रहेको यो मिडियाले लेखेको छ।

प्रधानमन्त्री ओलीले भने जस्तो स्वीडेनका राजा साइकलमा हिँडेको बडो चर्चा भएको भेटिन्न, न उनले भने जस्तै ‘दरबार नजिकैको रेलवे स्टेसनमा कहिले-कहिले उनी साइकल लिएर गएको’ समाचार नै देख्न पाइन्छ।

बाइसाइकल मोनार्की वा बाइसाइक्लिङ मोनार्की शब्द चाहिँ स्क्यान्डिनेभिया र लो कन्ट्रीका राजपरिवारहरु अझ विशेष गरी नेदरल्यान्ड्सको राजपरिवारलाई जनाउने बेलायती शब्द हो।

संयुक्त राष्ट्र संघमा नेदरल्यान्ड्सका स्थायी प्रतिनिधिले गरेको यो ट्विटमा नेदरल्यान्ड्सका राजपरिवारको साइकल मोह देख्न सकिन्छ।

महारानी बिट्रिक्सको त साइकल चलाउँदै गरेको शालिक पनि छ। फोटो : बाइसाइकलडच

त्यसैगरी बाइसाइक्लिङ मोनार्की शब्द प्रयोग हुने अर्को देश भने डेनमार्क हो। दोस्रो विश्वयुद्धका क्रममा डेनमार्कमा नाजीहरुले आधिपत्य जमाउँदा डेनिस जनताप्रति ऐक्यवद्धता जनाउन भावी राजा फ्रेडरिक नवम् र उनकी पत्नी इन्ग्रिडले कोपनहेगन वरपर साइकल यात्रा गरेका थिए।

स्वीडेनका राजाले साइकल चलाएको गलत उदाहरण दिए पनि स्वीडेन नेताहरुले सामान्य जीवनयापन गर्ने मामिलामा भने उदाहरण नै हो। भ्रष्टाचार कम हुने देशमध्येमा पर्ने यो देशका नेताहरु बारे Sweden – The Untold Story पुस्तक लेखेका क्लाउडिया वालिनको यो लेखमा त्यहाँका मन्त्री र सांसदहरु सामान्य जनता जस्तै भिडभाड हुने बस र रेलमा चढ्ने, सांसद भएकै कारण केहीमा छुट नहुने, निजी सचिव नहुने, ट्याक्सी चढ्ने नेताको बारेमा समाचार बन्ने, सभामुखले समेत सार्वजनिक सवारी साधन चढ्ने र प्रधानमन्त्रीले मात्रै स्थायी रुपमा कार चढ्ने अधिकार पाउने लेखिएको छ।

यो पुस्तकको कभरमै साइकल चलाइरहेका एक पुरुषको फोटो छ।

तर यो फोटो स्वीडेनका राजाको नभएर पूर्व प्रधानमन्त्री Carl Bildt को हो।

राष्ट्रपतिको महँगो गाडीको बचाउमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले स्वीडेनको उदाहरण दिँदा त्यहाँका राजाबारे गलत उदाहरण मात्रै दिएनन्, त्यहाँका नेताहरुको सादा जीवनशैलीबारे पनि भन्न भुले। उनको यो अभिव्यक्ति भ्रामक छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add