तथ्यजाँच मिथ्या सूचना

के हो सांसद किन्न ९३ करोड पठाएको पाँच वर्ष पुरानो समाचारको वास्तविकता


के हो सांसद किन्न ९३ करोड पठाएको पाँच वर्ष पुरानो समाचारको वास्तविकता

सामाजिक सञ्जालमा पाँच वर्ष पुरानो एउटा समाचार अहिले फेरि भाइरल हुन थालेको छ। फेसबुकका विभिन्न ग्रुप र विभिन्न व्यक्तिहरुले सांसद किन्न दिल्लीले एसबीआई बैँकमार्फत् ९३ करोड भारु पठाएको खुलासा शीर्षकको समाचार सेयर गरिरहेका छन्। संविधान जारी भइसकेपछि सरकार परिवर्तन हुन लागेको बेलामा आएको यो समाचार अहिले एक्कासी फेरि फैलिएको हो। जबकि यो समाचार त्यतिबेला नै गलत भएको पुष्टि भइसकेको थियो। त्यतिबेला यो समाचार थुप्रै अनलाइनहरुमा आएका थिए।

अहिले फेरि केही फेसबुक ग्रुपहरुमा यो समाचारको लिङ्क भाइरल भएका छन्।

यो ग्रुपमा यो समाचार विगत केही दिनमा १८८ पटक सेयर भएको छ।

त्यसैगरी यो पेजमा पनि ३४४ पटक सेयर भएको छ। अरु विभिन्न फेसबुक ग्रुपहरुमा पनि यो समाचार सयौँको संख्यामा सेयर भएका छन्।

माइसंसारले  अक्टोबर १२, २०१५ मा नै यो समाचारको फ्याक्टचेक गरेको थियो।

त्यतिबेला प्रधानमन्त्री निर्वाचनको पूर्वसन्ध्यामा एक्कासी हल्ला चलेको थियो- ‘चेन्नाइबाट नेपालस्थित भारतीय दूतावासको कर्मचारी Turai murugan को नाममा SBI बैङ्कको A/C number 77008903617 मार्फत ९३ करोड भारु ट्रान्स्फर भएको जानकारी भर्खरै प्राप्त भएको छ।’ यो हल्ला सुरु भयो र फैलियो सोसल मिडियामा। सत्य तथ्य के हो बुझ्दै नबुझी ट्विटर र फेसबुकमा रिट्विट र सेयर हुँदै धेरै जनासम्म पुग्यो यो कुरा। सोसल मिडियामा सुरु भएको यो हल्लालाई अनलाइनहरुले स्रोतको हवाला दिँदै समाचार दिएपछि त झन् के चाहियो र। हुँदाहुँदा एबिसी टेलिभिजनले ब्रेकिङ न्युजसमेत यही समाचारमा ठोक्यो र भोलिपल्टसम्म मुख्य हेडलाइन यही बजाइरहेको थियो। बैँकिङ बारे अलिकति पनि जानकारी भएको मान्छेलाई यो फगत हल्ला हो भन्ने थाहा पाउन कुनै गाह्रो थिएन।

१ : भारतीय दूतावासको कर्मचारीको नामै गलत
हल्लामा ‘चेन्नाइबाट नेपालस्थित भारतीय दूतावासको कर्मचारी Turai murugan को नाममा’ रकम आएको भनिएको छ। तर भारतीय दूतावासमा यो नामको कर्मचारी नै छैनन्। समाचार छाप्ने कसैले पनि यो कर्मचारी छ भनेर पुष्टि गर्न सकेका छैनन्। हो, नाम चैँ साउथ इन्डियनै हो। Turai हैन Durai murugan नामका एक नेता तमिलनाडुमा छन्।

२ : बैँक खाता नम्बर नै गलत
हल्लामा SBI बैङ्कको A/C number 77008903617 मा ९३ करोड भारु ट्रान्सफर भएको भनिएको छ। यो एकाउन्ट नम्बर नै गलत छ। एसबिआई बैँकको खाता नम्बर १४ अङ्कको हुने गर्छ। यो चाहिँ ११ अङ्कको छ।

३ : कहाँबाट ट्रान्सफर भयो?
बैँक र खाता नम्बर नै थाहा हुने महानुभावलाई त्यो रकम कताबाट ट्रान्सफर भयो पनि थाहा हुनै पर्ने हो। पठाउने र पाउनेको डिटेल त्यसमा पक्कै हुन्छ। त्यति रकम चेन्नाईबाट आयो रे। चेन्नाईको कुन बैँकबाट आयो नि ? कुन नामको मान्छेले पठायो नि ? खोई त डिटेल?

४ : FIU बिनाको रकम?
नेपाल राष्ट्र बैँकले रु १० लाख भन्दा बढी रकमको कारोबार भयो भने स्रोत खोज्छ। पुष्टि गर्नुपर्छ कसले किन पठायो भनेर। १० लाख रुपैयाँभन्दा बढी रकमको खाताबारे हरेक १५ दिनमा बैँकले राष्ट्र बैँकलाई रिपोर्ट नियमित गर्नुपर्छ। यसलाई FIU ले निगरानी गर्छ। के हो FIU ?

Financial Information Unit (FIU) is Nepal’s financial intelligence unit. It is a central, national agency responsible for receiving, processing, analyzing and disseminating financial information and intelligence on suspected money laundering and terrorist financing activities to the Investigation Department, other relevant law enforcement agencies and foreign FIUs. The FIU was established on 21 April, 2008 under the section 9 of the Assets (Money) Laundering Prevention Act, 2008 with the Nepal Rastra Bank (the central bank) as an independent unit.
थप पढ्नुस्

५ : नेपालमा भारु निकाल्न र साट्न मिल्दैन, कसरी आयो पैसा?
कसैले भारु पठाइहालेको भए पनि खाताबाट सीधै निकाल्न मिल्दैन। सामान्य अवस्थामा एक जनाले एक दिनमा २५ हजार भारु मात्रै सटही सुविधा पाउँछ। भारुलाई नेरुमा परिवर्तन गर्न राष्ट्र बैँकमा नै साट्नु पर्ने व्यवस्था छ।

६ : रकमान्तर कसरी भयो?
बैँकले जारी गरेको विज्ञप्तिमा रकमान्तर भएकै छैन भनिएको छ। अहिले आतंकवादी प्रयोजनमा उपयोग हुनसक्ने भन्दै हरेक ट्रान्सफर रकमलाई कसिकसाउ निगरानी भइरहेको हुन्छ। यति धेरै रकम राष्ट्रको निगरानी बिना भित्रन संभव छैन। अजय सुमार्गीको रकममा परेको लफडा त बिर्सनुभएको छैन होला नि। राष्ट्र बैँकले खातै फ्रिज गरिदिएको थियो। हेर्नुस् बैँकको विज्ञप्ति
sbi

हल्ला मच्चाउनेहरुले बरु ब्रिफकेसमा यति रकम भित्रियो भनेको भए पत्याउने आधार हुन्थ्यो। बैँकिङ च्यानल प्रयोग गरेर यति धेरै रकम ट्रान्सफर हुनु र शंकास्पद काममा उपयोग हुन त असंभव नै छ।

निश्कर्ष :  कर्मचारीको नाम, बैँकको खाता नम्बर र अन्य कारणले पनि यो कुरा हल्लामात्र भएको पुष्टि हुन्छ। यस्ता फेक न्युजहरु नहटाइएका कारण पुनः फैलिने गरेको यो उदाहरणले देखाएको छ। 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add