तथ्यजाँच मिथ्या सूचना

के अमेरिकाले नेपाललाई ५० लाख डोज खोप दिन लागेको हो?


के अमेरिकाले नेपाललाई ५० लाख डोज खोप दिन लागेको हो?

अमेरिकाले नेपाललाई ५० लाख डोज खोप सहयोग स्वरुप दिन लागेको समाचार बिहीबार राति सामाजिक सञ्जाल र केही अनलाइन मिडियाहरुमा आए। ती समाचारको तथ्य जाँच हामीले गरेका छौँ।

अमेरिकाले नेपाललाई ५० लाख डोज खोप सहयोग गर्न लागेको दावीसहितको ट्विट सबैभन्दा पहिला राष्ट्रपति विद्या भण्डारीका सञ्चार विज्ञ टीका ढकालले गरेका थिए। ट्विटरमा उनले ‘राष्ट्रपतिको अग्रसरता र नेपाल सरकारको क्रियाशिलताले..’ ‘अमेरिकाले नेपाललाई ५० लाख डोज खोप उपलब्ध गराउन’ लागेको दावी गरेका थिए।

उनको यो ट्विटसँगै धेरै अनलाइन मिडियाहरुमा यसबारे समाचार आउन थाल्यो। ‘देशसञ्चार’ले अमेरिकाबाट आउँदैछ ५० लाख कोभिड भ्याक्सिन शीर्षकमा समाचार राख्यो।

हेर्नुस् समाचारको अर्काइभ लिङ्क। 

देशसञ्चारका सम्पादक युवराज घिमिरेले पनि यही समाचारको लिङ्कसहित ट्विट गरे-

अरु थुप्रै अनलाइनहरुले पनि यही व्यहोराको समाचार राखे-

के हो तथ्य ?

ह्वाइट हाउसले जुन ३, २०२१ मा आफ्नो आधिकारिक वेबसाइटमार्फत् एउटा विज्ञप्ति सार्वजनिक गरेको छ, जसमा विश्वभरी साढे दुई करोड डोज खोप बाँड्ने बारे उल्लेख छ। अमेरिकाले कूल ८ करोड डोज खोप विश्व भर बाँड्न लागेको हो जसमध्ये ७५ प्रतिशत कोभ्याक्स मार्फत् वितरण गर्नेछ। विभिन्न देशका सरकार, अन्तर्राष्ट्रिय संस्था, फाउन्डेशनहरू तथा निजी क्षेत्रबाट प्राप्त एवं सिईपिआई, गावी, युनिसेफ र विश्व स्वास्थ्य संगठनको सह-योजना मार्फत कोभ्याक्स अन्तर्गत विश्वमा खोप वितरण गरिँदैछ।

त्यसमध्ये करिब ७० लाख डोज खोप एसियाका निम्न देशहरुका लागि दिने विज्ञप्तिमा उल्लेख छ- भारत, नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, लाओस, पपुवा न्युगिनी, ताइवान र प्यासिफिक आइल्यान्डस्।

नेपालले ठ्याक्कै कति डोज खोप पाउने त्यसमा स्पष्ट उल्लेख छैन।

राष्ट्रपतिका सञ्चार विज्ञ ढकालले पनि पछि ट्विट गर्दै आफ्नो कुरा सच्याएका छन्-

देशसञ्चारले पनि आफ्नो समाचार सच्याएको छ।

दावी : अमेरिकाले नेपाललाई ५० लाख डोज खोप पठाउँदैछ।

तथ्य : मिथ्या सूचना । अमेरिकाले नेपाललाई कति डोज खोप पठाउने स्पष्ट छैन। ह्वाइट हाउसको विज्ञप्तिमा एसियाका विभिन्न देशमा पठाइने ७० लाख डोज खोपमध्ये नेपालको पनि नाम रहेको हो।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add