तथ्यजाँच मिथ्या सूचना

के इटालीको सडकमा नोट फ्याँकिएको हो?


के इटालीको सडकमा नोट फ्याँकिएको हो?

सामाजिक सञ्जालमा अहिले एउटा फोटो निकै भाइरल भइरहेको छ। फोटोमा सडकभरी नोट फ्याँकिएको देखिन्छ। सँगै लेखिएको छ, इटालीमा मान्छेहरुले सडकमा आफ्ना रुपैयाँ फाले। स्वास्थ्य नै खतरामा परेको बेला पैसाको काम छैन भन्ने सन्देश विश्वमा दिने दावी त्यसमा गरिएको छ। के यी फोटोहरुमा जस्तै साँच्चिकै इटालीका मान्छेहरुले कोरोना संकटका कारण सडकमा नोट फ्याँकेका हुन् त? हामीले फ्याक्टचेक गर्ने क्रममा भेटेका तथ्य यस्ता छन्।

यो पोस्टको आधिकारिकता थाहा पाउन हामीले यी फोटोको स्रोत खोज्यौँ। यी फोटोहरु सन् २०१९ को मार्च/अप्रिल महिनामा पनि एक पटक भाइरल भएको रहेछ। त्यतिबेला भने यी नोटहरु भेनेजुएलाको सडकमा फ्याँकिएको दावी गरिएको थियो। समाजवादी व्यवस्थाका कारण यसो भएको दावी त्यो पोस्टमा थियो।

स्नुप्सले यो विषयमा त्यतिबेला नै फ्याक्टचेक गरेको थियो। त्यसमा दिइएको जानकारी अनुसार यो फोटो भेनेजुएलाकै हो। तर त्यसको क्याप्सन भने गलत राखिएको छ। अर्थात् सही फोटो, भ्रम पार्ने गलत क्याप्सन।

खासमा अहिले इटालीको भन्दै भाइरल बनाइएको फोटो मार्च ११, २०१९ मा खिचिएको रहेछ। त्यो दिन हुड लगाएका तीन जनाले भेनेजुएलाको बाइसेन्टेनियल बैँक लुटेका थिए। उनीहरुले नै पुराना नोटहरुलाई त्यसरी सडकमा फ्याँकेका थिए। स्थानीय वेबसाइट मदुरादासमा त्यतिबेला अरु फोटोहरुसहित समाचारै राखिएको छ। ट्विटरमा पनि फोटोहरु आएका छन्

भाइरल भएको फोटो इटालीको नभएर भेनेजुएलामा बैँक लुट्नेहरुले फ्याँकेका हुन्। किनभने ती नोटहरु पुराना भएकाले काम लाग्ने थिएनन्। काम नलाग्ने भएकैले अरुले पनि ती नोटहरु सडकबाट उठाएनन्।

(यो तथ्यजाँच सामग्री माइसंसारमा पनि प्रकाशित छ।)

तपाईँ हामीले के गर्न सक्छौँ ?

यस्ता धेरै गलत सूचना अहिले फैलिरहेका छन्। यो पनि कोरोना भाइरस जस्तै संक्रमण हो। सूचना संक्रमण। इन्फोडेमिक। जसरी कोरोना फैलिन नदिन हात धुनुपर्छ, त्यसैगरी यस्तो सूचना संक्रमण फैलन नदिन पनि तपाईँ आफै जागरुक हुनुपर्छ। यस्ता समाचार तपाईँको मेसेन्जरमा आयो भने अरुलाई फरवार्ड गर्ने काम नगर्नुस्।

फेसबुकमा यस्ता गलत लाग्ने, शंकास्पद समाचार वा लिङ्कहरु भेटिएमा त्यसलाई सेयर, लाइक वा कमेन्ट नगर्नुहोला। तपाईँले त्यसो गर्नुभयो भने यस्ता गलत कुरा अझ फैलन सक्छ। एकदमै विश्वास लाग्ने स्रोतहरुबाट मात्र जानकारी लिनुस्।

(कोरोना भाइरससम्बन्धी तपाईँले पनि यस्ता गलत वा शंकास्पद जानकारीहरु पाउनु भएको छ भने हामीलाई [email protected] वा [email protected] मा पठाउन सक्नुहुन्छ। हामी त्यसबारे लेखेर अरुलाई सचेत बनाउने कोशिश गर्नेछौँ)


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add