तथ्यजाँच मिथ्या सूचना

के भुटानमा २१ दिन लकडाउन भएको हो?


के भुटानमा २१ दिन लकडाउन भएको हो?


एभिन्युज टेलिभिजनमा चैत १७ गते सोमबार राति “भुटानमा पनि ‘लकडाउन’ को अवधि २१ दिने बनाइयो” शीर्षकमा समाचार राखिएको छ। समाचारमा ‘भुटानमा लकडाउनको अवधि बढाएर २१ दिने बनाइएको र सोमवार घोषणा गरेको २१ दिने लकडाउन मंगलबारदेखि लागू हुने’ दावी गरिएको छ। त्यसैगरी ‘भुटानका प्रधानमन्त्रीको आधिकारीक ट्वीटर एकाउन्टमा सरकारले २१ दिने लकडाउन गर्ने निर्णय गरेको उल्लेख भएको र उच्च सर्तकताका लागि लकडाउन अत्यावश्यक वाध्यता बनेको प्रधानमन्त्रीको भनाइ’ भएको उल्लेख छ। समाचारमा दावी गरिएको छ, ‘भुपरिवेष्ठित मुलुक भुटानमा कोरोना भाइरसको सङ्क्रमण थप बढ्ने सम्भावनालाई मध्यनजर गर्दै २१ दिने लकडाउन घोषणा गरिएको हो।’

हामीले फ्याक्टचेक गर्ने क्रममा न भुटानमा लकडाउनको घोषणा भएको भेटायौँ, न भुटानी प्रधानमन्त्रीको ट्विटर एकाउन्टमा नै त्यस्तो केही लेखिएको देख्यौँ।


एभिन्युज टेलिभिजनको वेबसाइटमा राखिएको खबर।

भुटानी प्रधानमन्त्रीको आधिकारिक ट्विटर अकाउन्टमा ‘लकडाउन’ नभएर क्वारेन्टिनबारे उल्लेख छ-

भुटानी प्रधानमन्त्रीको आधिकारिक फेसबुक पेजमा यो बारे अझ विस्तृत उल्लेख छ-

एभिन्युज टेलिभिजनको समाचारले भुटानमा पनि नेपालमा जस्तै सर्वसाधारण घरबाहिर निस्कन नपाउने गरी ‘लकडाउन’ घोषणा गरिए झैँ भान हुन्छ। यो गलत हो। भुटानी प्रधानमन्त्रीले त्यहाँका विभिन्न जिल्लाहरुमा बनाइएका क्वारेन्टिन फेसिलिटीमा रहेका ३ हजार ४ सय जनालाई सम्बोधन गरेका हुन्। विदेशबाट आएका उनीहरुलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाइएकोमा अब चाहिँ त्यसलाई बढाएर २१ दिन बनाइएको हो।

मार्च २८ मा भुटानी प्रधानमन्त्रीले लकडाउन नगरिने उल्लेख गरेका थिए। भुटानी सरकारी समाचार एजेन्सी बीबीएसमा राखिएको समाचार अनुसार उनले एउटा समुदायबाट अर्को समुदायमा सर्ने गरी कम्युनिटी ट्रान्समिसन भएमा मात्रै त्यसलाई रोक्न लकडाउन गरिने बताएको उल्लेख छ।

लकडाउन नगरिए पनि प्रधानमन्त्रीको कार्यालयले भेला हुन, यात्रा गर्न, मनोरञ्जन आदि विभिन्न विषयमा प्रतिबन्ध लगाउने घोषणा मार्च २७ मा गरिसकेको छ।

क्वारेन्टिनमा बस्ने अवधिलाई २१ दिन बनाएकोमा लकडाउनको अवधि नै २१ दिन बनाएको भन्दै एभिन्युजले दिएको समाचार गलत र भ्रम फैलाउने खालको छ।

यद्यपि एभिन्युज टेलिभिजनकै समाचारलाई कपिपेस्ट गर्दै कतिपय अनलाइनहरुले यो गलत समाचार राखेका छन्। त्यसमा सूचना विभागमा दर्ता भएका नै अनलाइनहरु पनि छन्। केही उदाहरण-


लोकपथ सूचना विभागमा दर्ता भएको अनलाइन हो। यसले पनि यो फेक न्युज दिएको छ।


यसमा भएको समाचार एभिन्युजकै कपिपेस्ट हो।


पूर्वेली खबर पनि फेसबुकको भेरिफाइड र सूचना विभागमा दर्ता भएको अनलाइन हो। तर यसले पनि उही फेक न्युज राखेको छ।


त्यसैगरी सूचना विभागमा दर्ता भएको अर्को वेबसाइट डिसीनेपाल डट कमले पनि हुबहु यही फेक न्युज राखेको छ।

यी सबै समाचारहरु यी वेबसाइटहरुमा गलत मात्र छैनन्, हुबहु कपि गरिएका पनि छन्। यहाँसम्म कि ‘अमेरिकाको जोन्स हकिन्स विश्वविद्यालय’ भन्दै गलत नाम सबै समाचारमा रहेको छ। खासमा जोन हप्किन्स विश्वविद्यालय हुनुपर्ने हो।

गलत समाचारहरुबाट सतर्क रहौँ।

(यो तथ्यजाँच सामग्री माइसंसारमा पनि प्रकाशित छ।)

तपाईँ हामीले के गर्न सक्छौँ ?

यस्ता धेरै गलत सूचना अहिले फैलिरहेका छन्। यो पनि कोरोना भाइरस जस्तै संक्रमण हो। सूचना संक्रमण। इन्फोडेमिक। जसरी कोरोना फैलिन नदिन हात धुनुपर्छ, त्यसैगरी यस्तो सूचना संक्रमण फैलन नदिन पनि तपाईँ आफै जागरुक हुनुपर्छ। यस्ता समाचार तपाईँको मेसेन्जरमा आयो भने अरुलाई फरवार्ड गर्ने काम नगर्नुस्।

फेसबुकमा यस्ता गलत लाग्ने, शंकास्पद समाचार वा लिङ्कहरु भेटिएमा त्यसलाई सेयर, लाइक वा कमेन्ट नगर्नुहोला। तपाईँले त्यसो गर्नुभयो भने यस्ता गलत कुरा अझ फैलन सक्छ। एकदमै विश्वास लाग्ने स्रोतहरुबाट मात्र जानकारी लिनुस्।

(कोरोना भाइरससम्बन्धी तपाईँले पनि यस्ता गलत वा शंकास्पद जानकारीहरु पाउनु भएको छ भने हामीलाई [email protected] वा [email protected] मा पठाउन सक्नुहुन्छ। हामी त्यसबारे लेखेर अरुलाई सचेत बनाउने कोशिश गर्नेछौँ)


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add