तथ्यजाँच मिथ्या सूचना

सरकारी समाचार एजेन्सी रासस नै फेक न्युज फैलाउँदै


सरकारी समाचार एजेन्सी रासस नै फेक न्युज फैलाउँदै


सूचना विभागमा दर्ता भएका अनलाइनदेखि मूलधारका टेलिभिजन र रेडियोले समेत भुटानमा २१ दिनसम्म लकडाउन गर्ने खबर राखेका छन्। यसबारे हिजो नै फ्याक्टचेक राखिसकिएको छ। तर अझै पनि यो खबर फैलने क्रम रोकिएको छैन। आज बिहान सेतोपाटीले पनि यही खबर राखेको छ।

खोज्ने क्रममा यो खबर सरकारी समाचार एजेन्सी राससले राखेको पाइयो। तर वेबसाइटहरुले यो समाचार राख्दा स्रोत खुलाएका छैनन्। चितवनको कालिका एफएमको वेबसाइटमा भने स्रोत रासस/एएनआई लेखिएको छ।

यो हिसाबले सरकारी समाचार एजेन्सी राससले नै यो फेक न्युज फैलाएको देखिन्छ। राससले यसको स्रोत एएनआई अर्थात् भारतीय समाचार एजेन्सी एसियन न्युज इन्टरनेसनल भएको लेखेको छ। के एएनआईले यो समाचार राखेको हो त ?

एएनआईमा यस्तो समाचार रहेछ-

एएनआईको समाचारमा कतै पनि लकडाउन लेखिएको छैन। यसमा त क्वारेन्टिनको अवधि २१ दिन बनाउने लेखिएको छ। कुन चाहिँ अजासुले अनुवाद गर्दा लकडाउन भनेर लेखिदिएछ, सबैतिर त्यही फेक न्युज फैलिएछ।

राससले पठाएको समाचार

राससले त गल्ती गर्‍यो नै, राससको समाचारलाई आफ्नो जस्तो बनाएर राख्दा अनलाइनहरु पनि डुबे।

भुटानी प्रधानमन्त्रीको आधिकारिक ट्विटर अकाउन्टमा ‘लकडाउन’ नभएर क्वारेन्टिनबारे उल्लेख छ-

भुटानी प्रधानमन्त्रीको आधिकारिक फेसबुक पेजमा यो बारे अझ विस्तृत उल्लेख छ-

समाचारले भुटानमा पनि नेपालमा जस्तै सर्वसाधारण घरबाहिर निस्कन नपाउने गरी ‘लकडाउन’ घोषणा गरिए झैँ भान हुन्छ। यो गलत हो। भुटानी प्रधानमन्त्रीले त्यहाँका विभिन्न जिल्लाहरुमा बनाइएका क्वारेन्टिन फेसिलिटीमा रहेका ३ हजार ४ सय जनालाई सम्बोधन गरेका हुन्। विदेशबाट आएका उनीहरुलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाइएकोमा अब चाहिँ त्यसलाई बढाएर २१ दिन बनाइएको हो।

मार्च २८ मा भुटानी प्रधानमन्त्रीले लकडाउन नगरिने उल्लेख गरेका थिए। भुटानी सरकारी समाचार एजेन्सी बीबीएसमा राखिएको समाचार अनुसार उनले एउटा समुदायबाट अर्को समुदायमा सर्ने गरी कम्युनिटी ट्रान्समिसन भएमा मात्रै त्यसलाई रोक्न लकडाउन गरिने बताएको उल्लेख छ।

लकडाउन नगरिए पनि प्रधानमन्त्रीको कार्यालयले भेला हुन, यात्रा गर्न, मनोरञ्जन आदि विभिन्न विषयमा प्रतिबन्ध लगाउने घोषणा मार्च २७ मा गरिसकेको छ।

क्वारेन्टिनमा बस्ने अवधिलाई २१ दिन बनाएकोमा लकडाउनको अवधि नै २१ दिन बनाएको समाचार गलत र भ्रम फैलाउने खालको छ।

(यो तथ्यजाँच सामग्री माइसंसारमा पनि प्रकाशित छ।)


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add