तथ्यजाँच भ्रामक सूचना

कोरोना भाइरसबारे मुख्यमन्त्रीहरुलाई प्रधानमन्त्रीको प्रवचन, कति सही कति गलत?


कोरोना भाइरसबारे मुख्यमन्त्रीहरुलाई प्रधानमन्त्रीको प्रवचन, कति सही कति गलत?

अघिल्लो शनिबार अर्थात् चैत २९ गते प्रधानमन्त्री केपी ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसित सिंहदरबारस्थित एक्सन रुमबाट छलफल गरेका थिए। त्यतिबेलाको एउटा भिडियोको अंश अहिले सामाजिक सञ्जालमा चर्चाको विषय भएको छ। प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुलाई कोरोना भाइरसबारे दिएको प्रवचन कति सही, कति गलत? हामीले फ्याक्टचेक गरेका छौँ।

प्रधानमन्त्रीले भनेका छन्,भाइरस भनेको निर्जीव तत्व हो। यो निर्जीव तत्वमा जुन बोसो जस्तो फ्याट्टी तत्व हुन्छ, त्यसले त्यसलाई एउटा जीवित तत्वको रुपमा सक्रिय गराइदिन्छ।…भाइरस किन मार्न सकिँदैन भन्दा त्यो निर्जीव तत्व हो। त्यसकारण निर्जीव तत्वको अब यो गीता ज्ञानतिर जानु पर्ने खतरा हुन्छ। यो निर्जीव तत्व हो । त्यसकारण यसलाई मार्न सकिँदैन। जसको जीवन छैन, त्यसलाई कसरी मार्ने ? त्यसकारण यो मर्दैन। यसलाई सक्रिय पार्ने जुन एलिमेन्टहरु छन्, ती एलिमेन्टहरुलाई मेटाउने हो। 

तथ्य : भाइरस सजीव हो कि निर्जीव हो भन्नेबारेमा धेरैअघिदेखि बहस चलेको हो। तर प्रधानमन्त्रीको भनाइ सही हो- भाइरसहरुलाई निर्जीव नै मान्ने गरिन्छ। कसमस म्यागेजिनमा ह्वाइ भाइरसेस कन्सिडर्ड टु बी नन लिभिङ शीर्षकको लेखमा जेक पोर्टले लेखेका छन्, भाइरसहरुमा जीवनमा हुनुपर्ने धेरै विशेषता हुँदैन।

तर सबैभन्दा डरलाग्दा र ज्यानमारा जस्तै इन्फ्लुएन्जा, इबोला, रेबिज, विफर जस्ता रोगहरुका लागि भाइरस नै जिम्मेवार हुन्छन्। एकदम छिटो फैलने, आफूलाई तीव्र गतिमा फैलाउन सक्ने र अरु जीवितलाई संक्रमित गर्न सक्ने भाइरस कसरी निर्जीव हुनसक्छ। कसरी सम्भव हुन्छ यस्तो? यो बहस भाइरसको नाम सन् १८९८ मा राखेदेखि नै भइरहेको उनले लेखेका छन्।

साइन्टिफिक अमेरिकनमा प्रकाशित लेख अनुसार भाइरसलाई निर्जीव भनेर वर्गीकरण गरेका कारण जीव विज्ञानको आधुनिक युगमा धेरै अनुसन्धानकर्ताहरुले इभोल्युसनको अध्ययनका क्रममा भाइरसलाई बेवास्ता गरिदिए। अहिले भने भाइरसहरुलाई जीवनको इतिहाससँग जोडेर हेर्न थालिएको छ।

प्रधानमन्त्रीको दावी आंशिक सत्य हो। भाइरसलाई जीवित कि निर्जीव भन्ने दुई वटा श्रेणीमा छुट्याउँदा निर्जीव नै वर्गीकरण गरिएको छ। यद्यपि नेचरमा छापिएको लेखमा भने भाइरसलाई जीवित र निर्जीव दुवै गुण भएको धेरै रिसर्चहरुले देखाएको उल्लेख छ।

प्रधानमन्त्रीको दावी : त्यसकारण तातोपानीको वाफ लिने, तातो पानी खाने, चीसोमा बढी जोड नदिने, आइसक्रिम जस्ता कुरा नखाने विधि ठूलो कुरा हो। हात धुँदाखेरी सकिन्छ भने तातोपानीले धुने, मुख धुँदा अलिकति तातोपानीले धुने मनतातो पानीले धुने यो ठूलो विधि हो। जहाँ भाइरस छ भन्ने बित्तिकै तातोपानीले हात धुने बित्तिकै त्यो भाइरसको बाहिरी लेयरको बोसो पग्लिएपछि त्यो त निर्जीव हो, त्यो समाप्त हुन्छ। मर्ने होइन, त्यसको जुन जीव तत्वको रुपमा बाहिरी लेयरको बोसीय तत्वले जे उपद्रो मच्चाउँछ, त्यो समाप्त हुन्छ।

तथ्य : तातोपानीको वाफ लिने, तातो पानी खाने, चीसोमा बढी जोड नदिने, आइसक्रिम जस्ता कुरा नखाने जस्ता कुरा प्रधानमन्त्रीले सुझावका रुपमा बताएका हुन्। यसो गर्दैमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुने होइन।

प्रधानमन्त्रीले तातोपानी र मनतातो पानीले हात धुने ठूलो विधि भएको बताएका छन्। उनले कतै पनि ‘साबुन’को उच्चारण गरेका छैनन्। जबकि यो भाइरसबाट बच्ने एकदम प्रभावकारी उपाय भनेकै साबुन पानीले मिचीमिची हात धुनु हो। साबुन बिना तातोपानी वा मनतातो पानीले हात धुँदैमा भाइरसको संक्रमणबाट मुक्त भइन्न। त्यसैले प्रधानमन्त्रीको यो दावी गलत छ।

तातोपानीले नुहाउँदा कोरोना संक्रमण लाग्दैन भन्ने गलत अवधारणा पनि व्याप्त छ। विश्व स्वास्थ्य संगठनले तातोपानीले नुहाउँदैमा कोरोना संक्रमणबाट नजोगिने बताएको छ। साउना र हेयर ड्रायरको तातो हावाले कोरोना संक्रमण लाग्दैन भन्ने पनि हल्ला छ। तर एफएपीको फ्याक्टचेकले त्यसलाई गलत भनेको छ।

आइसक्रिम नखाने भन्ने विषय चाहिँ युनिसेफको मेसेज भन्दै सोसल मिडियामा पनि खुब सेयर भएको विषय हो। तर युनिसेफ नेपालले तातोपानी खानु पर्ने, घाममा बस्नु पर्ने र आइसक्रिम तथा चीसो खानेकुराबाट पर बस्नु पर्ने जस्ता सूचना आफूहरुले जारी नगरेको प्रष्ट पारिसकेको छ। आइसक्रिम नखाँदैमा कोरोना लाग्नबाट बचिने होइन।

बीबीसीको फ्याक्टचेकका अनुसार तातो पानीले नुहाउनाले वा तातो पानी खानाले तपाईँको शरीरको वास्तविक तापक्रममा केही फरक पार्दैन। अगाडि नै बिरामी हुनुनभएको भए जे खाए पनि शरीरको तापक्रम उही रहन्छ।

प्रधानमन्त्रीको दावी : म साथीहरुलाई भन्न चाहन्छु, मास्क मात्रै लगाएर पर्याप्त हुँदैन। मास्कसँगै चश्मा पनि लगाउनु पर्छ। सबभन्दा बढी छिटो सर्ने मुखबाट, त्यसपछि दोस्रो आँखाबाट सर्छ त्यसपछि मात्र नाकबाट सर्छ। आँखाबाट झन् छिटो सर्छ। त्यसकारण चश्मा भरसक लगाउनु वाञ्छनीय हुन्छ।

तथ्य : प्रधानमन्त्रीको मास्क मात्र हैन चश्मा पनि लगाउनु पर्ने दावी सही हो। अमेरिकाको सेन्टर फर डिजिट कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले  कोरोना भाइरस संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा निस्कने छिटा नाक, मुख वा आँखाबाट अरु व्यक्तिमा सर्ने सम्भावना हुने बताएको छ।

न्युयोर्क युनिभर्सिर्टी स्कूल अफ ग्लोबल पब्लिक हेल्थका इपिडेमियोलोजीका प्रोफेसर रबिन गेर्सनले न्युयोर्कपोस्टलाई चश्मा लगाउँदा सुरक्षा हुनसक्ने बताएका छन्। अमेरिकाका आँखा चिकित्सकहरुको संघले त कन्ट्याक्ट लेन्स लाउनेहरुलाई चश्मा लगाउन सुझाव पनि दिइसकेको छ। टर्कीका डाक्टरहरुले पनि त्यस्तै भनेका छन्।

प्रधानमन्त्रीले सबभन्दा छिटो सर्ने मुखबाट त्यसपछि आँखाबाट र त्यसपछि नाकबाट भन्दै आँखाबाट झन् छिटो सर्ने दावी गरेका छन्। यसको भने वैज्ञानिक आधार छैन। कुनबाट छिटो सर्ने भन्ने बारे त्यस्तो कुनै पत्यारिलो आधार बनिसकेको छैन।

काठमाडौँ मेडिकल कलेजमा फर्माकोलोजीका असिस्टेन्ट प्रोफेसर सञ्जय दीक्षितका अनुसार मान्छेको आँखा निकै संवेदनशील हुन्छ। कुनै बाहिरी वस्तु आँखाभित्र प्रवेश गर्नुअघि नै मान्छेले आँखा बन्द गरिहाल्छ। त्यसैले चश्मा सबैका लागि आवश्यक नहुन सक्छ।

दीक्षितका अनुसार दिनहुँ बिरामीको सम्पर्कमा आउनु पर्ने स्वास्थ्यकर्मीहरुले भने संक्रमितको छिटाबाट आँखामा भाइरल पार्टिकल्स प्रवेश गर्नबाट रोक्न भाइजर लगाउनु उपयुक्त हुन्छ। पिपिइमा यस्तो भाइजर पनि हुने गर्छ जसले आँखाको सुरक्षा गर्छ।

‘कन्ट्याक्ट लेन्सको साटो चश्मा लगाउन सुझाव दिनुको कारण चाहिँ आँखामा नछुनका लागि हुनसक्छ’, उनी भन्छन्, ‘कन्ट्याक्ट लेन्स राख्न र झिक्नका लागि आँखामा छुनु पर्ने हुन्छ।’

त्यसैले प्रधानमन्त्रीको दावीका अधिकांश तथ्य भ्रामक छन्।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add