अपुष्ट सूचना तथ्यजाँच

के हावामा ८ घण्टासम्म कोरोना भाइरस बाँच्छ?


के हावामा ८ घण्टासम्म कोरोना भाइरस बाँच्छ?


सामाजिक सञ्जालमा केही दिनअघिदेखि सिएनबिसीको समाचारको स्क्रिनसटसहितको एउटा खबर भाइरल छ। त्यसमा हावाबाट कोभिड १९ सर्ने प्रमाणित भएको, भाइरस हावामा ८ घण्टा बाँच्छ भन्ने दावी गरिएको छ। सामाजिक सञ्जालमा धेरैले सेयर गरेको यो स्क्रिनसट मंगलबार प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको ट्विटमा पनि देखियो।

के साँच्चिकै हावामा ८ घण्टासम्म कोरोना भाइरस बाँच्छ त? हामीले गरेको फ्याक्टचेकमा देखिएका तथ्य यस्ता छन्।

स्क्रिनसटमा देखिएको सिएनबिसीको समाचार गलत होइन, सही हो। सिएनबिसीले WHO considers ‘airborne precautions’ for medical staff after study shows coronavirus can survive in air शीर्षकमा समाचार पक्कै पनि राखेकै हो। यहाँ क्लिक गरी हेर्न सकिन्छ।

तर बुझ्नु पर्ने कुरा के हो भने त्यो समाचारमा कतै पनि कोरोना भाइरस हावामा ८ घण्टा बाँच्छ लेखिएको छैन।

डब्ल्युएचओले गत मार्च २९ मा नै यो गलत रहेको बारे आफ्नो आधिकारिक ट्विटरबाट ट्विट गरिसकेको छ-

डब्ल्युएचओका अनुसार कोभिड १९ भाइरस संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा वा बोल्दा हावासँगै छिटा अर्थात् ड्रपलेट्सबाट सर्छ। तर यी ड्रपलेटहरु यति गह्रुँगा हुन्छन् कि हावामा
झुण्डिरहन सक्दैनन्। त्यसैले छिट्टै तल भूँइमा खस्छन्।

संक्रमित व्यक्तिको एक मिटर नजिक हुनुहुन्छ भने श्वास लिँदा हावाबाट सर्न सक्छ। अथवा त्यस्तो भाइरस परेको सतहमा छुँदा र त्यसपछि आँखा, नाक वा मुखमा छुँदा सर्न सक्छ।

त्यसैले डब्लुएचओले आफूलाई सुरक्षित राख्न अरुबाट कम्तिमा एक मिटर टाढा बस्न, बारम्बार छुनु पर्ने सतहलाई डिसइन्फेक्ट गर्न, हात साबुनपानीले बारम्बार धुन र आँखा, मुख र नाकमा नछुन भनेको छ।

फ्याक्टचेक डट ओआरजीले पनि यसबारे विस्तृत फ्याक्टचेक गरिसकेको छ। यसको निचोड छ, भाइरस हावाबाट सर्ने “airborne” हुनसक्ने प्रमाणहरु बारे अध्ययनहरु त भइरहेका छन्। तर यस्तो “airborne” शब्द प्रयोग गर्न सन्दर्भहरु मिल्नु पर्छ। भाइरस हावामा आठ घण्टा बाँच्छ भन्ने कुरा प्रमाणित छैन। त्यसैले हावाबाट सर्छ भनेर जति बेला पनि मास्क लगाइराख्नु जरुरी छैन।

मास्कबारे डब्ल्युएचओले कोभिड १९ को लक्षण देखिएमा वा त्यस्तो लक्षण लागेकालाई भेट्नु परेमा मात्र मास्क लगाउन भन्छ। हेर्नुस् मास्क लगाउने बारे डब्लुएचओको सुझाव

यसमा एसियाली देश र युरोप अमेरिकामा अलि फरक देखिएको थियो। अमेरिकाको सिडिसीले मास्क लगाउन आवश्यक नभएको भन्ने बारे केही अघिसम्म बताइरहेको थियो। जबकि एसियाली देशहरुमा सरकारले नै मास्क लगाउन अनुरोध गरिरहेको थियो। अहिले संक्रमण बढेसँगै सिडिसीले पनि मास्क लगाउन सुझाव दिइसकेको छ। 

नेपालमा घरबाहिर जाँदा मास्क लगाउन सरकारले आग्रह गरेको छ, जतिबेला पनि जहिले पनि मास्क लगाउन भनेको छैन।

बुझ्नु पर्ने कुरा के हो भने, मास्क लगाउँदैमा कोरोना भाइरसबाट बचिँदैन। जस्तै मास्क लगाएको छ तर आँखामा चश्मा नलगाउने मान्छे हो भने संक्रमित व्यक्तिले खोकेर छिटा आँखामा लाग्यो भने त कोरोना भाइरस सर्छ। मास्क प्रयोग पनि उचित ढंगले गर्न जरुरी छ।

त्यसैगरी हावामा आठ घण्टासम्म कोरोना भाइरस बाँच्छ भन्ने दावी गलत हो।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add