तथ्यजाँच मिथ्या सूचना

के कोरोनाबाट मरेकाहरुको लाशलाई समुद्रमा फ्याँकिएको हो?


के कोरोनाबाट मरेकाहरुको लाशलाई समुद्रमा फ्याँकिएको हो?

सोसल मिडियामा अहिले एउटा भिडियो भाइरल भइरहेको छ। विशेषगरी फेसबुकको मेसेन्जरबाट धेरै सेयर भइरहेको यो भिडियोमा समुद्रको छेउ देखिन्छ। अनि त्यहाँ केही लाश देखिन्छन्। भिडियोको अन्त्यतिर केही मानिसहरुले समुद्र छेउबाट ती लाशहरुलाई उठाउँदै गरेको देखिन्छ। भिडियोसँगै अङ्ग्रेजीमा तीन वाक्य पठाइएको हुन्छ। त्यसमा दावी गरिए अनुसार केही देशले कोभिड १९ लागेर मरेकाहरुलाई समुद्रमा फालिरहेका छन्। अनि सुझाव दिइएको छ, ‘त्यसैले सी फूड खान छाड्नुस्। विश्व अन्त्य हुँदैछ, भगवान कृपया हस्तक्षेप गर्नुस्।’

के हो यो भिडियोको सत्य ? हामीले फ्याक्टचेक गर्ने क्रममा भेट्टाएका तथ्य यस्ता छन्।

यो भिडियोसँगै राखिएको अङ्ग्रेजी क्याप्सन यस्तो छ-

Some countries throw Covid19 infected dead bodies into the seas. Advice to stop eating seafood. The World is really coming to an end. Dear God, please intervene.

हामीले भिडियोका केही फ्रेमहरु निकालेर रिभर्स इमेज सर्च गर्दा यो भिडियो पुरानो भएको खुल्यो।

गत वर्ष अर्थात् सन् २०१९ को मार्च महिनामा मोजाम्बिकमा चक्रवात आइसकेपछि पनि यही भिडियो फैलाइएको थियो। त्यतिबेला चक्रवातका कारण मोजाम्बिकको समुद्र छेउमा लाशैलाश भेटियो भन्दै फेक न्युज फैलाउने काम भएको थियो।

यो भिडियो त्यो भन्दा पनि पुरानो अर्थात् सन् २०१४ को हो। अफ्रिकी नागरिकहरु युरोपेली देशमा जानका लागि साना डुङ्गाबाट समुद्रमा असुरक्षित यात्रा गर्ने क्रममा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको थियो। मृत्यु भएकाहरुको शव लिबियाको समुद्री तटमा फेला परेको थियो। यो त्यतिबेलाको भिडियो हो।

युरोन्युजले त्यतिबेलाको भिडियो युट्युबमा राखेको छ। दृश्यहरु धमिलो बनाए पनि यो त्यहीँकै दृश्य हो भनेर थाहा पाउन सकिन्छ।

योबारे भारतीय साइटहरु अल्टन्युज, क्विन्टन्युजमोबाइलले पनि फ्याक्टचेक गरिसकेको छ।

न्युजमोबाइलले भिडियोको एउटा फ्रेमलाई डेलीमेलमा प्रकाशित सन् २०१४ को फोटोसँग मिलेको देखाएको छ।

डेली मेलको सन् २०१४ को समाचार हेर्नुस्।

त्यसैले अहिले सोसल मिडियामा भाइरल बनाइएको भिडियो ६ वर्ष पुरानो अर्थात् सन् २०१४ मा लिबियाको भएको पुष्टि भएको छ। यो भिडियोको कोरोना भाइरसबाट मृत्यु भएकाहरुको लाशसित कुनै सम्बन्ध छैन। सोसल मिडियामा लेखिएका विवरण झुटो हो।

तपाईँ हामीले के गर्न सक्छौँ ?

यस्ता धेरै गलत सूचना अहिले फैलिरहेका छन्। यो पनि कोरोना भाइरस जस्तै संक्रमण हो। सूचना संक्रमण। इन्फोडेमिक। जसरी कोरोना फैलिन नदिन हात धुनुपर्छ, त्यसैगरी यस्तो सूचना संक्रमण फैलन नदिन पनि तपाईँ आफै जागरुक हुनुपर्छ। यस्ता समाचार तपाईँको मेसेन्जरमा आयो भने अरुलाई फरवार्ड गर्ने काम नगर्नुस्।

फेसबुकमा यस्ता गलत लाग्ने, शंकास्पद समाचार वा लिङ्कहरु भेटिएमा त्यसलाई सेयर, लाइक वा कमेन्ट नगर्नुहोला। तपाईँले त्यसो गर्नुभयो भने यस्ता गलत कुरा अझ फैलन सक्छ। एकदमै विश्वास लाग्ने स्रोतहरुबाट मात्र जानकारी लिनुस्।

(सेन्टर फर मिडिया रिसर्च र माइसंसारको संयुक्त प्रयासमा सोसल मिडियामा भाइरल भएका र मिडियामा आएका समाचारहरुको तथ्य जाँच हामी गरिरहेका छौँ। तपाईँलाई शंका लागेका लिङ्क, फोटो वा भिडियो [email protected] वा [email protected] अथवा माइसंसारको फेसबुक पेजमार्फत् पठाउन सक्नुहुन्छ। तथ्य जाँच सामाग्री माइसंसारनेपालफ्याक्टचेकमा प्रकाशन हुन्छ।)


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add