तथ्यजाँच मिथ्या सूचना

के कास्कीमा सातौँ कोरोना संक्रमित भेटिएको हो ?


के कास्कीमा सातौँ कोरोना संक्रमित भेटिएको हो ?

शुक्रबार दिउँसो एक्कासी एउटा खबर फैलियो- कास्कीमा सातौँ कोरोना भाइरस संक्रमित भेटियो। अनलाइनखबर हुँदै यो समाचार एपिवान लगायतका टेलिभिजन र सोसल मिडियामा छाउन पुग्यो। कपिपेस्ट अनलाइनहरुलाई त के छ र, उनीहरुले त कपिपेस्ट गर्ने नै भए।

तर सँगसँगै सोसल मिडियामा सातौँ संक्रमित भएको खबर अपुष्ट भएको खबर पनि फैलियो। सोसल मिडियाका केही प्रयोगकर्ताहरुले वर्ल्डोमिटर नामको वेबसाइटमा नेपालको संक्रमितको संख्या सात देखाइसक्यो भन्दै प्रतिवादमा पनि उत्रिए। तर यो वेबसाइटले पुष्टि भइसकेका केसहरुमात्र नराखी मिडियामा आएको संख्यालाई राख्छ। यसअघि वीरगञ्जमा कोरोना संक्रमित भेटिएको अपुष्ट समाचार छाउँदा पनि यसले संख्या बढाएको थियो। तर पछि त्यो गलत ठहरियो।

नेपालमा कोरोना संक्रमित भेटिएको आधिकारिक पुष्टि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परीक्षणको नतिजा अनुसार स्वास्थ्य मन्त्रालयले गर्ने गर्छ। कास्कीमा सातौँ कोरोना संक्रमित भेटिएको खबर भने स्वास्थ्य मन्त्रालयबाट नभई प्रदेशबाट भएको थियो। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ताले भने- पोखरामा नयाँ पोजिटिभ केस भेटिएको छैन।

यो समाचार पहिलो पटक प्रकाशन गर्ने अनलाइनखबरले सुरुको समाचारमा ‘कास्कीमा भेटिए सातौं कोरोना संक्रमित’ शीर्षक राखेको थियो र त्यसमा ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले जनाएको छ’ भनिएको थियो।

दोस्रो समाचारमा भने अनलाइनखबरले ‘पोखरामा कोरोना परीक्षण पोजेटिभ देखियो, पुनः परीक्षणका लागि टेकु पठाइयो’ शीर्षक राखेको छ। अघिल्लो समाचारमा गण्डकी प्रदेश सरकारले जनाएको भनिए पनि दोस्रो समाचारमा भने गण्डकी प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङलाई उद्‍धृत गरिएको छ। उनले भनेका छन्, ‘पहिलो रिपोर्ट पोजेटिभ आएको छ र थप परीक्षणका लागि टेकु पठाइएको छ।’

तर उनै मन्त्री किरण गुरुङले पछि फेसबुकमा यस्तो लेखे-

तर समाचार अरुतिर पनि फैलिसकेको थियो। एपि वान टेलिभिजनले पनि समाचार बनाइसकेको थियो र उसको फेसबुकमा अपडेट गरिसकेको थियो-

हल्ला धेरै फैलिएपछि स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले पनि गण्डकी प्रदेशमा आज कुनै पनि नयाँ संक्रमित नभेटिएको भन्दै हल्लाको पछि नलाग्न अनुरोध गर्‍यो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ताले नै कास्कीमा नयाँ पोजिटिभ केस नभेटिएको र अहिलेसम्म कूल ६ वटा केस नेपालमा भेटिएको बताएपछि यो समाचार मिथ्या ठहरिएको छ।

तर यो मिथ्या खबर फेसबुकमा अझै फैलँदैछ। केही उदाहरण-

(सेन्टर फर मिडिया रिसर्च र माइसंसारको संयुक्त प्रयासमा सोसल मिडियामा भाइरल भएका र मिडियामा आएका समाचारहरुको तथ्य जाँच हामी गरिरहेका छौँ। तपाईँलाई शंका लागेका लिङ्क, फोटो वा भिडियो [email protected] वा [email protected] अथवा माइसंसारको फेसबुक पेजमार्फत् पठाउन सक्नुहुन्छ। तथ्य जाँच सामाग्री माइसंसारनेपालफ्याक्टचेकमा प्रकाशन हुन्छ।)


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add