तथ्यजाँच भ्रामक सूचना

के प्रम ओलीले नयाँ अवार्ड पाउने घोषणा भएको हो?


के प्रम ओलीले नयाँ अवार्ड पाउने घोषणा भएको हो?


फेसबुकमा आइतबार एउटा जानकारी भाइरल हुँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई एसियन एसोसिएशन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स् (AAMO) ले एसियाकै दुरदर्शी नेता घोषणा गर्दै “AAMO Visionary Leader & National Builder Award-2020” घोषणा गरेको भन्दै फेसबुकमा हार्दिक बधाई र शुभकामना दिनेहरुको लर्को लागेको छ।

सामान्य व्यक्तिमात्र हैन, संवैधानिक आयोगका अध्यक्षसमेत यसरी शुभकामना दिन हतारिएका छन्। मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले ३३ जनालाई ट्याग गर्दै प्रधानमन्त्री ओलीले मुस्लिम कार्यक्रममा भाग लिएको बेलाको फोटो राखेर हार्दिक बधाई र शुभकामना दिँदै राति १० बजेर ६ मिनेटमा फेसबुक स्टायटस लेखेका छन्। के हो यसको सत्य? हामीले फ्याक्टचेक गरेका छौँ।

व्यक्तिगत रुपमा फेसबुक स्टायटसहरुमा र विभिन्न फेसबुक ग्रुपहरुमा आइतबार रातिदेखि यो जानकारी भाइरल हुन थालेको हो। हरेक स्टायटसमा सेयर र बधाई सन्देशसहितको कमेन्टहरुका कारण पनि यो जानकारी छिट्टै भाइरल हुन पुगेको हो। केही नामै नसुनिएका अनलाइनहरुले त समाचार समेत लेखे।

के हो सत्य?

प्रधानमन्त्री केपी शर्मा ओलीलाई एसियन एसोसिएशन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स् (AAMO) ले Visionary Leader & National Builder Award-2020 दिने घोषणा आज गरेको होइन। सत्य त के हो भने यो अवार्ड सो संगठनले प्रधानमन्त्री ओलीलाई हस्तान्तरण नै गरिसक्यो।

गएको माघ २४ गते (२०७६ सालको) काठमाडौँको याक एन्ड यति होटलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीलाई यो अवार्ड दिइएको थियो। अनि त्यतिबेला फेसबुक र ट्विटरमा कतिपय प्रयोगकर्ताहरूले उनलाई ‘दूरद्रष्टा तथा राष्ट्रनिर्माता’ भनिएकोमा व्यङ्ग्यात्मक टिप्पणीहरू भएका थिए।

तीन महिनापछि फेरि त्यही अवार्ड घोषणा गरेको भन्दै हार्दिक बधाई र शुभकामना दिने लहर चलिरहँदा कसैले पनि त्यो कस्तो खालको अवार्ड हो भन्ने खोजेको भेटिएन। शुभकामना सन्देश कपिपेस्ट र अरुले राखेकोमा कमेन्ट गर्न हतारिँदा साँचो कुरा छायाँमा पर्न गयो।

बीबीसी नेपालीले उतिबेलै यो सम्मान पाइसकेपछि बनाएको समाचारमा लेखिसकेको थियो- ‘सरकारी सञ्चारमाध्यमहरूले निकै महत्त्व दिएको र सामाजिक सञ्जालमा आलोचित बनेको उक्त सम्मान खासमा मानर्थ सम्मान मात्र भएको आयोजकले बताएका छन्।’

समाचारमा आयोजक आमोका काउन्सिल सदस्य एवम् नेपाल व्यवस्थापन सङ्घका महासचिव मोहन ओझाको कोट पनि छ- “नेपाल भ्रमण वर्ष पनि भएकाले आमोलाई हामीले यसपालिको कार्यक्रम नेपालमा गर्न आग्रह गर्‍यौँ। त्यो स्वीकृत भएर नेपालमा आयोजना गरियो। खासमा आमोले जुन देशमा कार्यक्रम आयोजना गर्छ त्यहाँका कार्यकारी प्रमुखलाई यस्तो सम्मान दिने गर्छ।”

खासमा “उक्त अवार्ड एसियाभरका उत्कृष्ट नेताहरू छानेर नदिइएको” उनले बताएका थिए।

सरकारी र अरु मिडियामा पनि माघमै ओलीले अवार्ड पाउँदा समाचार बनिसकेका थिए।


नेपाललाइभमा माघ २४ गते प्रकाशित समाचार


गोरखापत्रमा माघ २४ गते पहिलो पेजमा प्रकाशित समाचार।


सम्मान दिने संस्था आमोको वेबसाइटमा पनि प्रधानमन्त्री ओलीलाई सो अवार्ड हस्तान्तरण गरेको फोटो राखिएको छ।

संस्थाको ट्विटरमा पनि तीन महिना अघि अवार्ड दिएको घोषणा छ।

त्यसैले सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले नयाँ अवार्ड पाए जस्तै गरी राखिएका जानकारी भ्रामक छन्। Visionary Leader & National Builder Award-2020 दिने घोषणा अहिले भएको होइन, तीन महिना अघि नै पाइसकेको अवार्ड हो त्यो। तीन महिनाअघि नै पाइसकेको अवार्डका लागि अहिले बधाई दिन पनि पाइयो पाउन त। तर भर्खरै घोषणा भएको अवार्ड जस्तो गरी लेखिनु भने भ्रामक हो।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add