अपुष्ट सूचना तथ्यजाँच

के शुक्रबार र शनिबार काठमाडौँ बाहिर जान पाउने निर्णय भएको हो ?


के शुक्रबार र शनिबार काठमाडौँ बाहिर जान पाउने निर्णय भएको हो ?

शुक्रबार र शनिबार काठमाडौँमा अड्किएका नागरिकहरुलाई काठमाडौँ बाहिर जान पाउने निर्णय भएको खबर प्रमुख अनलाइन मिडियाहरुले बिहीबार दिउँसो दिए। तर त्यसको दुई घण्टा नबित्दै सरकारले यस्तो निर्णय नभएको बतायो।

‘कोभिड-१९’ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले भोलि र पर्सि ( २८-२९ चैत्र , २०७६ ) काठमाडौँ प्रवेश गर्न नपाइने तर काठमाण्डौंबाट बाहिर जान भने खुला गर्ने निर्णय नभएको बताए। उनले फेसबुकमार्फत् लेखे, ‘यस्तो गम्भीर परिस्थितिमा त्यस किसिमको निर्णय कसरी हुनसक्छ!? जेसुकै कारणले भए पनि सार्वजनिक गरिएको उक्त समाचारमा सत्यता नभएको जानकारी गराउँदछु।’

उपप्रमले यस्तो निर्णय हुँदै नभएको बताए पनि अधिकांश अनलाइनहरुले निर्णय भएको लेखेका थिए। उनले हुँदै नभएको दावी गरेको निर्णय भएको भनेर लेख्दा मिडियाले केलाई स्रोत बनाएको थियो त?

काठमाडौंबाट गाउँ फर्कन चाहनेलाई शुक्रबार र शनिबार जान दिइने शीर्षकमा कान्तिपुरले लेखेको थियो- ‘कोरोना रोकथाम उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले बुधबार सम्बन्धित मन्त्रालयका मन्त्रीहरुसँग गरेको छलफलबाट भोलि र पर्सि गाउँ फर्कन जान चाहनेहरुका लागि दिने निर्णय भएको पोखरेलका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले जानकारी दिए।’

भोलि र पर्सि उपत्यका बाहिर जान दिने सरकारको निर्णय शीर्षकमा अनलाइनखबरले लेखेको थियो- ‘भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङकाअनुसार काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई राजमार्गका विभिन्न स्टेशनहरुमा पुर्‍याइदिने निर्णय भएको छ।’

सेतोपाटीले भोलि र पर्सि काठमाडौंबाट बाहिर जान दिने सरकारको निर्णय शीर्षकको समाचारमा लेखेको थियो, ‘सरकारले लक डाउनका कारण काठमाडौंमा रहेकालाई शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने निर्णय गरेको छ। यो अवधि काठमाडौं उपत्यकाभित्र आउन भने पाइने छैन। बाहिर जान चाहनेलाई स्थानीय तहसँग समन्वय गरी पठाउन लागिएको रक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ।’

रातोपाटीले शुक्रबार र शनिबार काठमाडौं उपत्यकाबाट बाहिर जान दिने सरकारको निर्णय शीर्षकमा कसैलाई उद्‍धृत नगरी ‘बिहीबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको सरोकारवालाहरुसँगको बैठकले सो निर्णय गरेको हो’ लेखेको छ।

१२खरीले कसैलाई उद्ध‌ृत नगरी भोलि र पर्सि काठमाडौं बाहिर जान पाइने, आउन नपाइने शीर्षकमा काठमाडौंबाट बाहिर जान पाए पनि काठमाडौं प्रवेश गर्न भने नपाइने समितिले निर्णय गरेको समाचार लेखेको छ।

नेपाललाइभले शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने सरकारको निर्णय शीर्षकको समाचारमा लेखेको थियो- ‘काठमाडौंमा बसेर अध्ययनअध्यापन, विभिन्न पेशा व्यवस्था गर्दै आएका सर्वसाधरणलाई सम्बन्धित जिल्ला जान दिने निर्णय गरेको रक्षामन्त्री ईश्वर पोखरेलको सचिवालयले जनाएको छ।’

बिजमाण्डूले काठमाडौंमा फसेकालाई गाउँ जान दिइने, भोलि र पर्सि गाडीको व्यवस्था सरकारले नै गर्ने शीर्षकमा लेखेको थियो भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले स्कर्टिङ गरेर उपत्यकाबाहिर जान दिनेबारे छलफल भइरहेको बताए। यसबारे आजै निर्णय हुने उनको भनाई छ। उनका अनुसार भोलि र पर्सि दुई दिनका लागि यो व्यवस्था गर्न लागिएको हो।

केही मिडियाले सचिवालयलाई केहीले मन्त्रीलाई र केहीले बेनामे स्रोत उद्‍धृत गरे पनि आधिकारिक निर्णय नै भएको हो कि सल्लाहमात्र भएको हो भन्ने प्रष्ट पार्न मिडिया चुके।

त्यसो त यसरी चुक्नेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक फेसबुक पनि थियो। फेसबुकमा यस्तो निर्णय भएको लेखेर पछि अपडेट गरिएको थियो।

तर पछि अपडेट गरिएको त्यो पोस्टलाई समेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक फेसबुक पेजबाट डिलिट गरियो।

‘कोभिड-१९’ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकले नै निर्णय नभएको र गृह मन्त्रालयले पनि निर्णय नभएको बताएका कारण यी मिडियाका समाचार अपुष्ट ठहरिएको छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add