तथ्यजाँच मिथ्या सूचना

के कोरोना संक्रमितले जन्माएका जुम्ल्याहाको नाम ‘कोरोना’ र ‘भाइरस’ राखिएको हो?


के कोरोना संक्रमितले जन्माएका जुम्ल्याहाको नाम ‘कोरोना’ र ‘भाइरस’ राखिएको हो?


सामाजिक सञ्जालमा अहिले एउटा ‘रोचक’ समाचार भाइरल भइरहेको छ। समाचारमा मेक्सिकोमा एक संक्रमित महिलाले जुम्ल्याहा बच्चा जन्माएको र त्यसको नाम उनीहरुले ‘कोरोना’ र ‘भाइरस’ राखेको दावी गरिएको छ। सुन्ने बित्तिकै शंका लाग्ने भए पनि यो समाचार साँचो ठानेर सयौँले सेयर गरिरहेका छन्। सूचना विभागमा दर्ता भएका अनलाइनदेखि कपिपेस्ट अनलाइनहरुले समेत यो समाचार राखेका छन्। हामीले फ्याक्टचेक गर्ने क्रममा यो समाचारबारे भेटेका तथ्य यस्तो छ। 

यो समाचार क्यानडानेपाल डट कमले चैत १६ गते आइतबार प्रकाशन गरेको हो। यो सूचना विभागमा दर्ता भएको न्युजपोर्टल हो। समाचारमा कुन स्रोतबाट यो समाचार लिइएको हो, उल्लेख गरिएको छैन।

यही समाचार विभिन्न फेसबुक ग्रुपहरुमा भाइरल भएका छन्। जस्तै यो ग्रुप-

यो ग्रुपमा यो समाचारलाई ४१९ पटक सेयर गरिएको छ। कमेन्ट १७८ वटा छन् भने साढे ६ हजार रियाक्सन छन्। यसमा क्यानडानेपालकै समाचार कपिपेस्ट गरिएको छ।

त्यसैगरी यो समाचार यो ग्रुपमा पनि सेयर गरिएको छ।

यसमा साढे १ हजार रियाक्सन, ३७ कमेन्ट र ११५ सेयर छन्। यसबाहेक अरु थुप्रै कपिपेस्ट अनलाइनहरुले पनि यो समाचार हालेका छन्।

यो समाचारको स्रोत वर्ल्डन्युजडेलीरिपोर्ट डट कम हो। २७ मार्चमा यो वेबसाइटले कोरोना भाइरस संक्रमित एक महिलाले मेक्सिकोमा जुम्ल्याहा बच्चा जन्माएको र उनीहरुको नाम कोरोना र भाइरस राखिएको दावी गरेको छ।

तर बुझ्नु पर्ने कुरा के हो भने वर्ल्डन्युजडेली रिपोर्ट डट कम यस्तै व्यङ्ग्यात्मक फेक समाचारहरु राख्ने साइट हो। यसमा राखिएका कुनै पनि समाचार सही हुँदैनन् तर सही जस्तो लाग्ने गरी बनाइएका हुन्छन्। वेबसाइटले प्रष्ट रुपमा आफ्ना समाचारहरु सही नहुने लेखेको छ-

World News Daily Report assumes all responsibility for the satirical nature of its articles and for the fictional nature of their content. All characters appearing in the articles in this website – even those based on real people – are entirely fictional and any resemblance between them and any person, living, dead or undead, is purely a miracle.

यस्तो फेक न्युजमा  विश्वास गरेर नेपालका न्युजसाइट आफू त झुक्कियो नै, पाठकलाई समेत झुक्यायो। त्यही समाचारलाई सही ठानेर सेयर गरेर पाठकहरु पनि झुक्किए।

अब तपाईँलाई लाग्ला, फोटोमा देखिएकी महिला चाहिँ को हुन् त ?

उनी युट्युबर हुन्। उनको नाम जुडी हो। उनकै भिडियोको थम्बनेलबाट यो फोटो डाउनलोड गरिएको हो-

उनले जुम्ल्याहा बच्चा जन्माएको सन् २०१४ अर्थात् ६ वर्षअघि हो। भिडियो हेर्न यहाँ क्लिक गर्नुस्।

आफ्नो फेक न्युज भाइरल भएको थाहा पाएपछि उनले यस्तो भिडियो बनाएकी छिन्-

(यो तथ्यजाँच सामग्री माइसंसारमा पनि प्रकाशित छ।)

तपाईँ हामीले के गर्न सक्छौँ ?

यस्ता धेरै गलत सूचना अहिले फैलिरहेका छन्। यो पनि कोरोना भाइरस जस्तै संक्रमण हो। सूचना संक्रमण। इन्फोडेमिक। जसरी कोरोना फैलिन नदिन हात धुनुपर्छ, त्यसैगरी यस्तो सूचना संक्रमण फैलन नदिन पनि तपाईँ आफै जागरुक हुनुपर्छ। यस्ता समाचार तपाईँको मेसेन्जरमा आयो भने अरुलाई फरवार्ड गर्ने काम नगर्नुस्।

फेसबुकमा यस्ता गलत लाग्ने, शंकास्पद समाचार वा लिङ्कहरु भेटिएमा त्यसलाई सेयर, लाइक वा कमेन्ट नगर्नुहोला। तपाईँले त्यसो गर्नुभयो भने यस्ता गलत कुरा अझ फैलन सक्छ। एकदमै विश्वास लाग्ने स्रोतहरुबाट मात्र जानकारी लिनुस्।

(कोरोना भाइरससम्बन्धी तपाईँले पनि यस्ता गलत वा शंकास्पद जानकारीहरु पाउनु भएको छ भने हामीलाई [email protected] वा [email protected] मा पठाउन सक्नुहुन्छ। हामी त्यसबारे लेखेर अरुलाई सचेत बनाउने कोशिश गर्नेछौँ)


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add