तथ्यजाँच मिथ्या सूचना

सामाजिक सञ्जालमा फैलिएको विजय शाहीको मृत्युको खबर गलत


सामाजिक सञ्जालमा फैलिएको विजय शाहीको मृत्युको खबर गलत

मंगलबार सामाजिक सञ्जालमा विजय शाहीको मृत्यु भएको दावी गर्दै फोटोसहितको पोस्ट भाइरल भएको छ। आफूसित अद्‍भूत स्मरण शक्ति रहेको दावी गरेर मिडियामा छाएका उनी केही समयअघि अमेरिकी नागरिक नेल्सन डेलिसले बनाएको भिडियोबाट चर्चामा थिए। के साँच्चै सामाजिक सञ्जालमा दावी गरिए जस्तै शाहीको मृत्यु भएको हो त?  हामीले तथ्य जाँच गरेका छौँ।


विजय शाहीको निधन भएको भन्दै हार्दिक श्रद्धाञ्जलिसमेत लेखिएको पोस्ट उनका शिक्षक दीपकबहादुर शाहीले पहिलो पटक फेसबुकमा राखेका थिए। फोटोमा विजय शाही जस्तो देखिने व्यक्ति नाकमा कपास कोचेको अवस्थामा देखिन्थ्यो।  उनले यो पोस्ट केही समयपछि हटाए। तर अरु थुप्रैले यही फोटो सहित सामाजिक सञ्जालमा मृत्युको बारेमा लेखे।

एनईबी रिजल्ट नामको फेसबुक पेजमा देखिएको पोस्ट।

कर्णाली न्युज टिभी नामको फेसबुक पेजमा राखिएको पोस्ट।

आफूलाई फेसबुकमा पत्रकारका रुपमा चिनाएका अभिनन्दन बस्नेतले पनि ‘हार्दिक श्रद्धाञ्जलि मित्र’ भन्दै विजय शाहीका फोटोहरु राख्दै उनको मृत्यु भएको बारेमा लेखे। तर पछि उनले पनि यो पोस्ट डिलिट गरेका छन्। र, अर्को पोस्टमा ‘गलत जस्तो लाग्यो’ लेख्दै गलत प्रचार गर्नेलाई कारबाहीको माग गरेका छन्।

सामाजिक सञ्जालमा दीपकबहादुर शाहीले नै फेसबुक मेसेन्जरमा पठाएको जस्तो देखिने एउटा च्याट स्क्रिनसट पनि भेटिएको छ जसमा उनले विजयको मृत्यु भएको भन्दै  विभिन्न कोणका चार वटा फोटो राखेको देखिएको छ।

 

त्यसैगरी फेसबुकमा विमला विकिरण नाममा पनि विजय शाहीको आत्मा टाढा गएको, शरीर सकुशल रहेको, भोलि बिहान दोस्रो जन्म हुने, प्रहरीले मुचुल्का गरिरहेको दावीसहितको पोस्ट गरिएको थियो। पछि त्यो पोस्टलाई एडिट गरी ‘उसैले जे जे भन्यो त्यही लेखेको हो। यो बनाएर लेखिएको होइन’ लेखिएको थियो।

तर केही समयपछि यो पोस्ट पनि डिलिट गर्दै अर्कै स्टाटस लेखेकी छिन्-

के हो तथ्य ?

सामाजिक सञ्जालमा उनको मृत्युको खबर फैलिएको केही समयपछि  नै अनलाइन मिडियाले यसबारे प्रहरीलाई उद‍्‍धृत गर्दै समाचार दिएका छन्। अनलाइनखबरले कालिकोटका प्रहरी प्रमुख डीएसपी चक्रबहादुर शाहलाई उद्‍धृत गर्दै विजय शाही महावै गाउँपालिकास्थित घरमै आराम गरिरहेको उल्लेख गरेको छ। शाही निकट व्यक्तिहरुले नै मृत्यु भएको भन्दै सामग्री पोष्ट गर्नुको कारणबारे पनि प्रहरीले खोजी थालेको अनलाइनखबर लेख्छ।

मृत्युको हल्ला फिँजाइएका विजय शाही घरमै भेटिए शीर्षकमा नेपालप्रेसमा प्रकाशित समाचारमा पनि डिएसपी शाहलाई उद्‍धृत गर्दै मृत्युको हल्ला झुटो भएको उल्लेख छ। सामान्य विरामी भएर अस्पताल गएका शाही आफ्नो महावै गाउँपालिका वडा नं. ५ स्थित घरमा आइसकेकाे जानकारी दिँदै शाहले भनेका छन्, ‘मैले विजय शाहीको गाउँमा प्रहरीलाई बुझ्न पठाएको थिएँ । उनीहरुले शाहीलाई घरमै भेटेको बताएका छन् । मृत्युको हल्ला झूटो रहेछ।’

त्यसैगरी रातोपाटीमा पनि डिएसपी शाहलाई उद्‍धृत गर्दै विजय शाहीले आफू बिरामी भएको हुनाले आराम गरिरहेको बताएको उल्लेख गरेको समाचार प्रकाशित गरेको छ।

तथ्य जाँच

दावी : विजय शाहीको मृत्यु भयो।

तथ्य :  मिथ्या जानकारी। प्रमुख अनलाइन मिडियाहरुमा आएको कालिकोटका प्रहरी प्रमुख डिएसपी शाहको भनाई र सुरुमा यो खबर फेसबुकमा राख्नेहरुले नै पछि हटाएका कारण उनको मृत्युको खबर मिथ्या रहेको देखिन्छ।

सेन्टर फर मिडिया रिसर्चमाइसंसारको संयुक्त प्रयासमा सोसल मिडियामा भाइरल भएका र मिडियामा आएका समाचारहरुको तथ्य जाँच हामी गरिरहेका छौँ। तपाईँलाई शंका लागेका लिङ्क, फोटो वा भिडियो हामीलाई निम्न बमोजिम पठाउन सक्नुहुन्छ-


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add