तथ्यजाँच मिथ्या सूचना

के राष्ट्रपतिले तिलहरी बेचेर कोरोना कोषमा रकम जम्मा गरेकी हुन्?


के राष्ट्रपतिले तिलहरी बेचेर कोरोना कोषमा रकम जम्मा गरेकी हुन्?

केही दिनदेखि सामाजिक सञ्जालमा राष्ट्रपतिको चर्को आलोचना भइरहेको छ। आलोचनाको कारण हो- राष्ट्रपतिले कोरोना कोषमा रकम जम्मा गर्न तिलहरी बेचेको दावी गरिएको खबर। फेसबुक धेरैले यसबारे स्टायटस र ट्विटरमा ट्विट गरेका छन्। ट्विटबाइन्डरका अनुसार पछिल्लो ५ दिनमा अप्रिल १ देखि २ तारिखसम्म तिलहरी शब्द राखेर धेरै ट्विट भएका छन्। अहिले पनि तिलहरी शब्द राखेर ट्विट गर्ने क्रम जारी छ। 

ट्विटबाइन्डरको रिपोर्ट। 

तर अप्रिल १ भन्दाअघिदेखि नै तिलहरी बेचेर कोरोना कोषमा रकम जम्मा गरेको भन्दै फेसबुक र ट्विटरमा लेख्ने क्रम सुरु भएको थियो। लकडाउनको बेलामा तिलहरी कहाँ बेच्न पाइन्छ जस्ता प्रश्नहरु पनि उठेका थिए।

के साँच्चिकै राष्ट्रपतिले तिलहरी बेचेकै हो त?

राष्ट्रपति कार्यालयमा काम गर्ने अधिकारी भन्छन्- राष्ट्रपतिले दुई महिनाको तलब कोषमा दिएकी हुन्। यसबारे राष्ट्रपति कार्यालयको वेबसाइटमा विज्ञप्ति राखिएको छ। तिलहरी बेचेको  खबर वाहियात हो।

फेसबुक र ट्विटरमा यो लेख्ने अधिकांशले कुनै स्रोत खुलाएका छैनन्। तर केहीमा भने एउटा स्क्रिनसट देखिन्छ। त्यो स्क्रिनसटमा राष्ट्रपतिका दुई वटा फोटो छ भने शीर्षक “कोरोना कोषमा रकम संकलन गर्न भनी ‘तिलहरी’ बेचेकी हुँ;, राष्ट्रपति” राखिएको छ। केही स्क्रिनसटमा कुन मिडियामा यो समाचार आएको हो, केही लेखेको देखिन्न। केही स्क्रिनसटमा भने एउटा डोमेन देखिन्छ- सन्देशमिडिया डट कम।

तर यो सन्देशमिडिया डट कम टाइप गरेर हेर्नुभयो भने कुनै पनि वेबपेज खुल्दैन। यो डोमेनबारे खोज्दा पनि रजिस्ट्रारको डेटामा भेटिएन।

यो वेबसाइट ८ अप्रिल २०१५ मा दर्ता भएर २०१६ को ८ अप्रिलमा म्याद गुज्रेको र अहिले डिलिट हुने क्रममा रहेको रहेछ।

 

अर्काइभ डट ओआरजीमा पनि यो डोमेन सञ्चालनमा रहेको कुनै पेज देखिएन।

अर्थात्, समाचार मात्र हैन, समाचार छापिएको जस्तो देखाइएको वेबसाइटको स्क्रिनसट पनि नक्कली हो। यस्तो शीर्षकमा कुनै समाचार कुनै मिडियामा प्रकाशन भएकै थिएन।

तर यो हुँदै नभएको वेबसाइटको ‘समाचार’कै आधारमा धेरैले सामाजिक सञ्जालमा आफ्नो विचार राखेको पाइयो।

तपाईँ हामीले के गर्न सक्छौँ ?

यस्ता धेरै गलत सूचना अहिले फैलिरहेका छन्। यो पनि कोरोना भाइरस जस्तै संक्रमण हो। सूचना संक्रमण। इन्फोडेमिक। जसरी कोरोना फैलिन नदिन हात धुनुपर्छ, त्यसैगरी यस्तो सूचना संक्रमण फैलन नदिन पनि तपाईँ आफै जागरुक हुनुपर्छ। यस्ता समाचार तपाईँको मेसेन्जरमा आयो भने अरुलाई फरवार्ड गर्ने काम नगर्नुस्।

फेसबुकमा यस्ता गलत लाग्ने, शंकास्पद समाचार वा लिङ्कहरु भेटिएमा त्यसलाई सेयर, लाइक वा कमेन्ट नगर्नुहोला। तपाईँले त्यसो गर्नुभयो भने यस्ता गलत कुरा अझ फैलन सक्छ। एकदमै विश्वास लाग्ने स्रोतहरुबाट मात्र जानकारी लिनुस्।

(सेन्टर फर मिडिया रिसर्च र माइसंसारको संयुक्त प्रयासमा सोसल मिडियामा भाइरल भएका र मिडियामा आएका समाचारहरुको तथ्य जाँच हामी गरिरहेका छौँ। तपाईँलाई शंका लागेका लिङ्क, फोटो वा भिडियो [email protected] वा [email protected] अथवा माइसंसारको फेसबुक पेजमार्फत् पठाउन सक्नुहुन्छ। तथ्य जाँच सामाग्री माइसंसारनेपालफ्याक्टचेकमा प्रकाशन हुन्छ।)


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add