तथ्यजाँच भ्रामक सूचना

के प्रधानमन्त्रीले दावी गरे जस्तै कोरोनाविरुद्ध खोप लगाउनेमा नेपाल दक्षिण एशियामै भारतपछि पहिलो मुलुक हो?


के प्रधानमन्त्रीले दावी गरे जस्तै कोरोनाविरुद्ध खोप लगाउनेमा नेपाल दक्षिण एशियामै भारतपछि पहिलो मुलुक हो?

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ वैशाख २० गते सोमबार टेलिभिजनमार्फत् देशबासीका नाममा सम्बोधन गर्दै कोभिड–१९ महामारीको नियन्त्रणका विषयमा सरकारले गरिरहेका र गर्ने विभिन्न कदमहरु बारे स्पष्ट गरे।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले भने, ‘अप्ठ्याराकै बीचमा हामीले कोभिड–१९ विरुद्ध सबैलाई निःशुल्क खोप उपलब्ध गराउने प्रक्रिया शुरु गरिसकेका छौं । आफ्ना देशवासीलाई कोरोना बिरुद्ध खोप लगाउनेमा हामी दक्षिण एशियामै भारतपछि पहिलो मुलुक हौं । हाल सम्ममा करिब २१ लाखलाई पहिलो डोज खोप लगाइ सकिएकोे छ । दोस्रो डोज खोप लगाउन आरम्भ गरिएको छ, अहिलेसम्म झण्डै ३ लाख ७० हजारले दोस्रो डोज खोप लगाइसकेका छन् । यस संख्यामा स्वास्थ्यकर्मी लगायत अन्य अग्रपंक्तिमा खटिने व्यक्तिहरू रहेका छन् ।’

के प्रधानमन्त्रीले भने जस्तो ‘खोप लगाउनेमा हामी दक्षिण एशियामै भारतपछि पहिलो मुलुक’ हो त ? यसबारे हामीले तथ्य जाँच गरेका छौँ।

प्रधानमन्त्रीको भनाई ‘खोपमा हामी दक्षिण एसियामा दोस्रो हौँ : प्रधानमन्त्री ओली’ शीर्षकमा बाह्रखरी अनलाइनले पनि प्रकाशन गरेको छ।

‘कोरोनाविरुद्ध खोप लगाउनेमा हामी दक्षिण एसियामै भारतपछि पहिलो’ भन्नुको अर्थ त्यति स्पष्ट हुन्न। यसले कूल खोप लगाउनेको संख्यामा हो कि जनसंख्याको अनुपातमा हो कि, खोप अभियान सुरु गर्ने समयमा भारतपछि पहिलो भन्नेमा अन्यौल हुन्छ।

‘दक्षिण एसियामै भारतपछि पहिलो’ दावी पछि प्रधानमन्त्रीले खोप लगाउनेको तथ्याङ्क दिएका छन्- हालसम्म करिब २१ लाख। त्यसले कूल संख्यामै हामी दोस्रो हो कि भन्ने भान हुन्छ।

तर कूल संख्यामा नेपाल दोस्रोमा पर्दैन।

 

आवर वर्ल्ड इन डेटाले राखेको तथ्याङ्क अनुसार अप्रिल २९ सम्मको तथ्याङ्कमा बंगलादेशमा ८६ लाखभन्दा बढीले खोप लगाइसके। अप्रिल २८ तारिखसम्मको नेपालको तथ्याङ्क  २० लाखभन्दा बढीले खोप लगाएका हुन्।

स्वास्थ्य मन्त्रालयले प्रधानमन्त्रीले सम्बोधन गरेकै दिन सार्वजनिक गरेको तथ्याङ्कमा २० लाख ९१ हजार ५ सय ११ जनाले खोप लगाएको उल्लेख छ। दक्षिण एसियामा तेस्रोमा पाकिस्तानको हाराहारीमा संख्या भए पनि दोस्रोमा बंगलादेश देखिन्छ। नेपालको भन्दा बंगलादेशको संख्या करिब ६५ लाखले बढी छ।

जनसंख्याको अनुपातमा भुटान पहिलो

कूल जनसंख्याको अनुपातमा खोप लगाएका संख्यालाई हेर्ने हो भने दक्षिण एसियामा मात्र होइन, विश्वमै भुटान पहिलोमध्येमा पर्न आउँछ।  भएको छ। खोप लगाउन योग्य वयस्क उमेर समूहका ९३ प्रतिशतले भुटानमा खोप लगाइसकेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

एपीको समाचार अनुसार ८ लाख जनसंख्या भएको भुटानमा ६२ प्रतिशतले खोप लगाइसकेका छन्।


आवर वर्ल्ड इन डेटाले राखेको तथ्याङ्क अनुसार पनि दक्षिण एसियाका देशमा भुटान पहिलो, माल्दिभ्स दोस्रो, भारत तेस्रो र नेपाल चौथोमा देखिन्छ।

त्यसो भए के खोप अभियान सुरु गरेको आधारमा नेपाल प्रधानमन्त्रीले दावी गरे जस्तै भारतपछिको पहिलो हो त?

दक्षिण एसियाका विभिन्न देशहरुमा खोप अभियान सुरु भएको मिति यस्तो छ-

भुटान : मार्च २७, २०२१

अफगानिस्तान : फेब्रुअरी २३, २०२१

पाकिस्तान : फेब्रुअरी २, २०२१

माल्दिभ्स : फेब्रुअरी १, २०२१

श्रीलंका : २९ जनवरी, २०२१

नेपाल : २७ जनवरी, २०२१

बंगलादेश : २७ जनवरी, २०२१

भारत : जनवरी १६, २०२१

भारतमा जनवरी १६, २०२१ देखि कोरोनाविरुद्ध खोप अभियान सुरु भएको हो। भारतले आफ्नो देशमा सुरु भएपछि आफ्नो देशमा उत्पादन भएको सेरम इन्स्टिच्युटमा तयार भएको अक्सफोर्ड एस्ट्राजेनेका खोप छिमेकी देशहरुलाई सहयोगस्वरुप निःशुल्क पठाएको थियो। पाकिस्तान बाहेक दक्षिण एसियाका देशहरुले सोही खोपबाट अभियान सुरु गरेका हुन्। दक्षिण एसियाका देशहरुमध्ये भारतपछि नेपाल र बंगलादेशले उही दिन अर्थात् २७ जनवरीमा खोप अभियान सुरु गरेका हुन्। श्रीलंकाले भने त्यसको दुई दिनपछि २९ जनवरीमा बल्ल खोप अभियान थालेको हो। नेपाललाई १० लाख डोज खोप भारतले सहयोग स्वरुप निःशुल्क दिएको थियो। पाकिस्तानले भने चीनले दिएको खोपबाट फेब्रुअरी २ मा खोप अभियान सुरु गरेको हो।

यसरी हेर्दा भारतपछि खोप अभियान सुरु गर्नेमा नेपाल र बंगलादेश पहिलो हुन्।

तथ्यजाँच

दावी : प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार ‘आफ्ना देशवासीलाई कोरोना बिरुद्ध खोप लगाउनेमा हामी (नेपाल) दक्षिण एशियामै भारतपछि पहिलो मुलुक हौं।’

तथ्य : भ्रामक। प्रधानमन्त्रीले आफ्नो दावीसँगै खोप लगाएकाहरुको तथ्याङ्क दिएका छन्। यो तथ्याङ्कसहितको दावीले दक्षिण एसियामा सबैभन्दा बढी खोप भारतपछि नेपालले लगाएको जस्तो सुनिन्छ। तर कूल खोप लगाउनेमा भारतपछि बंगलादेश अघि छ। जनसंख्याको अनुपातमा धेरै खोप लगाउनेमा दक्षिण एसियामै पहिलो भुटान छ भने दोस्रोमा भारत छ। खोप अभियान सुरु भएको समयको हिसाब हेर्ने हो भने पनि भारतपछि नेपाल र बंगलादेशले एकै दिन जनवरी २७ मा खोप अभियान सुरु गरेका हुन्। यो हिसाबले भारतपछि नेपाल पहिलो नभएर नेपाल र बंगलादेश दुवै पहिलो हुन्। तसर्थ प्रधानमन्त्रीको दावी भ्रामक छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add