तथ्यजाँच मिथ्या सूचना

अहँ, रुसका सडकमा पुटिनले ८ सय वटा सिंह छाडेका छैनन्, फेक न्युज नपत्याउनुस् !


अहँ, रुसका सडकमा पुटिनले ८ सय वटा सिंह छाडेका छैनन्, फेक न्युज नपत्याउनुस् !

सामाजिक सञ्जालमा एउटा खबर निकै सेयर भइरहेको छ। त्यसमा भनिएको छ- कोरोना संक्रमणबाट बच्ने उपायका रुपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले करिब ८ सय बाघ र सिंहलाई सडकमा खुल्ला छाडिदिएका छन्। नागरिकहरु डराएर घरबाट ननिस्कून् भनेर त्यसो गरिएको रे। साथमा एउठा सडकमा एउटा सिंह हिँडिरहेको फोटो पनि छ। विश्वासिला मानिने वरिष्ठ पत्रकारहरुबाट नै यो खबर सेयर भएको देखेपछि धेरैले हो भन्ठाने। तर वास्तवमा यो गलत हो। कसरी ? आउनुस् विस्तृतमा बुझौँ।

सडकमा सिंह हिँडेको यो फोटो नयाँ होइन। इन्टरनेटमा बारम्बार यो फोटो अनेक हल्ला मच्चाउन उपयोग भइरहेको देखिन्छ। चार वर्षअघि जापानमा यही फोटोले तहल्का मच्चाएको थियो। जापानको कुमामोटोमा भूइँचालो गएपछि एक युवकले सडकमा सिंह भन्दै यही फोटो ट्विट गरेका थिए। झुटो जानकारी ट्विट गरेको भन्दै प्रहरीले त्यतिबेला उनलाई पक्राउ गरेको थियो।

एक घण्टामा २० हजार पटक रिट्विट भएको थियो उनको ट्विट।

हेर्नुस् त्यतिबेला टोक्यो रिपोर्टरमा आएको समाचार

खासमा यो फोटो न रसियाको हो न जापानको। यो त दक्षिण अफ्रिकाको जोहानसवर्गको फोटो हो। युकेको मेट्रो न्युजमा सन् २०१६ मा प्रकाशित रिपोर्ट अनुसार फिल्म सुटिङका लागि कोलम्बस नामको यो सिंहलाई त्यसरी सडकमा छाडिएको हो।

त्यो सिंहलाई त एक्टिङका लागि पो सडकमा पठाइएको रहेछ। त्यसैलाई लिएर के के सम्म हल्ला गर्न भ्याए मानिसहरुले। फटाहाहरुले त्यसलाई कोरोनासँग पनि जोड्न भ्याए।

अब तपाईँलाई लाग्यो होला त्यो माथि सबैभन्दा पहिलो फोटोमा त ब्रेकिङ न्युज भनेरै लेखिएको छ नि टिभीमा आएको जस्तो। त्यो चाहिँ के हो त ?

पख्नुस्, तपाईँलाई त्यो पनि के हो प्रष्टैसँग बुझाउँछु। ध्यान दिएर हेर्नुस् त त्यो फोटोमा के लेखिएको छ?  दायाँ छेउमा ब्रेकयोरओनन्युज डट कम लेखिएको छ। त्यो भनेको टिभीको स्क्रिनमा देखिए जस्तो गरेर आफैले ब्रेकिङ न्युज बनाउन दिने वेबसाइट हो।

त्यो साइटमा गएर हेडलाइन र टिकर हालेपछि ठ्याक्कै यस्तै खालको टिभी स्क्रिनमा देखिएको जस्तो फोटो आउँछ। तल हेर्नुस् मैले बनाएको-

यसरी फेसबुक चलाउनेहरुलाई मूर्ख बनाइएको हो। अब फेरि त्यो साइटमा गएर अनेक फोटोहरु बनाएर मान्छेलाई उल्लु बनाउने काम चाहिँ नगर्नुस् नि फेरि !

तपाईँ हामीले के गर्न सक्छौँ ?

यस्ता धेरै गलत सूचना अहिले फैलिरहेका छन्। यो पनि कोरोना भाइरस जस्तै संक्रमण हो। सूचना संक्रमण। इन्फोडेमिक। जसरी कोरोना फैलिन नदिन हात धुनुपर्छ, त्यसैगरी यस्तो सूचना संक्रमण फैलन नदिन पनि तपाईँ आफै जागरुक हुनुपर्छ। यस्ता अडियो तपाईँको मेसेन्जरमा आयो भने अरुलाई फरवार्ड गर्ने काम गर्नुहुन्न। बरु यस्तो हावा कुरा नपठाउ भनेर पठाउनेलाई भन्नुपर्छ।

फेसबुकमा यस्ता गलत लाग्ने, शंकास्पद समाचार वा लिङ्कहरु भेटिएमा त्यसलाई सेयर, लाइक वा कमेन्ट नगर्नुहोला। तपाईँले त्यसो गर्नुभयो भने यस्ता गलत कुरा अझ फैलन सक्छ। एकदमै विश्वास लाग्ने स्रोतहरुबाट मात्र जानकारी लिनुस्।

(कोरोना भाइरससम्बन्धी तपाईँले पनि यस्ता गलत वा शंकास्पद जानकारीहरु पाउनु भएको छ भने हामीलाई [email protected] वा [email protected] मा पठाउन सक्नुहुन्छ। हामी त्यसबारे लेखेर अरुलाई सचेत बनाउने कोशिश गर्नेछौँ)


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add