तथ्यजाँच मिथ्या सूचना

नेपालको फिफा वरियतामा सुधार भएको समाचार गलत


नेपालको फिफा वरियतामा सुधार भएको समाचार गलत

केही नेपाली मिडियाले फिफा वरीयतामा नेपाली पुरुष फुटबल टिमको स्थान तीन अङ्कले सुधार भएको समाचार प्रकाशित गरेका छन्। नेपालले सन् २०२२ को विश्वकप र सन् २०२३ को एसियन कप छनोटमा गरेको प्रदर्शन लगत्तै यस्तो समाचार आएको हो। प्रदर्शनका क्रममा नेपालले आफूभन्दा ३० स्थान माथिको चाइनिज ताइपेईलाई २-० ले हराएको थियो। जोर्डन र अष्ट्रेलियासँग भने पराजित भएको र अर्को मैत्रिपूर्ण खेलमा इराकसँग ६-२ ले नेपाल हारेको थियो। के साँच्चिकै नेपालको फिफा वरियतामा सुधार भएकै हो? यो विषयमा हामीले तथ्य जाँच गरेका छौँ।

२०७८ असार २ गते बुधबार कान्तिपुर दैनिकको अन्तिम पेजमा ‘फिफा वरीयतामा तीन स्थानमाथि’ शीर्षकको समाचार प्रकाशित भएको छ। कान्तिपुरकै अनलाइन इकान्तिपुर डट कममा पनि ‘फिफा वरीयतामा नेपाल तीन स्थानमाथि’ शीर्षकमा समाचार अपडेट भएको छ।

कान्तिपुरको समाचार अनुसार ‘नयाँ वरीयतामा नेपाल १ सय ७१ औं स्थानबाट १ सय ६८ औं स्थानमा पुगेको हो ।’

‘नेपालले एसियाली विश्वकप छनोटमा आफ्ना तीन खेलपछि यो वरीयताबाहिर आएको’ र ‘सन् २०१९ पछि नेपालको वरीयतामा सुधार आएको ’ दावी पनि कान्तिपुरको समाचारमा छ।

खेलसम्बन्धी समाचारलाई प्राथमिकता दिने वेबसाइट  नेप्लेज डट कमले २ वर्षपछि वरीयता सुधार भन्दै फिफाले सार्वजनिक गरेको दावी गरेको छ।

यस्तै मेरो खेल डट कमले फिफाले सार्वजनिक गरेको वरियता दावी गर्दै समाचार लेखेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले पनि आफ्नो फेसबुकमा नेपालको वरीयता सुधार भएको  एउटा स्क्रिनसट सेयर गरेका थिए।

नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पनि त्यसलाई सेयर गरेका थिए।

के हो तथ्य ?

के साँच्चै नेपालको वरीयता सुधार भएकै हो त?  विश्व फुटबलको वरीयता फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गर्छ।

नेपालको यो नयाँ वरियताबारे भने फिफामा केही उल्लेख छैन । फिफाले पछिल्लो पटक २७ मे मा वरीयता अपडेट गरेको थियो, जहाँ नेपाल १७१औं स्थानमै छ। त्यसमा यी समाचारहरु सार्वजनिक हुँदासम्म कुनै नयाँ अपडेट भएको देखिन्न।

कताबाट आयो वरीयताको अपडेट?

खासमा football-ranking.com भन्ने वेवसाइटले दैनिक रुपमा फुटबलको वरीयता अपडेट गर्ने गर्छ ।

 

मंगलबार सार्वजनिक भएको स्क्रिनसट त्यही वेबसाइटमा रहेको वरीयताको हो। त्यसैलाई आधारमा मानेर एन्फा अध्यक्ष र हेड कोचले त्यो पोष्ट गरे। त्यसैलाई नेपाली मिडियाले फलो गरे, तर फिफाको अपडेट हेरेनन् ।

तथ्य जाँच

दावी : नेपालको फिफा वरियतामा तीन स्थान सुधार भयो।

तथ्य जाँच : मिथ्या सूचना । फिफाले मे २७ मा पछिल्लो पटक वरियता सार्वजनिक गरेको थियो। त्यसयता नयाँ वरियता आएको छैन। नेपालको स्थान १७१ औँ नै छ। त्यसमा सुधार भएको छैन।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add