तथ्यजाँच मिथ्या सूचना

के अन्नपूर्ण पोस्टको समाचारमा लेखिए जस्तै कोरोना भगाउन डिटोल पिलाइएको हो?


के अन्नपूर्ण पोस्टको समाचारमा लेखिए जस्तै कोरोना भगाउन डिटोल पिलाइएको हो?

अन्नपूर्ण पोस्टको अनलाइन संस्करणमा फागुन १० गते ‘कोरोना भगाउन क्रिश्चियन पास्टरले डिटोल पिलाइदिएपछि..’ शीर्षकमा समाचार राखिएको छ। समाचारमा एक महिलालाई पुरुषले डिटोलको बोतलबाट पिलाउँदै गरेको जस्तो देखिएको फोटो पनि राखिएको छ। समाचारमा ‘केन्यामा एक क्रिस्चियन पास्टरले चर्चका विश्वासीहरुलाई कोरोना भाइरस रोकथामका लागि भन्दै डिटोल पिलाएको तथ्य सार्वजनिक भएको’ लेखिएको छ। के यो सत्य हो त? हामीले फ्याक्टचेक गरेका छौँ। 

फ्याक्टचेकका क्रममा सबैभन्दा पहिले यो फोटो खोज्यौँ। यो फोटो दक्षिण अफ्रिका लगायतका अफ्रिकी देशहरुका वेबसाइटमा ४ वर्षअघि नै अर्थात् सन् २०१६ मै प्रकाशन भएको रहेछ। चार वर्षअघि कोरोना भाइरसको संक्रमण थिएन।

नाइजेरियाको वेबसाइटमा चार वर्षअघि प्रकाशित फोटो।

नाइजेरियाको अर्को वेबसाइटमा प्रकाशित समाचार।

यी फोटोहरुले डिटोल पिलाएको जस्तो देखिने यो फोटो र कोरोना भगाउन डिटोल पिलाएको समाचारको सम्बन्ध नभएको पुष्टि हुन्छ। फोटो मात्रै हैन, अन्नपूर्ण पोस्टको यो समाचारमा केही तथ्य पनि अमिल्दा छन्। हेरौँ अन्नपूर्ण पोस्टको समाचार-

समाचारको पहिलो लाइनमा लेखिएको छ- केन्यामा एक क्रिस्चियन पास्टरले चर्चका विश्वासीहरुलाई कोरोना भाइरस रोकथामका लागि भन्दै डिटोल पिलाएको तथ्य सार्वजनिक भएको छ।

तर दोस्रो लाइनमा लेखिएको छ- पछिल्लो समय कोरोना भाइरसको संक्रमण फैलन थालेपछि पास्टर रुफुस फालाले मक्गोदुस्थित एके स्पिरिचुअल चर्चमा आएका विश्वासीहरुलाई घरेलु किटाणु नासक डिटोल पिलाएका हुन् । सोही घटनापछि दक्षिण अफ्रिकामा ५९ जना मानिसको मृत्यु भएको थियो ।

अब तपाईँ आफै भन्नुस्, केन्यामा डिटोल पिलाएर दक्षिण अफ्रिकामा ५९ जनाको मृत्यु चाहिँ कसरी हुन्छ? एक ठाउँमा पिलाएर अर्को देशमा मृत्यु हुने यो कस्तो समाचार हो? समाचारमा लेखिएको मक्गोदु नामको ठाउँ केन्यामा हैन दक्षिण अफ्रिकामा छ। 

तर डिटोल पिलाएर दक्षिण अफ्रिका वा केन्या कतै पनि ५९ जनाको मृत्यु भएको खबर हामीले कुनै पनि विश्वसनीय मिडियामा आएको देखेनौँ।

अन्नपूर्ण पोस्टको समाचारमा केन्या टुडेको फ्याक्टचेकपछि हालै सार्वजनिक रिपोर्ट भनिएको छ। केन्या टुडेले यसबारे समाचार राखेको त थियो, तर गल्ती महसूस गरेर हो कि किन हो अहिले भने हटाइसकेको छ। 

अन्नपूर्ण पोस्टले न यो समाचारको स्रोत खुलाएको छ न फोटोको। फोटो २०१६ मै प्रकाशित भइसकेकोले फाइल फोटो भनेर पनि लेखिएको छैन। त्यसैले अन्नपूर्ण पोस्टको यो समाचार गलत र भ्रम फैलाउने खालको देखिन्छ।

अन्नपूर्ण पोस्टको फेसबुकमा यो समाचारमा ३७० कमेन्ट छन् भने ९२९ पटक सेयर भएको छ। यसले यो फेक न्युजले कति धेरैलाई भ्रममा पारेको रहेछ भन्ने प्रष्ट हुन्छ।

तर राष्ट्रिय स्तरको मूलधारको मिडिया भएकोले होला, थुप्रै कपिपेस्ट अनलाइनहरुले यो समाचारलाई हुबहु कपि गरेका छन्। केही उदाहरण हेर्नुस्-

यो अर्को कपिपेस्ट

त्यस्तै यही समाचार यता पनि कपिपेस्ट भएको देखिन्छ

अर्को कपिपेस्ट

यता पनि त्यही

(यो तथ्यजाँच सामग्री माइसंसारमा पनि प्रकाशित छ।)

तपाईँ हामीले के गर्न सक्छौँ ?

यस्ता धेरै गलत सूचना अहिले फैलिरहेका छन्। यो पनि कोरोना भाइरस जस्तै संक्रमण हो। सूचना संक्रमण। इन्फोडेमिक। जसरी कोरोना फैलिन नदिन हात धुनुपर्छ, त्यसैगरी यस्तो सूचना संक्रमण फैलन नदिन पनि तपाईँ आफै जागरुक हुनुपर्छ। यस्ता सामाग्री तपाईँको मेसेन्जरमा आयो भने अरुलाई फरवार्ड गर्ने काम गर्नुहुन्न। बरु यस्तो हावा कुरा नपठाउ भनेर पठाउनेलाई भन्नुपर्छ।

फेसबुकमा यस्ता गलत लाग्ने, शंकास्पद समाचार वा लिङ्कहरु भेटिएमा त्यसलाई सेयर, लाइक वा कमेन्ट नगर्नुहोला। तपाईँले त्यसो गर्नुभयो भने यस्ता गलत कुरा अझ फैलन सक्छ। एकदमै विश्वास लाग्ने स्रोतहरुबाट मात्र जानकारी लिनुस्।

(कोरोना भाइरससम्बन्धी तपाईँले पनि यस्ता गलत वा शंकास्पद जानकारीहरु पाउनु भएको छ भने हामीलाई blog@mysansar.com वा editor@nepalfactcheck.org मा पठाउन सक्नुहुन्छ। हामी त्यसबारे लेखेर अरुलाई सचेत बनाउने कोशिश गर्नेछौँ)


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add