तथ्यजाँच भ्रामक सूचना

सेनाको अनियमितताको समाचारमा ‘कान्तिपुर’को हिसाब गडबड


सेनाको अनियमितताको समाचारमा ‘कान्तिपुर’को हिसाब गडबड


असार ३, २०७७ मा कान्तिपुर दैनिकको दोस्रो पेजमा ‘क्वारेन्टाइन व्यवस्थापनमा अनियमितता : औषधि नै नखाई ७४ लाखको बिल’ शीर्षकको समाचार छापिएको छ। सामाजिक सञ्जालमा निकै चर्चाको विषय भएको यो समाचारमा सेनाको अनियमितताको हिसाब निकाल्दा ‘कान्तिपुर’को हिसाब पनि गडबड भएर पाठकलाई भ्रमित पारिएको छ। त्यसो त समाचारको मुख्य चासो ‘क्वारेन्टाइन व्यवस्थापनमा अनियमितता’ हो र ‘चीनको वुहानबाट ल्याएर खरिपाटी क्वारेन्टाइनमा १७ दिन १ सय ७५ जनालाई राख्दा खाना र औषधि खर्च भन्दै सेनाले १ करोड २८ लाख ९९ हजार ४ सय ३३ रूपैयाँको बिल बनाएको’ तथ्यमा आधारित छ। औषधी नै नखाई ७४ लाखको बिल बनाइएको दावी समाचारमा छ। तर पूरै समाचार हिसाबमा आधारित हुँदा पनि समाचारको अंशमा कम्तिमा दुई ठाउँमा हिसाब गडबड देखिन्छ।


कान्तिपुरको समाचारमा प्रकाशित सेनाले सार्वजनिक गरेको खर्च विवरण।

समाचारमा लेखिएको छ- ‘१७ दिनमा प्रतिव्यक्ति ३१ हजार ४ सय ३६ रुपैयाँ ७६ पैसा र दिनको १८ हजार ४९ रुपैयाँ २२ पैसा खाना खर्च भएको सेनाले जनाएको छ।’

माथि राखिएको सेनाले सार्वजनिक गरेको खर्च विवरणको आधारमा प्रति व्यक्ति कूल खर्च र प्रति व्यक्ति प्रति दिनको खर्च कान्तिपुरले समाचारमा निकालेको छ।

अब यसलाई हिसाब गरी हेरौँ-

कूल खाना खर्च = रु ५५,०१,४३३

प्रति व्यक्ति खाना खर्च= रु ५५,०१,४३३/१७५ जना (हिसाब निस्कन्छ-  रु ३१,४३६)

प्रति दिन प्रति व्यक्ति खाना खर्च= रु ३१,४३६/१७ दिन (हिसाब निस्कन्छ- रु १८४९.१७)

अर्थात् कान्तिपुरको समाचारमा जस्तो दिनको १८ हजार ४९ रुपैयाँ २२ पैसा होइन, खर्च १ हजार ८ सय ४९ रुपैयाँ १७ पैसा भएको हो। अर्थात् कान्तिपुरको समाचारमा उल्लेख भएको रकम १६ हजार २ सय रुपैयाँले बढी छ।

त्यसैगरी समाचारको अर्को लाइनमा लेखिएको छ- एक युवाले आफ्ना लागि क्वारेन्टाइनमा बस्दा दिनको ७३ हजार खाना र औषधि उपचारमा खर्च भएको सुन्दा आश्चर्य लागेको बताए । 

यसमा खाना र औषधी उपचारको एकमुष्ट रकमको हिसाब गरिएको छ। यसलाई पनि हिसाब गरी हेरौँ-

खाद्यान्न र औषधी खरिद गरी कूल खर्च = रु १,२८,९९,४३३

प्रति व्यक्ति कूल खर्च= रु १,२८,९९,४३३/१७५ जना (हिसाब निस्कन्छ- रु ७३ हजार ७ सय ११)

प्रति दिन प्रति व्यक्ति खर्च = रु ७३७११/१७ दिन (हिसाब निस्कन्छ- रु ४ हजार ३ सय ३५ रुपैयाँ)

अर्थात् समाचारमा उल्लेख एक युवालाई उद्‍धृत गर्दै ‘क्वारेन्टाइनमा बस्दा दिनको ७३ हजार खाना र औषधि उपचारमा खर्च भएको’  लेखिनु भ्रामक छ। खासमा यो दिनको नभई कूल खर्च हो। प्रति दिन खर्च त ४ हजार ३ सय ३५ रुपैयाँ चानचुन भएको हो।

निश्कर्ष : कान्तिपुरमा प्रकाशित समाचार भ्रामक छ। समाचारमा उल्लेख भएको ‘दिनको १८ हजार ४९ रुपैयाँ २२ पैसा खाना खर्च भएको’  ‘दिनको ७३ हजार खाना औषधि उपचारमा खर्च भएको’ जानकारी गलत छ। यद्यपि खाद्यान्न र औषधीमा कसरी त्यति धेरै कूल खर्च भयो भन्ने समाचारको मूल चासो सेनाले नै सार्वजनिक गरेको खर्च विवरणको आधारमा भएकोले सही छ।

तर कान्तिपुरले आजको अङ्कमा त्यसलाई सच्याएको छैन, न अनलाइन संस्करणमा राखिएको समाचार नै सच्याएको छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add