तथ्यजाँच मिथ्या सूचना

नेपालमा प्रयोग भएको चिनियाँ खोपले डब्लुएचओको मान्यता पाएको हो कि होइन?


नेपालमा प्रयोग भएको चिनियाँ खोपले डब्लुएचओको मान्यता पाएको हो कि होइन?

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले ७ मे २०२१ मा कोभिड-१९ विरुद्ध बनेको एउटा थप खोपलाई आपतकालीन प्रयोगको अनुमति दियो। त्यो थियो चिनियाँ सरकारी स्वामित्वको कम्पनी सिनोफार्मले विकास गरेको खोप।

केही विज्ञहरुले सामाजिक सञ्जालमा नेपालमा प्रयोग भएको चिनियाँ खोप डब्लुएचओ मान्यताप्राप्त नभएको दावी गर्दै लेखेका छन्। के यो सही हो? हामीले तथ्य जाँच गरेका छौँ।

त्रिभुवन विश्वविद्यालयका माइक्रोबायोलोजीका प्रोफेसर द्विजराज भट्टले ट्विटरमा बीबीसी नेपालीमा प्रकाशित समाचारको लिङ्कसहित लेखे- ‘नेपालमा प्रयोग भइरहेको चिनियाँ खोप सिनोफार्म डब्लुआईबीपी हो। यसले डब्लुएचओ मान्यता पाएको होइन। सिनोफार्मको अर्को खोप बीबीआईपीले मान्यता पाएको हो। दुवै खोप भेरोसेल बेस्ड इनएक्टिभेटेड भ्याक्सिन हो।’


हेर्नुस् अर्काइभ लिङ्क

त्यसैगरी भाइरोलोजिस्ट डा. लुना भट्ट शर्माले पनि ट्विटरमा लेखिन्- ‘झुक्याउने काम नहोस्। सीनोफार्मको दुई बीबीआईपी (बेइजिङ बेस्ड) र डब्लुआइबीपी (वुहान बेस्ड) इन्एक्टिभेटेड, भेरोसेल कल्चर एन्ड इनएक्टिभेटेड भ्याक्सिनहरु छन्। बीबीआईपीले डब्लुएचओ मान्यता प्राप्त गर्‍यो तर डब्लुआइबीपी ट्रायल फेजमा छ। मान्यता त परैको कुरा भयो। त्यसै सित्तैमा दिएको होइन।’

अर्काइभ लिङ्क

चीनले ८ लाख डोज चीनमा बनेको खोप निःशुल्क दिएको थियो। त्यसैलाई इङ्गित गर्दै उनले ‘त्यसै सित्तैमा दिएको होइन’ लेखेको बुझिन्छ।

उनले डा. समीरमणि दीक्षितले अप्रिल ८ मा लेखेको अर्को ट्विटलाई पनि कोट गरेकी छिन् जसमा दीक्षितले नेपालमा सिनोभ्याक र सिनोफार्म बीबीआईबीपी खोप नभएर सिनोफार्मले बनाएको अर्को डब्लुआईबीपी खोप पाएको भन्दै औषधी व्यवस्था विभाग र स्वास्थ्य मन्त्रालयको सूचना अनुसार भनेर दावी गरेका छन्।

प्रोफेसर भट्टकै ट्विटलाई कोट गर्दै @nepalcovidinfox ट्विटरले बीबीसी नेपालीको समाचारलाई मिसइन्फरमेसन अलर्ट लेख्यो-

के हो तथ्य ?
खोपको आपतकालीन अनुमति दिने डब्लुएचओले अनुमति पाइसकेका र अनुमति पाउने प्रक्रियामा रहेका खोपहरुको विस्तृत विवरण आफ्नो वेबसाइटमा राख्ने गरेको छ। ४ मे, २०२१ मा अपडेट गरिएको विवरण अनुसार कूल १९ वटा खोप आपतकालीन अनुमति/प्रिक्वालिफिकेसनमा सूचीकृत छन्। त्यसमा चीनमा बनेका ६ वटा खोप छन्- सिनोफार्म/बीआईबीपी, सिनोभ्याक, क्यानसिनोबायो, झिफेइ लङकम चाइना, आईएमबीसीएएमएस चाइना र सिनोफार्म/डब्लुआईबीपी।

डब्लुएचओले ७ मे, २०२१ मा जारी गरेको विज्ञप्ति अनुसार सिनोफार्मको बेइजिङ बायोइन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टसले उत्पादन गरेको खोपलाई आपतकालीन प्रयोगको अनुमति दिइएको हो।

त्यसो भए नेपालमा आएको खोप कुन हो त ?

औषधी र खोपको अनुमति दिने सरकारी निकाय औषधी व्यवस्था विभागले १७ फेब्रुअरी २०२१ मा चिनियाँ खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको थियो।  त्यतिबेलाको सूचना वेबसाइटमा राखिँदा शीर्षकमा नै EUA of covid 19 vaccine (Vero cell), inactivated manufactured by BIBP(under sinopharm लेखेको देखिन्छ।

विभागको सूचनामा पनि खोप उत्पादकको नाम बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टस (बीआईबीपी) लेखिएको छ।

त्यसैगरी स्वास्थ्य मन्त्रालयले चिनियाँ खोपको बारेमा मिडियालाई पठाएको ब्रिफिङमा पनि लेखिएको छ-

पूरा ब्रिफिङ डकुमेन्टको लिङ्क

तथ्य जाँच

दावी : नेपालमा प्रयोग भएको चिनियाँ भ्याक्सिनले डब्लुएचओको अनुमति पाएको हैन।

तथ्य : मिथ्या सूचना। नेपालमा चीनले अनुदान दिएको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टस (बीआईबीपी) को खोप प्रयोग भएको औषधी व्यवस्था विभाग र स्वास्थ्य मन्त्रालयको डकुमेन्टबाट देखिन्छ। डब्लुएचओको विज्ञप्तिमा सोही कम्पनीको खोपले ७ मेमा अनुमति पाएको उल्लेख छ। नेपालले अनुमति दिएको मिति १६ फेब्रुअरी २०२१ मा भने यसले डब्लुएचओको अनुमति पाइसकेको थिएन।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add