तथ्यजाँच मिथ्या सूचना

के पूर्वराजा ज्ञानेन्द्रले फेसबुक र ट्विटर चलाउन थालेका हुन्?


के पूर्वराजा ज्ञानेन्द्रले फेसबुक र ट्विटर चलाउन थालेका हुन्?

केही दिनदेखि मिडिया विशेषतः अनलाइनहरुमा राजा ज्ञानेन्द्रको आधिकारिक ट्विटर दावी गर्दै त्यसलाई उद्‍धृत गर्दै समाचार आउन थालेका छन्। गएको फेब्रुअरी चलाउन थालिएको @GBBShah ह्यान्डल भएको ट्विटर अकाउन्टमा साढे १३ हजारभन्दा बढी फलोअर छन्। यसमा विभिन्न विषयमा ट्विट गर्ने गरिन्छ। यही ट्विटका आधारमा केही मिडियाले समाचार पनि बनाउने गर्छन्। सो ट्विटर अकाउन्टमा The Former King Gyanendra Bir Bikram Shah (Official) दावी गरिएको छ। त्यसमा एउटा फेसबुक पेजको लिङ्क पनि दिइएको छ।

के साँच्चै मिडियामा दावी गरिए जस्तो पूर्वराजा ज्ञानेन्द्रले ट्विटर र फेसबुक चलाउन थालेका हुन्? यो विषयमा हामीले फ्याक्टचेक गरेका छौँ।

थाहाखबरले चैत २४ गते पूर्वराजा ज्ञानेन्द्रले भने : ‘संकटका बेला राजनीतिक विवाद झिक्नु घातक !’ शीर्षकमा समाचार लेखेको छ। इन्टरनेट सामाजिक सञ्जाल ट्वीटरमा आफ्ना धारणा राख्दै लेखेर समाचारमा यो अकाउन्टको ट्विटलाई एम्बेड पनि गरिएको छ।

त्यसैगरी डिसी नेपालले लकडाउनको असर : पूर्वराजादेखि युवा नेतासम्म सामाजिक सञ्जाल सक्रिय शीर्षकमा वैशाख ३ गते समाचार राखेको छ। समाचारमा ‘पूर्व राजा ज्ञानेन्द्र शाह पनि यतिबेला ट्विटरमा सक्रिय छन्। उनले ट्विटरमार्फत समयामिक र सरकारले गरेका निर्णयप्रति प्रतिक्रिया दिइरहेका हुन्छन्’ लेखिएको छ र ट्विटका केही स्क्रिनसट पनि राखिएको छ।

नेपालखबरले त्यो भन्दा अघि चैत १९ गते नै कोरोना रोक्न २ करोड दान गरेका पूर्वराजा ज्ञानेन्द्र भन्छन्ः स्वदेश फर्किन खोज्ने नेपालीलाई ढोकामा तगारा लगाउनु हुन्न शीर्षकको समाचार यही ट्विटर अकाउन्टलाई आधार मानेर लेखेको छ। समाचारमा लेखिएको छ, ‘आफ्नो ट्विटर ह्यान्डलबाट ट्विट गर्दै उनले कोरोनाले गर्दा विदेशमा बस्न नसक्ने भएपछि आफ्नो देश फर्कन खोज्ने नेपालीलाई सीमामा रोक लगाउन नहुने सुझाव दिएका हुन्।’

यसैगरी, डाक्टर पुनलाई स्पष्टिकरण सोधेकोमा पूर्वराजाको असन्तुष्टि, स्वास्थ्यकर्मी हतोत्साहित भए नागरिकले दु:ख पाउने चिन्ता शीर्षकमा पहिलोपोस्टले वैशाख ७ गते लेखेको समाचारमा पनि यही अकाउन्टको ट्विटलाई नै आधार बनाइएको छ। समाचारमा ट्विट पनि एम्बेड गरिएको छ।

के हो सत्य ?

यति धेरै मिडियामा समाचार आएको देखेपछि पूर्वराजा ज्ञानेन्द्रकै आधिकारिक ट्विटर भएर त लेखियो होला नि भन्ने लाग्न सक्छ। पूर्वराजा अहिले सामाजिक सञ्जालमा आएकै हुन् त?

ट्विटर र फेसबुकमा पूर्वराजा ज्ञानेन्द्र शाहका भनिएका अकाउन्ट रियल हुन् कि फेक? यो बारे हामीले उनका संवाद सचिव डा. फणिराज पाठकलाई फोन गरी सोध्यौँ। पूर्वराजाका कुनै पनि खबरको आधिकारिक जानकारी उनीमार्फत् नै आउने गर्छ।

उनले भने, ‘उहाँले त्यस्तो ट्विटर, फेसबुकहरु चलाउनु भएको छैन।’

पाठकले पूर्वराजा ज्ञानेन्द्रलाई योबारेमा सोधेका थिए। उनका अनुसार पूर्वराजाले भने, ‘मैले त चलाएको छैन। बरु कसले चलाएको हो, खोज्नू।’

पाठकले कसले पूर्वराजाको नाममा सामाजिक सञ्जाल चलाइरहेको छ भनेर आफूले पनि खोजिरहेको जानकारी दिए। अर्थात् मिडियाले पूर्वराजाको आधिकारिक भनेर दिएका जानकारीहरु फेक अकाउन्टका हुन् भन्ने पुष्टि हुन्छ। पूर्वराजा न फेसबुक चलाउँछन्, न ट्विटर।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add