तथ्यजाँच मिथ्या सूचना

कोरोना संक्रमितको संख्या ५८ पुगेको मिडियाका खबर गलत


कोरोना संक्रमितको संख्या ५८ पुगेको मिडियाका खबर गलत


कोरोनाको महामारी फैलिएसँगै गलत सूचना पनि फैलिने क्रम बढ्दो छ। बुधबार फेरि पनि मिडियाबाट गलत जानकारी फैलियो। सरकारी मिडिया नेपाल टेलिभिजन र गोरखापत्रबाट समेत गलत जानकारी दिइयो।

बुधबार बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको भन्दै मिडियाले कूल संक्रमितको संख्या ५८ पुर्‍याएको थियो। तर यो गलत थियो। कूल संख्या ५७ मात्रै थियो। बाराका दुई र पर्साका एक जनामा मात्रै सङ्क्रमण भेटिएको थियो।

स्वास्थ्य मन्त्रालयले गर्ने सवा ४ बजेको नियमित पत्रकार सम्मेलनमा बारामा दुई र पर्सामा एक गरी कूल संक्रमित संख्या ५७ पुगेको प्रवक्ता डा. विकास देवकोटाले पुष्टि गरे।

त्यसैगरी प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले पनि पछिल्लो २४ घण्टामा बारामा दुई जना र पर्सामा एक जना गरी तीन जना संक्रमित भेटिएको बताए। ‘आज बिहान केही सञ्चार माध्यमहरुमा अलिकता कन्फ्युजन भएको थियो चार वटा भन्ने,’ घिमिरेले लाइभ प्रेस ब्रिफिङमा भने, ‘एउटा पोजिटिभ रिपोर्ट योभन्दा अगाडि प्रस्तुत गरिएकै विषय भएको हुँदा तीन वटा मात्रै पोजिटिभ भएको व्यहोरा यहाँहरु समक्ष म स्पष्ट राख्न चाहन्छु’

त्यसैले कूल संक्रमित संख्या ५८ भन्दै सरकारी मिडिया मात्र होइन, अनलाइनखबर, बाह्रखरी, इमेजखबर, थाहाखबरलगायतका निजी मिडियामा आएका समाचार गलत ठहरिएको छ।

गलत समाचार दिनेहरु
थप चारमा सङ्क्रमण, ५८ पुगे सङ्क्रमित (नेपाल टेलिभिजन)
थप चार जनामा सङ्क्रमण, ५८ पुगे सङ्क्रमित (गोरखापत्र)
वीरगञ्जका थप एक जनामा कोरोना संक्रमणको पुष्टि (अनलाइनखबर)
पर्सामा भेटिए कोरोनाका अर्का बिरामी, संक्रमितको संख्या ५८ (थाहाखबर)
थप चारजना कोरोना संक्रमित भेटिए, ५८ पुगे संक्रमित (१२खरी)
थप चार जनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या ५८ (राजधानी)


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add