तथ्यजाँच मिथ्या सूचना

डेनमार्कले १४ लाख डोज खोप दिने खबर गलत


डेनमार्कले १४ लाख डोज खोप दिने खबर गलत

डेनमार्क सरकारले नेपाललाई कोभिड विरुद्धको १४ लाख खोप अनुदानमा दिन लागेको समाचार आइतबार विभिन्न अनलाइन मिडिया र सामाजिक सञ्जालमा छायो।

ती समाचारहरुमा डेनिस सरकारले अस्ट्राजेनेकाको खोप दिन लागेको र युनिसेफमार्फत् खोप सहयोग गर्ने पत्र प्राप्त भइसकेको दावी गरिएको छ।

हामीले यसबारे तथ्य जाँच गरेका छौँ।

कुन मिडियामा कस्ता समाचार ?

डेनमार्कले नेपाललाई १४ लाख डोज एस्ट्राजेनेका खोप दिने शीर्षकको समाचारमा रातोपाटीले आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख डा.भिम सिंह तिंकरीलाई उद्‍धृत गर्दै १४ लाख खोप पठाउने बारे डेनमार्क सरकारले डेनमार्क सरकारले पत्र पठाइसकेको उल्लेख छ।

हेर्नुस् अर्काइभ लिङ्क

त्यसैगरी बाह्रखरी अनलाइनले ‘डेनमार्कले नेपाललाई १४ लाख डोज खोप दिने’ शीर्षकको समाचारमा खोप विभागका प्रमुख डा. झलक गौतमलाई उद्‍धृत गर्दै डेनमार्कमा प्रयोग नभइरहेको अष्ट्राजेनिकाको खोप ल्याउनका लागि विभागले पहल गरिरहेको र सोही खोप १४ लाख डोज नेपालले पाउन लागेको बताएको उल्लेख छ।

हेर्नुस् अर्काइभ लिङ्क

त्यस्तै इमेज च्यानल टेलिभिजन र रेडियोको अनलाइन इमेजखबरले पनि ‘डेनमार्कले नेपाललाई १४ लाख डोज खोप उपलब्ध गराउने’ शीर्षकको समाचारमा पनि यस्तै दावी उल्लेख छ। कसैलाई उद्‍धृत नगरिएको यो समाचारमा ‘भारतको सेरम ईन्स्टिच्युटले बनाएको कोभिशिल्ड खोप नै डेनमार्कले दिन लागेको’समेत दावी गरिएको छ।

अर्काइभ लिङ्क हेर्नुस्

‘डेनमार्कले नेपाललाई अनुदानमा कोभिड विरुद्धको १४ लाख डोज खोप दिने’ शीर्षकमा नेपाललाइभले पनि स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा भीमसिंह टिंकरीलाई उद्‍धृत गर्दै यही समाचार लेखेको छ। नेपाललाइभको भगिनी संस्था स्वास्थ्यखबरमा पनि यही समाचारमा छ।


हेर्नुस् नेपाललाइभको समाचारको अर्काइभ लिङ्क
हेर्नुस् स्वास्थ्यखबरको समाचारको अर्काइभ लिङ्क

शिलापत्र अनलाइनले पनि ‘डेनमार्कले नेपाललाई १४ लाख खोप दिने’ शीर्षकमा आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख डा. भिम सिंह तिंकरीलाई उद्धृत गर्दै युनिसेफमार्फत डेनिस सरकारले नेपाललाई सहायतामा १४ लाख खोप उपलब्ध गराउन लागेको दावी गरेको छ।

हेर्नुस् अर्काइभ लिङ्क

त्यसैगरी यही समाचार अरु थुप्रै अनलाइन मिडियाहरुमा पनि आएको छ। उदाहरणका लागि-

नेपाल समय : डेनमार्कले १४ लाख खोप सहयोग गर्ने

प्रशासन : डेनमार्कले नेपाललाई १४ लाख डोज खोप प्रदान गर्ने

खबरहब : डेनमार्कले नेपाललाई कोभिडविरुद्धको १४ लाख डोज खोप दिने

काठमाण्डुपाटी : डेनमार्कले नेपाललाई १४ लाख डोज खोप उपलब्ध गराउने

मेरोन्युज : नेपाललाई डेनमार्कले १४ लाख डोज खोप दिने

दृष्टिन्युज : डेनमार्कले नेपाललाई १४ लाख डोज कोरोना खोप दिने

के हो तथ्य ?

यो समाचार बारे ‘डेनमार्कले नेपाललाई १४ लाख डोज खोप दिन लागेको हो?’ शीर्षकमा सेतोपाटीले समाचार लेखेको छ। त्यसमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णराज पौडेलले ‘डेनमार्क नेपाललाई खोप दिन इच्छुक रहे पनि त्यो कति परिणाममा दिने भने टुंगो नभएको’ बताएका छन्।

यो विषयमा समाचार लेखेको अनलाइनखबरले अहिले शीर्षक परिवर्तन गरी ‘नेपाललाई खोप उपलब्ध गराउन डेनमार्क सकारात्मक’ बनाएको छ र साथमा सूचना लेखेको छ-‘सरकारी अधिकारीले डेनमार्कले खोप उपलब्ध गराउने भनेपनि कति र कहिले भन्ने प्रष्ट नभएकाले यो समाचार सच्याएका छौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं ।’

नेपाललाइभ टुडेले पनि समाचार सच्याएर सूचना राखेको छ- *Correction: Earlier, Nepal Live Today also reported that Denmark was sending over a million doses of vaccines to Nepal under grant assistance. The MoHP later confirmed to NL Today that there has been no official confirmation from Denmark. We regret the error.

यो विषयमा अस्पष्टता भएपछि हामीले डेनमार्कको विदेश मन्त्रालयलाई इमेल गरेका थियौँ। डेनिस विदेश मन्त्रालयको प्रेस विभागले यो समाचार गलत भएको पुष्टि गरेको छ।

 

दावी : डेनमार्कले नेपाललाई अनुदानमा कोभिड-१९ विरुद्धको १४ लाख डोज खोप दिने भएको छ।

तथ्य : मिथ्या सूचना । डेनमार्कको विदेश मन्त्रालयले यो समाचार गलत रहेको बताएको छ। समाचार प्रकाशन गर्ने अनलाइनखबर र नेपाललाइभ टुडेले पनि आफ्नो समाचार सच्याइसकेका छन्। तसर्थ डेनमार्कले १४ लाख डोज खोप दिने समाचार मिथ्या ठहर्छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add